भन्सार घोषणा बिना नगद विदेशी मुद्रा कति भित्र्याउन पाइन्छ ?
सारांश
- नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी रकम भित्र्याउँदा वा बाहिर लैजाँदा घोषणा गर्नुपर्ने बताएको छ।
- नेपाली वा विदेशी नागरिकले नगद अमेरिकी डलर पाँच हजारसम्म विना घोषणा ल्याउन वा लैजान सक्ने व्यवस्था रहेको छ।
- भारतबाट भारु नोट ल्याउँदा कडाइ गरिएका कारण पर्यटकहरूले खर्च गर्न नपाएको र होटलमा चहलपहल घटेको गुनासो सांसदहरूको थियो।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भन्सार घोषणा बिना ल्याउन सकिने र सोभन्दा बढी रकम भित्र्याउँदा वा बाहिर लैजाँदा अनिवार्य रूपमा घोषणा गर्नुपर्ने बताएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नोटिस जारी गर्दै नेपाली वा विदेशी नागरिकले नगद अमेरिकी डलर पाँच हजारसम्म वा सो बराबर अन्य विदेशी मुद्रा) सहज रूपमा नेपालमा ल्याउन वा लैजान सक्ने व्यवस्थालाई स्पष्ट पारेको हो ।
यसमा भारतीय रुपैयाँ समेत समावेश हुने उल्लेख गरिएको छ । अर्थात्, अमेरिकी डलर पाँच हजार बराबरको भारतीय रुपैयाँ भन्सार घोषणा नगरी ल्याउन सकिने व्यवस्था छ । तर यसभन्दा बढी रकम ल्याउँदा वा लैजाँदा भने भन्सार कार्यालयमा खुलाउनैपर्ने र प्रमाणित गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककाअनुसार यो व्यवस्था विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ५ र १२ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २९(क) को आधारमा कायम गरिएको हो ।
भारतीय रुपैयाँको प्रयोगसम्बन्धी प्रतिबन्धहरूबारे समेत राष्ट्र बैंकले सचेत गराएको छ । राजपत्रमा उल्लेख भएअनुसार सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ पाँचसय र एकहजारका नोट नेपालमा कारोबारका लागि प्रयोग गर्न पाइँदैन । त्यस्तै, भारतीय रुपैयाँ दुई सय, पाँच सय र २ हजार दरका नोट समेत नेपाल भित्राउन, साथमा राख्न वा कारोबार गर्न निषेध गरिएको व्यवस्था रहेको छ ।
राष्ट्र बैंकले यसबारेमा सर्वसाधारणलाई सजग रहन आग्रह गरेको छ । एक नोटिस जारी गर्दै राष्ट्र बैंकले भनेको छ, “नेपालभित्र भारतीय रुपैयाँ २००, ५०० र २ हजारका नोट साथमा राख्ने, ओसारपसार गर्ने वा कारोबार गर्ने कार्य कानुन विपरीत हुनेछ ।” साथै, नेपाली नागरिकले भारत बाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ ल्याउन समेत प्रतिबन्ध कायम रहेको बैंकले स्पष्ट पारेको छ ।
प्रतिनिधि सभाको अर्थ समिति बैठकमा भारतीय रकम प्रतिबन्धबारे केही समय अघि आवाज समेत उठेको थियो । असारको अन्त्य तिर बसेको गभर्नर सम्मिलित बैठकमै खास गरी भारतबाट नेपाल आउँदा भारु नोट कम ल्याउन दिइएको कारण नेपालमा आउने भारतीय पर्यटकहरूले खर्च गर्न नपाएको भन्दै समिति बैठकमा सांसदहरूले प्रश्न उठाउनुभएको थियो ।
अर्थ समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल आउने भारतीयलाई भारु नोट ल्याउन कडाइ गरिएकै कारण धेरै होटलहरूमा चहलपहल घटेको बताउनुभएको थियो । अर्का एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले समेत नेपालको नीतिका कारण भारुमा ल्याउन नपाएको र पर्यटन क्षेत्र प्रभावित भएकोबारे गम्भीर हुनुपर्ने बताउनुभएको थियो ।
शाही र थापाको प्रश्नको जवाफ दिन अर्थ समिति सभापति सन्तोष चालिसेले गभर्नर विश्वनाथ पौडेललाई निर्देशन दिए पनि त्यति बेला उहाँले जवाफ दिन इन्कार गर्नुभएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण