डा. नवराज लम्सालका तीन कविता
सारांश
- लेखकले यात्राको क्रममा भेटिएका मानिस र अनुभवहरूको बारेमा आफ्नो विचार व्यक्त गरेका छन्।
- लेखकले जीवनका विभिन्न पक्षहरू जस्तै दुख, अध्यात्म, र प्रेमको बारेमा आफ्नो धारणा प्रस्तुत गरेका छन्।
- लेखकले मृत्युभन्दा माथिको शक्ति र जीवनको अर्थबारे आफ्नो दृष्टिकोण राखेका छन्।
१) यात्रामा भेटिएको मानिस
समूहमा थिएँ, सँगसँगै थिएँ
तर समूहबाट छुटाएर
एक्लै पुर्यायो चेतनाको झ्यालमा !
त्यो कुन ताकत हो ?
हराइरहेको थिएँ
समुद्री छालको लहरसँग
तानेर भिडमा ल्यायो, हुलमा ल्यायो !
मलाई एक्लै हुन पनि दिएन
मलाई हुलमा हराउन पनि दिएन !
ऊ यो के गरिरहेछ ?
स्मृतिमा हराउँछु
तानेर ध्यानमा ल्याउँछ
ध्यानमा हराउन खोज्छु
योगमा योगस्त बनाइदिन्छ !
यो अपत्यारिलो कला कहाँ सिक्यो उसले ?
दुवै छन्, हुनुपर्छ
तर वेद र बियर
एउटै झोलामा राख्नुहुन्न भन्छ !
वेदको पनि प्रशंसक छ
बियरको पनि विरोध गर्दैन
ऊ अध्यात्म
र भौतिकताको दोभानमा छ
उसलाई गालव मनपर्छ
माधवी मन पर्छ
शकुन्तलाको चेतनामा
प्रेमको प्वाँख हालेर उड्न मनपर्छ
शकुन्तला
दुःखबाट उठेको सुख हो कि
चैतन्यको खोजी यात्रा ?
ऊ बहसमा उत्रन्छ !
खगोलमा सृष्टिको बैँस भेट्छ
र खगोल बुढो भयो भन्नेसँग चित्त दुखाउँछ
दोस्रो विश्वयुद्धमै चलेको नेट
र समयको अल्गोरिदममा
ऊ मान्छेको जित भेट्छ
र त्यहीँ
मुटुको ढुकढुकी सुनिरहेछ
समुद्रसँग जिन्दगी मागिरहेछ
चन्द्रमाको निकट भएर
ऊ आगो मागिरहेछ !
धेरैले ऊ धेरै हिँडेको देख्छन्
ऊ यात्रा भर्खर प्रारम्भ भयो भन्छ
साँच्चै हिँड्नेहरूलाई
गन्तव्यको हेक्का हुनेरहेछ !
ऊ छातीको आगोमा अमृत घोलेर
आफ्नै गोडाले
माटोमै हिँड्न चाहिरहेको रहेछ !
हिँड्नु अडिनु
र अडिनु हिँड्नु
सँगसँगै सँगसँगै रहेछ जिन्दगीमा !
हिँड्नु र बाटो अलग कुरा हुन् !
चेतना र शरीर
कर्ममै छुट्टिन्छ र त
साधनाको अर्थ छ !
यात्रामा भेटिएको एउटा मानिसले भन्यो ः
भेटको पनि सीमा हुन्छ
ठिक समयमा छुट्टिन नजान्नेहरू
ठिक समयमा भेटिन पनि जान्दैनन् !
००
२) पिर
भिर भिरालो भएकामा के पिर ?
काँडाले घोचेकामा के पिर ?
आगोले पोलेकामा के पिर ?
पानी बगेकामा के पिर ?
जे कुरामा पिर गर्नुपर्दैन
त्यही कुरामा पिर गरेर के पिर ?
अचेल मान्छेहरू
सर्पले मान्छे डसेकामा पिर गर्छन्
मान्छेले सर्प डसे पो पिर !
विष लागेर कोही मर्यो
के अनौठो भयो ? के पिर भयो ?
विष खाएर पनि केही भएन
यो पो अनौठो !
खुर्सानी पिरो नभए
पाती तितो नभए
कागती अमिलो नभए
मान्छे बेइमान नभए
कविले
इमानको कविता लेखेर पनि त के अर्थ ?
म समयसँग सदाचार खोजिरहेछु
दुनियाँसँग प्रेम खोजिरहेछु
वचनमा निष्ठा
प्राप्तिमा इमान
र प्रेममा समर्पण खोजिरहेछु
अनि म आफैँ
समयभन्दा बाहिर नभए अरू को हुन्छ ?
बेइमानको पर्खालमा उभिएर
इमानको बिस्कुन सुकाउँछु भन्नु पनि
जिन्दगीको भिर हो
सृष्टि स्वयंको पिर हो !
बाबु नानीको पैताला काटेर
स्कुलको फी काटेर
टिफिनको भाग खोसेर
म समयको मदिरामा लट्ठ छु
यतिखेर कसैले मलाई निम्ता दिनु पनि छैन
म कतै जानु पनि छैन
कवि हुँ राजनीति गरिरहेको छैन !
भिर भिर नभए के हुन्छ ?
आगो नबले के हुन्छ
जीवनको कठोर यातना
आगोको कारखाना हो !
आगोले पोल्यो कुन अनौठो भयो ?
पोल्यो र दुख्यो कुन अनौठो भयो ?
००
३) जो मृत्युभन्दा माथि छ
आँसुहरू गुलाफ हुन्, फुल्न देउ
सूर्यहरू अँध्यारा हुन्, उदाउन देउ
मान्छेहरू जीवन हुन्, बाँच्न देउ
ओठहरू अमृत हुन्, मुस्कुराउन देउ
म म होइन
मभित्र अर्कै म छ
यी सबैलाई मैभित्र लुकाउन देउ
मलाई बाँच्न देउ !
मलाई प्रेम नदेउ, हृदय देउ
मलाई उपहार नदेउ, विश्वास देउ
मलाई आशीर्वाद नदेउ, आशा देउ
मलाई सम्पत्ति नदेउ, जीवनको सूत्र देउ
म मेरै पहिचान हुँ
मेरै उपस्थिति हुँ
मेरो शरीरभित्र मेरो उपस्थितिको अर्कै म छ
मलाई उभिन देउ !
सीमा ? सीमा भत्कन्छ !
स्वरूप ? स्वरूप बदलिन्छ !
रङ ? रङ खुइलिन्छ !
शरीर ढाक्ने लुगा ? लुगा फाट्छ !
भगवान् ? आस्था अनुसार फेरिन्छ !
भूगोल ? भुइँचालोले भत्काउन सक्छ !
आगो ? हो म सृष्टिको त्यही आगो हुँ
सबै सल्काएर पनि नसल्किने
बाँचिरहने शक्ति !
जो मृत्युभन्दा माथि छ
उसलाई मार्छु नभन !
०००
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण