बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

डा. नवराज लम्सालका तीन कविता

शनिबार, १४ भदौ २०८२, १५ : ००
शनिबार, १४ भदौ २०८२

सारांश

  • लेखकले यात्राको क्रममा भेटिएका मानिस र अनुभवहरूको बारेमा आफ्नो विचार व्यक्त गरेका छन्।
  • लेखकले जीवनका विभिन्न पक्षहरू जस्तै दुख, अध्यात्म, र प्रेमको बारेमा आफ्नो धारणा प्रस्तुत गरेका छन्।
  • लेखकले मृत्युभन्दा माथिको शक्ति र जीवनको अर्थबारे आफ्नो दृष्टिकोण राखेका छन्।
00:00 / NaN:NaN
Audio By AI

१) यात्रामा भेटिएको मानिस

समूहमा थिएँ, सँगसँगै थिएँ 
तर समूहबाट छुटाएर 
एक्लै पुर्‍यायो चेतनाको झ्यालमा !
त्यो कुन ताकत हो ?

हराइरहेको थिएँ 
समुद्री छालको लहरसँग 
तानेर भिडमा ल्यायो, हुलमा ल्यायो !
मलाई एक्लै हुन पनि दिएन 
मलाई हुलमा हराउन पनि दिएन !
ऊ यो के गरिरहेछ ?

स्मृतिमा हराउँछु 
तानेर ध्यानमा ल्याउँछ
ध्यानमा हराउन खोज्छु 
योगमा योगस्त बनाइदिन्छ ! 
यो अपत्यारिलो कला कहाँ सिक्यो उसले ?

दुवै छन्, हुनुपर्छ
तर वेद र बियर 
एउटै झोलामा राख्नुहुन्न भन्छ !

वेदको पनि प्रशंसक छ 
बियरको पनि विरोध गर्दैन 
ऊ अध्यात्म 
र भौतिकताको दोभानमा छ 
उसलाई गालव मनपर्छ
माधवी मन पर्छ 
शकुन्तलाको चेतनामा 
प्रेमको प्वाँख हालेर उड्न मनपर्छ
शकुन्तला
दुःखबाट उठेको सुख हो कि 
चैतन्यको खोजी यात्रा ?
ऊ बहसमा उत्रन्छ !

खगोलमा सृष्टिको बैँस भेट्छ
र खगोल बुढो भयो भन्नेसँग चित्त दुखाउँछ 
दोस्रो विश्वयुद्धमै चलेको नेट 
र समयको अल्गोरिदममा 
ऊ मान्छेको जित भेट्छ 
र त्यहीँ
मुटुको ढुकढुकी सुनिरहेछ 
समुद्रसँग जिन्दगी मागिरहेछ 
चन्द्रमाको निकट भएर 
ऊ आगो मागिरहेछ !

धेरैले ऊ धेरै हिँडेको देख्छन्
ऊ यात्रा भर्खर प्रारम्भ भयो भन्छ
साँच्चै हिँड्नेहरूलाई
गन्तव्यको हेक्का हुनेरहेछ !

ऊ छातीको आगोमा अमृत घोलेर 
आफ्नै गोडाले 
माटोमै हिँड्न चाहिरहेको रहेछ !

हिँड्नु अडिनु 
र अडिनु हिँड्नु 
सँगसँगै सँगसँगै रहेछ जिन्दगीमा !

हिँड्नु र बाटो अलग कुरा हुन् !

चेतना र शरीर
कर्ममै छुट्टिन्छ र त 
साधनाको अर्थ छ !

यात्रामा भेटिएको एउटा मानिसले भन्यो ः
भेटको पनि सीमा हुन्छ 
ठिक समयमा छुट्टिन नजान्नेहरू
ठिक समयमा भेटिन पनि जान्दैनन् !
००

२) पिर

भिर भिरालो भएकामा के पिर ?
काँडाले घोचेकामा के पिर ?
आगोले पोलेकामा के पिर ?
पानी बगेकामा के पिर ?
जे कुरामा पिर गर्नुपर्दैन 
त्यही कुरामा पिर गरेर के पिर ?

अचेल मान्छेहरू
सर्पले मान्छे डसेकामा पिर गर्छन् 
मान्छेले सर्प डसे पो पिर !

विष लागेर कोही मर्‍यो
के अनौठो भयो ? के पिर भयो ?
विष खाएर पनि केही भएन 
यो पो अनौठो !

खुर्सानी पिरो नभए 
पाती तितो नभए 
कागती अमिलो नभए 
मान्छे बेइमान नभए
कविले 
इमानको कविता लेखेर पनि त के अर्थ ?

म समयसँग सदाचार खोजिरहेछु
दुनियाँसँग प्रेम खोजिरहेछु 
वचनमा निष्ठा 
प्राप्तिमा इमान
र प्रेममा समर्पण खोजिरहेछु 
अनि म आफैँ 
समयभन्दा बाहिर नभए अरू को हुन्छ ?

बेइमानको पर्खालमा उभिएर 
इमानको बिस्कुन सुकाउँछु भन्नु पनि 
जिन्दगीको भिर हो 
सृष्टि स्वयंको पिर हो !

बाबु नानीको पैताला काटेर 
स्कुलको फी काटेर 
टिफिनको भाग खोसेर 
म समयको मदिरामा लट्ठ छु
यतिखेर कसैले मलाई निम्ता दिनु पनि छैन 
म कतै जानु पनि छैन 

कवि हुँ राजनीति गरिरहेको छैन !

भिर भिर नभए के हुन्छ ?
आगो नबले के हुन्छ 
जीवनको कठोर यातना 
आगोको कारखाना हो !

आगोले पोल्यो कुन अनौठो भयो ?
पोल्यो र दुख्यो कुन अनौठो भयो ?
००

३) जो मृत्युभन्दा माथि छ

आँसुहरू गुलाफ हुन्, फुल्न देउ
सूर्यहरू अँध्यारा हुन्, उदाउन देउ
मान्छेहरू जीवन हुन्, बाँच्न देउ 
ओठहरू अमृत हुन्, मुस्कुराउन देउ 
म म होइन 
मभित्र अर्कै म छ
यी सबैलाई मैभित्र लुकाउन देउ
मलाई बाँच्न देउ !

मलाई प्रेम नदेउ, हृदय देउ
मलाई उपहार नदेउ, विश्वास देउ 
मलाई आशीर्वाद नदेउ, आशा देउ
मलाई सम्पत्ति नदेउ, जीवनको सूत्र देउ 
म मेरै पहिचान हुँ
मेरै उपस्थिति हुँ
मेरो शरीरभित्र मेरो उपस्थितिको अर्कै म छ 
मलाई उभिन देउ !

सीमा ? सीमा भत्कन्छ !
स्वरूप ? स्वरूप बदलिन्छ !
रङ ? रङ खुइलिन्छ !
शरीर ढाक्ने लुगा ? लुगा फाट्छ !
भगवान् ? आस्था अनुसार फेरिन्छ !
भूगोल ? भुइँचालोले भत्काउन सक्छ !
आगो ? हो म सृष्टिको त्यही आगो हुँ 
सबै सल्काएर पनि नसल्किने 
बाँचिरहने शक्ति !

जो मृत्युभन्दा माथि छ 
उसलाई मार्छु नभन !
०००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. नवराज लम्साल
डा. नवराज लम्साल
लेखकबाट थप