शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
कलाकार

‘भूमिका छोटो वा लामो होइन, दमदार हुनुपर्छ’

शुक्रबार, १३ भदौ २०८२

काठमाडौँ । कतिपय कलाकार फिल्ममा आफ्नो भूमिका लामो हुनपर्ने मान्यता राख्छन् । नायिका वर्षा सिवाकोटी यो मामलामा फरक सोच राख्छिन् । भूमिका लामो होस् या छोटो, त्यो दमदार हुनुपर्ने उनको तर्क छ ।

भदौ ६ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘माग्ने राजा’मा उनको भूमिका यसअघिका फिल्मको तुलनामा छोटो छ । नायिका वर्षा भने भूमिका छोटो भए पनि अर्थपूर्ण रहेको सुनाउँछिन् ।

‘मेरो पात्र फिल्ममा हुँदा र नहुँदा फरक नै नपर्ने खालको चाहिँ छैन’, उनले भनिन्, ‘म हुँदा मेरो पात्रले माग्ने राजा भन्ने पात्रको जीवनमा केही फरक पारेको छ, त्यो कथामा केही प्रभाव पारेको छ ।’ 

फिल्ममा उनले मुख्य मात्र माग्ने राजा (केदार घिमिरे)को सहयोगी र श्रीमती (माग्ने रानी)को भूमिका निर्वाह गरेकी छन् । आफूले गरेको अभिनयको राम्रो प्रतिक्रिया आएको वर्षाको भनाइ छ । 

barsha siwakoti (1)

‘दर्शकलाई राम्रो फिल्म दिने हाम्रो उद्देश्य हो । त्यही अनुसार मेहनत पनि गरेका थियौँ’, उनले थपिन्, ‘दर्शकले हलमा गएर फिल्म हेरेर हाम्रो प्रयास सफल बनाइदिनुभयो । त्यसप्रति हामी आभारी छौँ ।’

वर्षा विभिन्न हलमै पुगेर दर्शकसँग आफ्नो कामको प्रतिक्रिया लिइरहेकी छन् । उनले अहिलेसम्म थुप्रै हिरोसँग पर्दामा रोमान्स गरिसकेकी छन् । अभिनेता केदार घिमिरेको जोडीका रूपमा उनले मुख्य भूमिकामा अभिनय गरेको यो पहिलो हो । 

यसबारे आफ्नो अनुभव शेयर गर्दै वर्षाले भनिन्, ‘सबै जनाको आफ्नो–आफ्नो स्टाइल हुन्छ रोमान्स गर्ने । अब यो फिल्ममा एउटा माग्नेजस्तो क्यारेक्टर राजा हुँदैगर्दाको कथा हो भनिसकेपछि मैले अरु किन कल्पना गर्ने र ?’ 

उनले आफू र केदार दाइ (घिमिरे)ले फिल्मको पात्रमा केन्द्रित रहेर काम गरेको र त्यसलाई रमाइलो तरिकाले उतारेको बताइन् । केदारसँगको कामबाट आफूलाई धेरै कुरा सिक्न मिलेको बताउने वर्षा सुटिङको समय रमाइलोमै बितेको खुलाउँछिन् ।

barsha siwakoti (3)

आफूले कथावस्तु र भूमिकालाई रोज्ने गरेको वर्षा बताउँछिन् । ‘मैले पारिश्रमिकलाई मात्रै प्राथमिकता दिएको भए सायद आज यो स्थानमा हुन्न थिएँ’, उनले भनिन्, ‘मेरा लागि आफ्नो पात्र, कथा र टिम मुख्य कुरा हो ।’ एउटा राम्रो फिल्म बन्न यी सबै कुराको सन्तुलन जरुरी रहेको उनको तर्क छ ।

आफ्नो करियरमा सुपरहिटदेखि सामान्य र नोटिसमै नपरेका फिल्म पनि गरेको स्वीकार्दै वर्षाले हरेक अनुभवले आफूलाई थप परिपक्व बनाएको बताइन् । जीवन र करियरमा सफलतामात्रै सबैथोक होइन भन्ने उनको बुझाइ छ । उनी असफलतालाई जीवनको सबैभन्दा ठुलो शिक्षक मान्छिन् ।

‘असफलता मेरो लागि धेरै नै प्यारो छ’, उनले भनिन्, ‘असफलताबाटै सफलताको यात्रा सुरु हुन्छ । जब तपाईं असफल हुनुहुन्छ, तबमात्र अगाडि बढ्ने बाटो पहिल्याउनुहुन्छ ।’ 

जीवनमा पछुतो हुनुलाई पनि सकारात्मक रूपमा लिन्छिन् वर्षा । ‘पछुतो नभएसम्म आफूलाई सुधार्ने मौका मिल्दैन । हरेक कुरामा गर्वमात्र गर्दा अहम् बढ्छ,’ उनले भनिन् ।

barsha siwakoti (4)

‘परदेशी २’, ‘पशुपति प्रसाद’ लगायत केही सुपरहिट फिल्म दिएकी उनका व्यावसायिक असफल फिल्म पनि कम छैनन् । असफल भए पनि ती सबै फिल्मबाट केही न केही आफूले सिकेको उनले बताइन् ।

११ वर्षपछि पनि उनको करियर एउटै रफ्तारमा अगाडि बढिरहेको छ । पारिवारिक वातावरण, विशेषगरी बुबाको अनुशासन र सकारात्मक सोचले आफू आजको अवस्थामा आउन सफल भएको उनको भनाइ छ ।

‘नायिकाको लाइफ स्पान कसरी डिफाइन हुन्छ भन्ने कुराचाहिँ मैले बुझेको छैन । पहिला–पहिलाको तरिकाले हेर्ने हो भने नारीलाई केन्द्र बनाएर बनेका चलचित्र अलि कम थिए’, उनले भनिन्, ‘अहिले अवस्था फेरिएको छ । नायिकाहरूले नै फिल्म धान्न सक्ने भएका छन् ।’

पछिल्लो समय सामाजिक सञ्जालको प्रभाव बलियो छ । त्यसमा आउने सकारात्मक र नकारात्मक कमेन्टले अभिनेत्रीको करियरमा समेत अर्थ राख्छ । उनी पनि कहिलेकाहीँ सामाजिक सञ्जालमा तारो बन्दै आएकी छन् । तर सामाजिक सञ्जालबाट हुने प्रहारले उनलाई कुनै अर्थ राख्दैन रे । ‘सामाजिक सञ्जालका प्रतिक्रियाले आफूलाई बिथोल्न सक्दैन । त्यता अल्झिएको भए अहिलेको यात्रा तय हुन सक्दैन थियो’, उनले भनिन् ।

barsha siwakoti (2)

  • भविष्यको योजना 

पछिल्लो समय एकपछि अर्काे अभिनेत्री निर्माताको रूपमा देखिएका छन् । वर्षाकै समकक्षी केकी अधिकारी, शिल्पा मास्के लगायतले आफूलाई निर्माताको रूपमा उभ्याइसकेका छन् । वर्षाचाहिँ तत्काल निर्माता बन्ने आफ्नो योजना नरहेको बताउँछिन् ।

‘निर्माता बन्न आर्थिक, प्राविधिक र मानसिक धेरै तयारी चाहिन्छ, जुन अहिले ममा छैन’, वर्षाले भनिन्, ‘पहिला कलाकारकै रूपमा आफूलाई अब्बल बनाउन चाहन्छु ।’

उनी फिल्म क्षेत्रमा महिला र पुरुष कलाकारको पारिश्रमिकमा दिन प्रतिदिन बढ्दो ग्यापबाट भने चिन्तित छिन् । यसले केही कलाकारलाई फाइदा भए पनि फिल्म क्षेत्रलाई कालान्तरमा नराम्रो असर पार्ने उनको भनाइ छ । नियम कानुनको अभावले फिल्म क्षेत्रमा अराजकता समेत मौलाउन थालेको उनले बताइन् । राज्यले यस्ता विषयलाई व्यवस्थापन गरिदिए सबैलाई सहज हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया