काठमाडौँ । कुनै करिअरमा बाटो देखाउन परिवारका सदस्यको अहम् भूमिका हुन्छ । पूजा महतोलाई क्रिकेटको यात्रामा पाइला चाल्न उनका भाइले प्रेरणा दिए । भाइले क्रिकेटमा लगाइदिएको मोहले आज उनलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको उपकप्तानसम्मको भूमिकामा पुर्याइदिएको छ ।
रातोपाटी स्टुडियोमा अन्तर्वार्ताका लागि आएकी पूजाले भाइकै कारण भारतमा बसिरहेको आफूलाई देश फर्किएर क्रिकेटमा जोडिने मोह जागेको सुनाइन् ।
‘मेरो भाइ नभएको भए म आज यो स्थानमा हुने थिइनँ होला । उसले मलाई क्रिकेट खेल्न धेरै हौसला दिन्छ । नेपालको क्रिकेटसँग जोडिने अवसर पनि उसले नै जुराएको हो,’ पूजा भन्छिन् ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले पछिल्लो समय आफ्नो उत्कृष्ट प्रदर्शनले सबैलाई लोभ्याएको छ । सीमित स्रोत र अवसरका बाबजुद टोलीले पाएको प्रत्येक अवसरलाई सदुपयोग गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन कुनै कसर बाँकी राखेको छैन । यही सफल टिमकी उपकप्तान पूजाको प्रेरणादायी यात्राले धेरै युवा खेलाडीलाई प्रोत्साहन दिन्छ ।
_4miJVbQnWT.jpg)
सानै उमेरमा क्रिकेट खेल्न थालेकी पूजाले यति छोटो समयमा राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाउँला र उपकप्तानको जिम्मेवारी सम्हाल्न पाउँला भनेर सोचेकै थिइनन् ।
तर अथक मिहिनेत, लगनशीलता र सकारात्मक सोचले उनलाई यो सफलता दिलायो । त्यसै मेहनतले गर्दा पूजा नेपाली खेलकुदको ठुलो अवार्ड ‘एनएसजेएफ पिपुल च्वाइस अवार्ड’का लागि मनोनयनमा परेकी छिन् ।
‘मैले क्रिकेट खेल्न सुरु गर्दा यति धेरै सफलता पाउँछु भनेर सोचेको थिइनँ । यो सबै सपना जस्तै लाग्छ,’ पूजा भन्छिन्, ‘तर मलाई थाहा थियो कि मैले गरेको मिहिनेत र समर्पणले एक दिन अवश्य राम्रो नतिजा दिनेछ ।’
राष्ट्रिय टोलीमा प्रवेश गर्नुअघि पूजाले घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेकी थिइन् । भारतमा क्रिकेट सिकेकी उनी उमेर समूहको क्रिकेट नखेलेर नै उनी राष्ट्रिय टोलीमा पर्न सफल भइन् । उनी राष्ट्रिय टोलीमा पर्दा छनोटमा धेरैले प्रश्न उठाएका थिए, किनकि उनी घरेलु क्रिकेट नखेली सिधै राष्ट्रिय टोलीमा आएकी थिइन् ।
‘मलाई थाहा छ मेरो छनोटमा धेरै विवाद भयो । तर मैले त्यसलाई सकारात्मक रूपमा लिएँ र आफ्नो क्षमता प्रदर्शन गर्ने अवसरको रूपमा हेरेँ । यदि मैले त्यो समयको विवादलाई हेरेर बस्थे भने अहिले यो स्थानमा हुने थिइनँ,’ पूजा भन्छिन् ।
_RQE3kOhHKG.jpg)
राष्ट्रिय टोलीमा प्रवेश गरेपछि पूजाले आफ्नो खेलमा सुधार गर्दै टोलीमा महत्त्वपूर्ण योगदान दिन थालिन् । उनको उत्कृष्ट प्रदर्शनले टोलीलाई धेरै खेल जित्न मद्दत गर्यो । पूजाको मिहिनेत र लगनशीलतालाई देखेर उनलाई उपकप्तानको जिम्मेवारी दिइयो ।
उपकप्तानको जिम्मेवारी पाएपछि पूजाले आफ्नो भूमिकालाई अझ गम्भीरतापूर्वक लिइन् । उनले टोलीका सदस्यलाई प्रेरणा दिने, उनीहरूबाट सिक्ने र आफूले जानेको पनि सिकाउने प्रयास गरिन् । उनको नेतृत्व क्षमताले टोलीलाई धेरै सफलता दिलाउने उनको विश्वास छ ।
कुनै पनि करिअरमा सपना देख्न छाड्नु हुँदैन । पूजालाई सपनाले नै यहाँसम्म ल्याइपुर्यायो । अब अर्को सपना उनले देखेकी छिन्- नेपाली महिला क्रिकेटलाई विश्वकपसम्म पुर्याउने । यसका लागि अथक प्रयास गरिरहेको छ उनको टिमले ।
‘हाम्रो सपना विश्वकप खेल्ने हो । हामी यसका लागि कडा मिहिनेत गरिरहेका छौँ,‘ पूजा सुनाउँछिन्, ‘मलाई विश्वास छ, हामी एक दिन अवश्य आफ्नो सपना पूरा गर्नेछौँ ।’
नेपाली महिला क्रिकेट टोलीले गरेको प्रदर्शनको उच्च प्रशंसा भइरहेको छ । तर टिमलाई अभाव र चुनौती निकै छन् । राम्रो प्रशिक्षण, पर्याप्त स्रोत र अन्तर्राष्ट्रिय स्तरका एक्सपोजरको खाँचो छ । त्यसो भएमा नेपाली महिला क्रिकेट टोलीले विश्व क्रिकेटमा आफ्नो पहिचान बनाउन सक्नेछ ।
पूजा क्रिकेट प्रेमीप्रति आभारी छिन् । ‘तपाईँहरूको समर्थन र मायाले हामीलाई अगाडि बढ्न प्रेरित गरेको छ । हामी सधैँ तपाईँहरूका लागि राम्रो खेल्ने प्रयास गर्नेछौँ,’ उनी भन्छिन् । ‘एनएसजेएफ पिपुल च्वाइस अवार्ड’मा आफूलाई भोट दिएर सहयोग गर्न पनि उनको आग्रह छ ।
प्रतिक्रिया