चन्द्रकुवेर खापुङ : सम्हाल्नेछन् २ महिना ७ दिन प्रहरीको कमान्ड
सारांश
- चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा बढुवा भएका छन्, जसले भदौ १९ गतेदेखि पदभार ग्रहण गर्नेछन्।
- हालको प्रहरी ऐन अनुसार, खापुङले २ महिना ७ दिन मात्रै आईजीपीको जिम्मेवारी सम्हाल्नेछन्, किनकि उनी कात्तिक २६ मा अवकाशमा जानेछन्।
- खापुङ गीतकार समेत हुन् र उनले 'चाहिन्न मलाई नदेउ सहारा' बोलको गीत लेखेका छन्, उनलाई १७ वटा पुरस्कार प्राप्त भएको छ।
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी चन्द्रकुवेर खापुङ प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) पदमा नियुक्त भएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद्ले उनलाई भदौ १९ बाट लागू हुनेगरी नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार खापुङ छोटो समय मात्र आईजीपी पदमा रहन्छन् । संसदमा छलफलमा रहेको प्रहरी विधेयक पारित नभएको अवस्थामा उनले २ महिना ७ दिन मात्र प्रहरीको कमान्ड समाल्ने छन् ।
वर्तमान आईजीपी दीपक थापासँगै प्रहरी अधिकृतको फारम भरेका खापुङ २०५२ कात्तिक २७ मा प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए । प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि पूरा गरेर उनी आगामी कात्तिक २६ मा अवकाशमा जान्छन् ।
थापा भने भदौ १८ बाट अनिवार्य अवकाशमा जाँदै छन् । थापा ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन् । थापालाई संगठनबाट औपचारिक बिदाइ गरेपछि खापुङले प्रहरीको कमान्ड समाल्नेछन् ।
खापुङ २०२७ मंसिर २३ मा तेह्रथुमको मेन्छ्यायोम गाउँपालिकामा–६ मा जन्मिएका थिए । जेन्डर स्टडिजमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका खापुङले इन्स्पेक्टर हुँदा मोरङको इलाका प्रहरी कार्यालय बेलबारी लगायतका ठाउँमा कमान्ड गरेका थिए ।
डीएसपीमा उनले प्रहरी वृत्त चापागाउँ, इलाका प्रहरी कार्यालय धरान र प्रहरी वृत्त दरबारमार्ग को इन्चार्ज भएर काम गरे । २०७३ पुसमा एसपीमा बढुवा भएका उनले जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखाको कमान्ड गरेका थिए ।
२०७७ वैशाखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका खापुङले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरे । त्यस्तै उनले नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेको पनि कमान्ड गरेका थिए ।
२०८० वैशाख ६ मा डीआईजी भएका खापुङले कोशी प्रदेशको प्रहरी प्रमुख र अख्तियारमा बसेर काम गरेका थिए ।
एआईजी भएसँगै २०८१ मंसिर २७ मा उनी सीआईबीको प्रमुख भएका हुन् । त्यहाँ डीआईजी पदमा बसेर काम गर्दागर्दै उनी एआईजीमा बढुवा भएका थिए । उनले इटाली, भियतनाम र चीनमा समेत गरेर विविध विषयमा १४ वटा तालिम लिएका छन् ।
- गीतकारदेखि आईजीपीसम्म
प्रबल जनसेवाश्री प्राप्त गरेका खापुङ गीतकार समेत हुन् । केहीदिन अघि मात्र उनले शब्द सिर्जना गरेको ‘चाहिन्न मलाई नदेउ सहारा’ बोलको गीत अशोक मुकारुङको स्वरमा सार्वजनिक भएको छ । सो गीतमा उनले आफूसँग भएको कुरामा तृप्त रहेको भन्दै ‘आकाशका जुनतारा नचाहिने’ भाव व्यक्त गरेका छन् ।
गीतकारदेखि आईजीपी सम्मको यात्रामा खापुङ १७ वटा पुरस्कारबाट पुरस्कृत भएका छन् । उनले संयुक्त राष्ट्रसंघको शान्ति मिसन तर्फ दुई पटक हाइटीमा सेवा गरेका थिए । त्यहाँ फर्म्ड पुलिस युनिट र इन्डिभिज्युअल मिसनमा उनले काम गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण