मिथिलाञ्चलमा आज भदैया रैब पर्व मनाइँदै
सारांश
- महोत्तरीसहित मिथिलाञ्चलमा आज महिलाहरूले परिवारको सुस्वास्थ्य र समृद्धिको कामना गर्दै भदैया रैब पर्व मनाएका छन्।
- बर्तालु महिलाहरूले ठेकुवा, फलफूल, र पूजा सामग्रीसहित नजिकैको पोखरी वा नदीमा सूर्यदेवतालाई अर्घ्य दिएर पर्व मनाए।
- यो पर्व विशेष गरी आरोग्यता र सुख समृद्धिका लागि मनाइन्छ, र यसमा महिलाहरूले उपवास बसेर नुनबिनाको खानेकुरा खान्छन्।
जलेश्वर । पुत्र, पति र परिवारका सदस्यहरूको आरोग्यता तथा सुख, समृद्धिको कामना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आज महिलाहरू भदैया रैब पर्व मनाइरहेका छन् ।
मिथिला क्षेत्रका गाउँगाउँमा आज बिहानदेखि बर्तालु महिलाहरूले घरघरमा ठेकुवा (सक्खर हालेर बनाइएको एक प्रकारको पकवान) पकाएर, केरा, मकै, काँक्रो, स्याउलगायत फलफूल, अक्षता, सुपारी र पानसहितका वस्तु लिएर रैब पर्व मनाउन सुरु गरेका छन् ।
आज बर्तालु महिलाहरू फलफूल, मिठाइ र पकवानसहितका पूजा सामग्रीसहित नजिकैको पोखरी, तलाउ वा नदीमा गई सूर्यदेवतालाई अर्घ्य चढाउँदै पर्व मनाउने जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताए ।
रैब सूर्य देवताकै पूजा उपासना गरी मनाइने पर्व हो । भदौमा मनाइने भएकाले यसलाई भदैया रैब पर्व पनि भनिन्छ । पोखरी, तलाउ वा नदीमा स्नान गरी, सूर्य देवतालाई पूजा सामग्रीको अर्घ्य दिएर बर्तालुहरू आ–आफ्ना घरमा जान्छन् भने घर पुगेर आँगन वा पिँढीमा फेरि नेउज हाल्ने गर्दछन् ।
नेउज हाल्ने क्रममा बर्तालुहरू भुइँलाई पानी र गङ्गाजलले लिपेर, केराको पातमाथि सक्खर हालेर बनाइएको खिर र केरा चढाउने गर्दछन् । यस क्रममा प्रत्येक परिवारबाट कति जनाले रैब पर्व गर्ने हो, त्यसका लागि प्रत्येक एक जनाका लागि दुई वटा नेउज (दुई स्थानमा प्रसाद चढाउने) हाल्ने गर्नुपर्छ ।
पर्वमा अरूका लागि पनि अरूले नेउज (प्रसाद चढाइदिने) हाल्न सक्छन् । आफ्नो परिवारका कुनै सदस्य बाहिर रहेको वा घरमा आउन नसक्ने अवस्थामा रहेको बेला अरूको नाममा अरूले नेउज हाल्ने गर्दछन् ।
नेउज हालिसकेपछि (प्रसाद चढाइसकेपछि) बर्तालुहरूले फलफूल ग्रहण गर्न सक्छन् । आज राति उनीहरूले नुनबिनाको खानेकुरा (फलफूल, खिर, केरा, स्याउ) लगायत वस्तु नै खाएर बस्ने चलन छ ।
त्यसैगरी अब आजैदेखि मिथिलाञ्चलका प्रत्येक गाउँ ठाउँका प्रायः जसो महिलाले प्रत्येक आइतबार रैब पर्वका लागि दिनभरि उपवास बस्ने र बेलुका नुनबिनाको खानेकुरा खाएर छ महिनासम्म रैब पर्व मनाउनेछन् । कोही कोहीले भने महिनाको एउटा आइतबारको दिन मात्र उपवास बसेर पनि यस पर्व मनाउने चलन रहेको जलेश्वर–८ की बर्तालु रेणु देवीले बताइन् ।
मिथिला क्षेत्रमा परम्परागत रूपमै यसपर्व सुख, समृद्धि र विशेष गरी आरोग्यताका लागि मनाउने परम्परा रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव राय बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले मधेसको जनजीवन प्रभावित : बिरामी बढे, मजदुर वर्ग मारमा
-
को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?
-
स्रोत नखुलेको ३२ लाख नगदसहित दुई जना पक्राउ
-
रास्वपाको ‘उद्गमस्थल’ चितवनमा राष्ट्रिय महाधिवेशनः जिल्लावासी खुसी
-
मेक्सिको नकआउट पुग्दा कोरिया सकसमा, ब्राजिलले के गर्ला ?
-
गोरेटो बाटोमा भेटिएको शवको रहस्य खुल्यो : श्रीमती र छोराले गरे हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण