बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘पोइल जान पाम्’ भन्दै कोमल वलीले नचाइन् बेलायतवासीलाई

बुधबार, ११ भदौ २०८२, १५ : ४८
बुधबार, ११ भदौ २०८२

सारांश

  • बेलायतमा नेपाली समुदायले यस वर्ष पनि हरितालिका तिज उत्साहका साथ मनाए।
  • कार्यक्रमहरूमा गायिका कोमल वलीको प्रस्तुति रह्यो, जसले दर्शकलाई मनोरञ्जन प्रदान गर्यो र सहयोग रकम संकलन भयो।
  • विभिन्न संघसंस्था र मन्दिरहरूमा आयोजित कार्यक्रमहरूले विदेशमा नेपाली संस्कृति र परम्परा जोगाउन मद्दत गर्यो।

लन्डन । बेलायत बस्ने नेपाली समुदायले यस वर्ष पनि हरितालिका तिज विगत जस्तै उत्साह र उल्लासका साथ मनाए ।

विभिन्न संघसंस्थाद्वारा आयोजित थुप्रै तिज कार्यक्रममा नेपालबाट आएकी  गायिका कोमल वलीले ‘पोइल जान पाम्’ भन्दै बेलायतवासीलाई नचाउन सफल भइन् । बेलायतस्थित नेपाली दूतावासदेखि विभिन्न सङ्घसंस्थाका तिज कार्यक्रममा उनको जोडदार प्रस्तुति रह्यो । परम्परागत रातो साडी, हरियो चुरा, पोतेलगायत गरगहनामा सिँगारिएका नेपाली महिलाहरू तिजका गीतमा झुम्दा एकैछिन भएपनि नेपालमै भएको महसुस गरे ।

बेलायतका विभिन्न स्थानमा रहेका नेपाली सङ्घसंस्था र महिला समूहहरूले तिज विशेष कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमहरूमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरूको साथमा सयौँ महिला तथा पुरुषले सहभागिता जनाएर तिजको महिमालाई थप जीवन्तता प्रदान गरेका छन् ।

UK TEEJ 2025 (4)

यस वर्ष एसियन महिला एसोसिएसन (आमा) ले लन्डनको अम्पायर हलमा आयोजना गरेको तिज कार्यक्रममा ५०० भन्दा बढी महिला सहभागी भए । सो कार्यक्रममा गायिका कोमल वलीको विशेष प्रस्तुति अनि डान्सरहरु आरुषी मगर, सङ्गीता गैरे लगायत कलाकारको मनमोहक नृत्यकलाले दर्शकहरूलाई थप मनोरञ्जन प्रदान गर्‍यो ।

राफल ड्र समेत गरिएको उक्त कार्यक्रममा सङ्कलित रकमबाट एक लाख रुपैयाँ कोमल वली फाउन्डेसनलाई र आरुषी मगरकी आमाको क्यान्सर उपचार सहयोगार्थ एक लाख रुपैयाँ उनलाई प्रदान गरिएको आयोजकले बताए ।

लन्डनस्थित नेपाली दूतावासमा पनि करिब तीन वर्षपछि तिज विशेष कार्यक्रम आयोजना गरियो । बेलायतस्थित नेपाली सङ्घसंस्थाका महिला प्रमुख, कलाकारहरू र अन्य सर्वसाधारण महिला सहभागी उक्त कार्यक्रममा लोकप्रिय गायिका कोमल वलीको गीतमा नाचगान गरेर  दिदीबहिनीहरूले तिज मनाए । सो अवसरमा नेपालबाटै आएका गायक देउडा सम्राट नन्दकृष्ण जोशी र लन्डनवासी गायिका सितु खरेलको प्रस्तुतिमा सबैजना झुमे।

कार्यक्रममा राजदूत पत्नी सरिता न्यौपाने घिमिरेले नेपाली कला, संस्कृतिबारे जोड दिँदै तिजलाई भड्किलो नबनाई मौलिकता जोगाउन पनि आग्रह गरिन् । महिलामाथि हुने अनेक खालका विभेद, हिंसा अन्त्य गरी महिला सशक्तीकरणमा जोड दिइन् । बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार  घिमिरेले पनि शुभकामना दिँदै दूतावासको आँगनमा नेपाली चेलीहरुलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

 क्षेत्री समाज बेलायतको आयोजनामा बेलायतको हाइवेकम्बस्थित डोल्फिन आई पब बार एन्ड रेस्टुरेन्टमा पनि तिज विशेष कार्यक्रम गरियो। तिजको शुभकामना आदानप्रदान गर्दै दिदीबहिनी तथा दाजुभाइले तिज गीतमा नाचगान गरेर रमाइलो गरे ।  

तमु समाज युके आमा समूहले लन्डनस्थित वेम्ब्ली बरहाम पार्कमा रहेको तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टरमा तिज-लेडिज नाइट विशेष कार्यक्रम गरी मनाएको छ ।

लन्डन वुल्लीच प्लमस्टिड समाजले पनि विशेष कार्यक्रम गरी तिज मनाएको छ । निशुल्क दरसहितको विशेष नाचगान कार्यक्रममा २ सय भन्दा बढी स्थानीय नेपाली महिला तथा पुरुषहरू सहभागी भए । कार्यक्रममा सहभागी दिदीबहिनीहरू घण्टौँसम्म तिज गीतमा नाचगान गरेर रमाए ।

लन्डन बेक्सली बरोमा बस्ने नेपाली महिलाहरूले फाल्कनवुड कम्युनिटी सेन्टरमा आयोजना गरेको तिज विशेष कार्यक्रममा २ सय बढी स्थानीय महिलाहरूको साथ तिज मनाएका छन्। कार्यक्रममा सहभागी प्रमुख अतिथि स्थानीय मेयर क्रिष्टिन क्याटरले पनि नेपाली दिदबिहिनीसँगै तिज गीतमा नृत्य गरिन्।

यसैगरी सन् १९६० मा बेलायतमा स्थापित युरोपकै पहिलो संस्था यती नेपाली एसोसिएसन यूकेले पनि तिज कार्यक्रम आयोजना गरी नारीहरूलाई सम्मान दियो।

वलीले ‘पोइल जान पाम’, सुनिदेऊ शिव’, ‘लास्टै चोटि हो’ जस्ता आधा दर्जन गीतमार्फत मनोरञ्जन दिलाइन् भने साथमा गायिका साहिमा श्रेष्ठ, अस्मिता पुरी, सन्दीप न्यौपानेको जोडदार प्रस्तुतिमा दर्शकहरु झुमे।

श्रीराम मन्दिर, साउथलमा विश्व हिन्दु महासंघ युके च्याप्टरले आयोजना गरेको विशेष पूजामा ठूलो सङ्ख्यामा महिलाहरू भेला भएका थिए । पूजापछि तिजका लोकप्रिय गीतमा सामूहिक नृत्य गरी वातावरण झनै उत्साहपूर्ण बनेको थियो ।

पशुपतिनाथ मन्दिर प्लमस्टीड लण्डनले एसियन कम्युनिटी हलमा गरेको तिज विशेष कार्यक्रममा व्रतालु महिलाहरूले पूजा अर्चना गर्दै हाल बेलायतमा रहेका गायक राजेश बर्देवाले तिज गीतमा नचाए । उनले समिक्षा अधिकारी र आफ्नो स्वरमा रहेको गीत ‘नाच छम्म छम्म’ र प्रीति आले र स्व्यम्  आफैँले गाएको ‘सुन मेरा फ्यान्स’ जस्ता सांगीतिक प्रस्तुति दिए ।

यसरी विभिन्न सङ्घसंस्था, मन्दिर र सामुदायिक केन्द्रहरूमा आयोजित कार्यक्रमहरूले नेपाली महिलाहरूलाई विदेशमै आफ्नो संस्कृति र परम्परा जोगाएर मनाउने अवसर प्रदान गरेका छन् ।

कोभिड-१९  महामारीका कारण तिज कार्यक्रमहरू सीमित हुँदै गए पनि केही वर्षयता तिज पर्वलाई निकै उत्साहपूर्वक  मनाउन थालिएको छ। धर्म संस्कृति परम्परा र मौलिकताको आधारमा निकै अगाडी रहेको बेलायतस्थित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले परदेशमा बस्दा पनि नेपाली संस्कृति र परम्परालाई जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले हरेक वर्ष तिज पर्वलाई निरन्तरता दिइरहेको बताउने गरेका छन् ।

 उनीहरूले बेलायतमा रहेका अन्य समुदायलाई समेत नजिकबाट नेपाली संस्कृतिको अवलोकन गर्ने अवसर प्रदान गर्ने उद्देश्य रहेको स्पष्ट पारे । सांस्कृतिक नृत्य, पूजाआर्चना र सामूहिक भेला हुँदै बेलायतमा मनाइएको यस वर्षको तिजले नेपाली महिलाहरूको एकता, मातृभूमिप्रतिको माया र सांस्कृतिक मोह अझ प्रस्ट रूपमा उजागर गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप