बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निजामती विधेयक

मुख्यसचिव अर्यालको कार्यकाल लम्ब्याउने गरी मन्त्री न्यौपानेको फरक प्रस्ताव

सोमबार, १६ भदौ २०८२, १३ : २१
सोमबार, १६ भदौ २०८२

सारांश

  • संघीय मामिलामन्त्री भगवती न्यौपानेले मुख्यसचिव एकनारायण अर्यालको कार्यकाल लम्ब्याउन प्रस्ताव गरिन्।
  • मन्त्रीको प्रस्ताव अनुसार, सरकारी कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्याउने र यसले मुख्यसचिव अर्याललाई फाइदा पुग्नेछ।
  • विपक्षी दलहरूले प्रस्ताव स्वीकार नगर्दा विधेयक पास हुन सकेको छैन, र यसले अर्यालको अवकाश मितिमा असर पार्नेछ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले मुख्यसचिव एकनारायण अर्यालको कार्यकाल लम्ब्याउने गरी राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा फरक प्रस्ताव गरेकी छन् । 

समितिमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा भइरहेको छलफलमा मन्त्री न्यौपानेले केही प्रावधिक विषय मिलाउनुपर्ने भनेर ऐन लागू भएको वर्ष नै ५९ वर्ष लागू गर्ने प्रस्ताव राखेकी हुन् । यसले प्रत्यक्ष रूपमा मुख्यसचिव अर्याललाई फाइदा पुग्छ ।

प्रचलित ऐनअनुसार ५८ वर्षे उमेर हदका कारण आगामी मङ्सिर ९ गते अनिवार्य अवकाशमा जान लागेका अर्याललाई समेत फाइदा हुने गरी विधेयकमा सरकारी कर्मचारीको अनिवार्य अवकाश ५८ बाट ६० वर्ष पुर्‍याउन मन्त्री न्यौपानेले प्राविधिक विषय मिलाउन भन्दै अहिलेलाई ५९ मानेरअघि बढ्ने प्रस्ताव गरेकी हुन् ।

अनिवार्य अवकाशको उमेर बढ्दा मुख्य सचिव अर्याललाई फाइदा नपुग्ने गरी प्रतिनिधिसभाले पास गरेर पठाएको विधेयकमा परिवर्तन गर्नुपर्ने मन्त्री न्यौपानेको प्रस्ताव छ । प्रतिनिधिसभाबाट पारित गरेको विधेयक ऐनमा रूपान्तरित भएर लागू भएको वर्ष ५८ वर्ष नै अनिवार्य अवकाशको उमेरहद राख्ने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्ष कायम गर्ने उल्लेख छ । तर, राष्ट्रियसभामा पुगेपछि सरकारले चलखेलको प्रयास गरेको हो ।

 मन्त्री न्यौपानेको प्रस्ताव विपक्षी दलहरूले स्वीकार नगरेकाले विधेयक पास हुन सकिरहेको छैन । प्रतिनिधिसभाले पारित गरेको प्रावधान नै राष्ट्रियसभाले स्वीकार गरे मुख्यसचिव अर्यालले आगामी मङ्सिर ९ गते अनिवार्य अवकाश पाउनेछन् ।

मन्त्री न्यौपानेको प्रस्ताव स्वीकार गरेमा विधेयक ऐनमा रूपान्तरित भएको वर्ष ५९ वर्षमा अनिवार्य अवकाश हुने भनिए मुख्यसचिव अर्यालको कार्यकाल २०८३ साल भदौ १३ गतेसम्म लम्बिनेछ ।

२०८१ साल भदौ १३ गते मुख्यसचिवमा नियुक्त भएका अर्यालले आफ्नो कार्यकाल बढाउने र कुलिङ अफ पिरियड नराख्न सरकार र सांसदहरूलाई दबाब दिइरहेका छन् ।

मन्त्री न्यौपानेको प्रस्ताव पारित भएमा सचिवहरू सुमनराज अर्याल, डा. हरिप्रसाद लम्साल, फणीन्द्र गौतम, भरतमणि सुवेदी, डा. रामप्रसाद घिमिरे, केशवकुमार शर्मा विडारी, डा. दीपककुमार खराल, कृष्णहरि पुष्कर र मधुसूदन बुर्लाकोटी पनि लाभान्वित हुनेछन् । 

प्रचलित ऐन अनुसार राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव सुमनराज अर्याल आगामी २०८२ माघ १८ गते, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कानुनतर्फका सचिव फणीन्द्र गौतम आगामी मङ्सिर १७ गते,  सचिव डा. घिमिरे आगामी २०८२ फागुन ९ गते जान्छन् ।

फागुन १० गते अवकाशमा जाने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा कार्यरत सचिव भरतमणि सुवेदी राजीनामा दिएर स्वीकृत भइसकेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सचिव शर्मा विडारी २०८२ चैत ८ गते, युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सचिव लम्साल फागुन २३ गते  चैत १४ मा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत सचिव डा.  खराल २०८३ साल असार २० गते तथा हाल राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत सचिव बुर्लाकोटी अवकाशमा जाने निजामती किताबखानाको तथ्याङ्कमा उल्लेख छ ।  सचिव पुष्कर २०८३ साल असार २३ गते अवकाशमा जादैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप