बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तरवार्ता

‘विद्या भण्डारीको पार्टी सदस्यता दुई मिनेटमा निर्णय हुने विषय हो’

बुधबार, ११ भदौ २०८२, १४ : ०८
बुधबार, ११ भदौ २०८२

सारांश

  • एमालेको विधान महाधिवेशनको तयारीबारे छलफल भइरहेको छ, जसमा प्रतिवेदन र भौतिक तयारी समावेश छन्।
  • पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक यात्रालाई लिएर एमालेभित्र बहस चलिरहेको छ, र उनलाई रोक्ने प्रयास भइरहेको छ।
  • एमाले नेता राजेन्द्र गौतमसँगको कुराकानीमा विधान महाधिवेशन, विद्या भण्डारीको भूमिका र पार्टीको आगामी योजनाबारे जानकारी दिइएको छ।

काठमाडौँ । दोस्रो विधान महाधिवेशनको मिति नजिकिँदै गर्दा नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक यात्रालाई लिएर चर्को बहस भइरहेको छ । यही बहसकाबिच एमालेले भदौ १३ गते बोलाएको केन्द्रीय कमिटी बैठक नै स्थगित गरेपछि फरक मत रोक्न खोजिएको त होइन ? भन्ने प्रश्न समेत उठेका छन् । अर्कोतर्फ विद्या भण्डारीले आफू नरोकिने बताउँदै आएकी छन् । यस्तो अवस्थामा अध्यक्ष केपी ओली भर्सेस विद्या भण्डारीको लडाइँको अवतरण कहाँ गएर टुङ्गिन्छ ? के एमालेले विद्या भण्डारीलाई रोक्न सक्छ ? अध्यक्ष महासचिव र उपाध्यक्षका राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्तावहरू परिवर्तन हुन सक्छन् ? यिनै प्रश्नको जवाफका लागि हामीले एमाले नेता तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलाई सोधेका छौँ । प्रस्तुत छ, गौतमसँगको कुराकानी :

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी के कसरी भइरहेको छ ?

हाम्रो विधान महाधिवेशनका दुई वटा पाटा छन् । पहिलो महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरूको पाटो भयो । अर्को भौतिक तयारीको पाटो भयो ।

सामग्री वा दस्ताबेज तयारीको पाटोमा अध्यक्षद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन तयार भइसकेको छ । त्यसको अन्तिम ‘फिनिसिङ टच’ अध्यक्षले गरिरहनु भएको छ । त्यस्तै पार्टीका महासचिव शङ्कर पोखरेलले पनि आफ्नो प्रतिवेदन तयार गरिसक्नुभएको छ । विधान संशोधन सम्बन्धी प्रस्तावको तयारी पार्टी उपाध्यक्ष विष्णु पौडेलले नेतृत्व गरिरहनु भएको छ । त्यसका लागि देशका सबै जिल्ला कमिटीहरू, सबै प्रदेश कमिटीहरू, सबै विभाग र सबै जनसङ्गठनहरूले दिएका सुझावहरू करिब आइसकेका छन् ।

आएका ती सुझावहरूलाई एकीकृत गर्ने गरेर सुझावमा आएका महत्त्वपूर्ण चिजलाई विधानमा समावेश गर्दै प्रस्ताव बनाएर लिएर जानुपर्ने काम बाँकी छ । त्यो काममा सिङ्गो पार्टी लागेको छ । केन्द्रीय सङ्गठन विभाग, केन्द्रीय कार्यालय र महासचिवको सचिवालयले यी कामहरू तीव्र गतिमा गरिरहेको छ ।

दस्ताबेजकै सवालमा हाम्रा चार वटा केन्द्रीय निकाय छन् । ती चार वटा केन्द्रीय निकायहरू केन्द्रीय सल्लाहकारको आफ्नो प्रतिवेदन, केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन, केन्द्रीय लेखा परीक्षण आयोगको प्रतिवेदन र केन्द्रीय निर्वाचनको प्रतिवेदन सहित चार वटा निकायले आआफ्ना प्रतिवेदन विधान महाधिवेशनमा प्रस्तुत गर्छन् । हाम्रा प्रतिनिधिहरू जो यसअघि नै तय भैसकेका छन् । यो पटक प्रतिनिधिहरू कोही थपिँदैनन् । मृत्यु भएका, छाडेर गएका र कारबाही भएकाहरूको सङ्ख्यामात्र घटने हो । पछिल्लो अद्यावधिकमा जम्मा प्रतिनिधि र सहभागी गरेर २ हजार ३७९ जनाको नाम टुङ्गो लागेको छ । यो प्रतिनिधिको सङ्ख्यामा केही छुटपुट भयो भने दुईचार जना तलमाथि हुने कुरा बेग्लै हो ।

यसबाहेक स्वयंसेवकको काम जनसङ्गठन प्रमुख भानुभक्त ढकालले हेर्नुभएको छ । मञ्च व्यवस्थापन र साजसज्जा विनोद श्रेष्ठ तथा प्रचारको काम राजेन्द्र गौतमको नेतृत्वमा हुन्छ, भइरहेको छ ।

सञ्चारतर्फ सूचना छिटो र सुव्यवस्थित दिन महाधिवेशन स्थलमा सूचना डेस्क स्थापना गरेर सहज वातावरण तयार पार्ने काम हुन्छ । त्यसरी आठ वटा उपसमितिहरूले आआफ्नो काम गरिरहेकाले तयारीका हिसाबमा पनि हामी अन्तिम विन्दुमा पुगेका छौँ ।

अब खाली कति कतिपय प्रस्तावहरूलाई फिनिसिङ र टचिङमात्र गर्न बाँकी छ । भदौ १३ गतेको केन्द्रीय कमिटी बैठकलाई हामीले स्थगित गर्‍यौँ किनभने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष चाइना भ्रमणमा जानुपर्ने भएकाले अलि समयको अभाव हुने देखियो । त्यसकारण भदौ १९ गते बैठक राख्ने भन्ने कि भनेर पनि छलफल भइरहेको छ ।

  • भदौ १३ गतेको केन्द्रीय कमिटी बैठक अनिश्चित काललाई स्थगित गरेर समय अभावको बहानामा नेतृत्वले केन्द्रीय कमिटी बैठक नै छल्न खोज्यो भन्ने गुनासो पनि छ नि ?

बहाना भन्ने एउटा आरोप मात्र हो । चाइनाको पीएमको भ्रमण आकस्मिकतामा आएर हो । यसलाई अर्को दिन व्यवस्थापन गर्न सकिन्छ ।

  • समयकै हिसाबले हेर्दा १८ गते राति मात्रै अध्यक्ष स्वदेश आइपुग्नु हुन्छ । यो हिसाबले १९ गते केन्द्रीय कमिटी बैठक राखेर २० गते महाधिवेशन सुरु होला त ?

१९ गते केन्द्रीय कमिटी बस्छ । आरामले बस्न सक्छ । डकुमेन्ट तयार हुन्छन् । तयार भएपछि त्यो डकुमेन्ट सदस्यहरूलाई दिने हो । यदि केन्द्रीय कमिटीको बैठक बसेन भने पनि स्थायी कमिटी र केन्द्रीय सचिवालयको बैठक निश्चित हुन्छ भन्ने कुरा भन्न सकिन्छ ।

  • प्रतिवेदनहरूलाई अन्तिम रूप दिने काम मात्र बाँकी छ भन्नुभयो, के असन्तुष्ट पक्षका माग पनि सम्बोधन गर्ने गरी ती प्रतिवेदनहरू आउँदै छन् ?

प्रतिवेदनहरू केन्द्रीय कमिटीको राजनैतिक निर्णयको सारको आधारमा तयार हुन्छन् । दुई वटा महाधिवेशन नभएको बेला त्यसको सर्वोच्च संस्था केन्द्रीय कमिटी हो । त्यसो भएकाले केन्द्रीय कमिटीको निर्णयको स्पिडमा प्रतिवेदनहरू तयार हुन्छन् भइरहेका छन् ।

किनभने ती प्रतिवेदनहरू एउटा व्यक्तिले तयार गर्ने विषय मात्र होइन । राजनीतिक प्रतिवेदनको सन्दर्भमा पनि केन्द्रीय कमिटीले यो यो विषय नछुटोस् भन्ने राय दिएको छ । सङ्गठनात्मक क्षेत्रमा पनि त्यस्तै रायहरू आएका छन् । अहिले मुखरित भएका जम्मा तीन वटा विषय हुन् भन्ने मलाई लाग्छ । विधानको सन्दर्भमा हाम्रो मुख्य ध्यान तीन चार वटा कुरामा बढ्ता केन्द्रित छ ।

  • के के कुरामा केन्द्रित छ ?

त्यो भनेको विधानको प्रस्तावनामा हाम्रो ‘डेस्टिनेसन’ वा हामी कहाँ जान्छौ भन्ने हो । नेकपा एमालेको मुख्य र नारा मुद्दा के हो ? त्यसमा हामी कसरी जान्छौ त्यो विधानको प्रस्तावनामा बोक्नुपर्छ भनेर ‘समृद्ध नेपाल र सुखी नेपालीलाई’ राष्ट्रिय आकाङ्क्षा मानिरहेको वर्तमान सन्दर्भ छ । यो राष्ट्रिय आकाङ्क्षा मात्र होइन, एउटा सचेत र सङ्गठित प्रयासको हिसाबमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने आजको हाम्रो डेस्टिनेसन हो गन्तव्य हो । र, हामीलाई जबजको प्रयासमा नेपाली विशेषता सहितको समाजवाद निर्माण गर्ने दिशा तर्फ हाम्रो सम्पूर्ण कामको फोकस हुन्छ भन्ने विषयलाई हामीले प्रस्ट र प्रकट रूपमा भनेर आएका छौँ ।

दोस्रो,विधानमा हामीले दुईखाले पार्टी सदस्यताको व्यवस्था गरेका । तेस्रो बहुचर्चित भनिएको ७० वर्षको उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने र राष्ट्रपति उपराष्ट्रपति जस्ता व्यक्तिहरू पार्टी राजनीतिमा क्रियाशील हुने कि नहुने भन्ने हो । यस सन्दर्भमा हाम्रो भनाइ के छ भने यो ७० वर्षको उमेर हद पनि हाम्रो पाँचौँ पूर्ण केन्द्रीय कमिटीको बैठकले निलम्बन गरेको र नयाँ साथीहरूलाई प्रवेश गराएको हो । यो विषय अव महाधिवेशनसम्म जान्छ । ‘टु टर्म’ कार्यकालको व्यवस्था दशौँ राष्ट्रिय महाधिवेशनबाट हटाइसकेकाले त्यो विषय महाधिवेशनमा जाँदैन ।

राष्ट्रपति राजनीतिमा आउनुहुन्छ कि हुँदैन भनेर केन्द्रीय कमिटीले राष्ट्रपति र उपराष्ट्रपति जस्ता गणतन्त्रका गौरवहरू राजनीतिक दलको सदस्यता लिएर राजनीतिक दलमा फेरी पौँठेजोरी खेल्न आउनुभन्दा साझा व्यक्तित्व र अभिभावककै भूमिकामा बस्नु राम्रो हुन्छ भनेका हो । बरु त्यस्ता व्यक्तित्वहरू राजनीति बाहेकका सामाजिक, सांस्कृतिक जलवायु परिवर्तनलगायतका इस्युहरुको नेतृत्व गरेर जान सक्छन् भन्ने ठहर हो ।

  • राष्ट्रपति, उपराष्ट्रपतिको सदस्यता र राजनीतिक आबद्धताबारे गत केन्द्रीय कमिटीमा एजेन्डा नै नबनाई निर्णय भयो भन्ने गलत कुरा हो ?

सदस्यता भन्ने भन्दा पनि राष्ट्रपतिको सवालमा पहिलो कुरा राजनीतिमा आउनुहुन्छ कि हुँदैन भन्ने विषय नै मेजर हो । त्यही विषय प्रबल हो । आउनु हुँदैन भन्ने नै हो । पार्टी सदस्यता भनेको अत्यन्त प्राविधिक कुरा हो । यदि आउनुहुन्छ भनेर भन्यो भने दुई मिनेटमा निर्णय हुने विषय हो । जब दलको सदस्य लिएर आउनु हुँदैन भन्ने निष्कर्ष भएपछि सदस्यताको सवाल नै उठ्दैन । अव सदस्यता भन्ने विषय महाधिवेशनको एजेन्डा नै हुँदैन । त्यो क्लियर छ ।

  • भनेपछि पूर्वराष्ट्रपति राजनीतिमा आउनु हुँदैन भन्ने तपाईँहरूको निर्णय परिवर्तन हुने सम्भावना छैन ?

म त्यो सम्भावना र गुञ्जायस देख्दिनँ । अब महाधिवेशनका प्रतिनिधि हलबाटै जर्‍याकजुरुक उठेर ल्याउनुपर्छ भनेको खण्डमा एउटा प्वाइन्ट त्यहाँ हुने नै भयो । किनभने पार्टीको दोस्रो सर्वोच्च फोरम विधान महाधिवेशन हो । त्यसकारण अहिलेसम्म प्रदेशका, जिल्लाका बैठकको स्प्रिट, केन्द्रीय कमिटी बैठकको स्प्रिट हेर्दा त्यो अवस्था देखिँदैन । ग्राउन्डलाई हेर्दा महाधिवेशनमा जिल्लाबाट आउने २३ सय ७९ जना प्रतिनिधिले भाग लिँदै छन् । जहाँ बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ । बहुमत कुन लेभलको भन्ने हो । टुथर्ड मेजोरिटी हो कि  त्यो भन्दा माथिको हो ? त्यो अलग कुरा हो ।

  • विद्या भण्डारीलाई राजनीतिमा आउन बन्देज लगाउने एमालेको निर्णय पछि उहाँले पनि केही गृहकार्य गरिरहेको सुनिन्छ । उनी पक्षधरले फरक प्रतिवेदन पनि तयार गर्दै छन् भन्ने व्यापक सुनिन्छ त्यसको सामना कसरी गर्ने योजना छ ?

फरक मत त वैचारिक कुरा हो । कम्युनिस्ट पार्टीको भिन्न विचार, भिन्न दृष्टिकोण, विभिन्न कार्यक्रम, भिन्न तरिकाले आफ्नो मत दर्ज गर्छु भनिन्छ भने त्यो ठाउँ खुलै रहन्छ ।

तर उहाँहरूबाट के कुरा दर्ज हुन्छ पहिला त्यो दर्ज हुनुपर्‍यो । के कुरामा छलफल हुन खोजेको हो त्यो छलफल पनि हुनुपर्‍यो । चिज नै नआई र कन्टेन्ट नै नआई त्यसको बारेमा कसरी भविष्यवाणी गर्न सकिन्छ र ?

  • गत केन्द्रीय कमिटीमै पनि फरक मत त राखेका थिए नि केही नेताहरूले तर त्यसको सम्बोधन नगरिएको त हो नि ?

केन्द्रीय कमिटीमा औपचारिक रूपमा मेरो फरक मत छ, म दर्ज गर्छु र म ‘नोट अफ डिसेन्ट’ लेख्छु भन्ने व्यक्ति पार्टी स्थायी कमिटी सदस्य कर्ण थापा एक जना मात्रै हो । अरू तपाईँले नाम लिएका उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले अहिले नगरौँ मात्र भन्नुभएको हो । बरु सचिवालय वा स्थायी कमिटीजस्ता सानो फोरममा बसेर छलफल गरेर निर्णय गरौँ भनेर प्रयास गर्नुभएको हो । उहाँहरूले लिखित रूपमा कुनै पनि फरक मत दर्ज गर्नु भएको छैन । आफ्नो ओपिनियन राख्न विभिन्न सदस्यले विभिन्न एङ्गल र कोणबाट राख्छ, राख्न पाउँछ ।

  • पछि पार्टीमा निवेदन दर्ता गरेको भनिएको छ नि, त्यसको कुनै अर्थ छैन ?

पछि दर्ता गरेको निवेदनको केही अर्थ छैन । बैठक चलिरहेको अवस्थामा दर्ज भयो भने पार्टीलाई सूचित हुने कुरा हो ।

पछि सूचना दिएको भन्ने सुनिएको हो तर हामीले हेरेको छैन । यद्यपि उहाँहरूले फरक मत राख्नु हुने रहेछ भन्ने सूचना भएको छ ।  त्यो कुन मोडालिटीमा ? कुन विषयमा ? कुन राजनीतिक ग्राभिटीमा, कुन सिद्धान्तमा र कुन नीति कार्यक्रममा दर्ज गर्नुहुन्छ ? पहिले दर्ज हुन दिनुपर्‍यो दर्ज भएपछि त्यसको बारेमा टिप्पणी गरौला ।

  • पूर्वराष्ट्रपति विद्या देवी भण्डारीलाई एमालेले ढोका बन्द गरेपछि उहाँले नयाँ विकल्प खोज्दैछु भनेर भनेको सुनिन्छ । यसले एमालेलाई हुने घाटा नाफाको हिसाबकिताब भएको छैन ?

हाम्रो निर्णय कुनै नियतवश एमालेको विद्या भण्डारी रोक्ने भन्ने नै होइन । मिडियाका साथीहरूले पनि यो कुरा बुझिदिनु पर्छ । व्यक्ति विशेषलाई टार्गेट गरेर रोक्नका लागि केन्द्रीय कमिटीले निर्णय गरेको होइन । राष्ट्रपति र उपराष्ट्रपतिजस्तो गरिमामय गणतन्त्रका गौरवहरू संविधानका अभिभावकहरू, संविधानका संरक्षक र पालनकर्ताहरू, देशका साझा व्यक्तित्वहरू,देशका अभिभावकहरू एउटा दल विशेषको झन्डा बोकेर हिँड्दा हिजोको उसले पाएको जो सर्व स्वीकार्यता थियो त्यसमा गम्भीर समस्या उत्पन्न गर्छ । हामीले गणतन्त्रको प्रतीकको रूपमा जनताको छोराछोरी राष्ट्रपति हुने व्यवस्था भनेर देखाउने कुरामा असर गर्छ । यो कुनै विद्या भण्डारी भर्सेस ओली वा ओली भर्सेस विद्या भण्डारी हुँदै होइन । एमाले भर्सेस विद्या भण्डारी पनि होइन । एमालेले त विद्या भण्डारीलाई उच्च आदर गरेको छ । उहाँजस्तो टावर पर्सनालिटी, गौरवको प्रतीकलाई त्यहीँ गौरवको प्रतीक भएर, सम्मानित भएर बस्नु भनेको हो । किनभने हिजो राष्ट्रपति हुँदा गरेका कामहरूको अपनत्व पनि पूर्वराष्ट्रपति हुँदा समेत जोडिन्छन् । त्यसो भएकाले त्यसलाई एउटा व्यवस्था गर्न र एउटा सिस्टम बसाउन र गरिमाको निम्ति अभ्यासका रूपमा गरेको पहलका रूपमा हेर्नुपर्छ ।

  • तपाईँहरूको यो प्रयास भएपनि उहाँ (विद्या भण्डारी)ले म रोकिन्न है भन्ने सन्देश त दिइरहनुभएको छ नि लगातार ?

म रोकिन्न भन्ने उहाँको अधिकारको कुरा हो त्यो ।

  • यदि एमालेले ठाउँ दिएन भने अरू शक्तिको नेतृत्व गर्न पनि तयार छु भन्नुभएको भनेर आइरहेको छ के त्यो अवस्था पनि रोक्न सक्नुहुन्छ ?

त्यो त कसरी रोक्न सकिन्छ, उहाँको वैयक्तिक कुरा हो । उहाँलाई हामीले ‘उच्च आदर’ गर्ने हो । विवादमा नपर्नुस्, आफ्नो गरिमालाई विवादमा नपरोस् भन्ने मात्र हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप