मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
सारांश
- डेभिड वार्नरले मापसे गरेर गाडी चलाएको अभियोग स्वीकार गरेपछि सिड्नी थन्डरको कप्तानी सङ्कटमा परेको छ।
- प्रहरी परीक्षणमा वार्नरको शरीरमा रक्सीको मात्रा कानुनले तोकेको सीमाभन्दा दोब्बर भेटिएको थियो।
- वार्नरले आफ्नो गल्ती स्वीकार गर्दै अदालतमा लचकताको माग गरेका छन् र सजाय भोग्न तयार छन्।
सिड्नी । अस्ट्रेलियन क्रिकेटर डेविड वार्नरको सिड्नी थन्डरको कप्तानी सङ्कटमा परेको छ।
मापसे गरेर गाडी चलाएको अभियोगमा उनले आफ्नो दोष स्वीकार गरेपछि उनको कप्तानीलाई लिएर अन्योल सिर्जना भएको हो।
बुधबार वेभर्ली स्थानीय अदालतमा वार्नर आफैँ उपस्थित हुनुपरेको थिएन। उनका वकिल बबी हिलले इस्टर सन्डेका दिन वार्नरले ‘मध्यम-स्तरीय’ मापसे गरेर गाडी चलाएको अभियोग स्वीकार गरेको जानकारी दिएका छन्। वकिल हिलका अनुसार दुवै पक्ष अहिले घटनाका तथ्यहरूका बारेमा छलफलमा रहेका छन्।
गत अप्रिल ५ मा सिड्नीको पूर्वी क्षेत्रमा सडक किनारमा भइरहेको चेकिङभन्दा केही अघि वार्नरले गाडी रोकेका थिए। त्यसपछि प्रहरीले परीक्षण गर्दा उनले मादक पदार्थ सेवन गरेको पाइएको थियो। माटोब्रा प्रहरी चौकी लगेर पुनः परीक्षण गर्दा ३९ वर्षीय वार्नरको शरीरमा ०.१०४ रक्सीको मात्रा भेटिएको थियो। यो कानुनले तोकेको कानुनी सीमाभन्दा दोब्बरभन्दा बढी हो।
वकिल हिलले यो मुद्दा पहिलोपटक अदालतमा आउँदा नै वार्नरले दोष स्वीकार गर्ने संकेत गरेका थिए। ‘उनलाई आफूले गरेको काम गलत थियो भन्ने थाहा छ,’ हिलले उतिबेला भनेका थिए, ‘उबर चढेर जानुको सट्टा आफैँ गाडी चलाउने निर्णय गर्नु एउटा लापरबाही र मूर्खतापूर्ण कदम थियो भन्ने उनले स्वीकार गरेका छन्।’
साथीको अपार्टमेन्टमा तीन गिलास वाइन खाएपछि वार्नरले गाडी चलाउने निर्णय लिएको हिलले बताए। ‘इस्टरमा एक गिलास वाइन पिउनु कुनै अपराध होइन,’ हिलले सञ्चारकर्मीहरूसँग भने, ‘वास्तवमा, धेरैले यसलाई पूर्ण रूपमा उपयुक्त मान्छन्। उनको अपराध भनेको राम्रो विकल्प छाडेर गलत विकल्प रोज्नु मात्र हो।’
प्रहरीले रोक्नुभन्दा ११ मिनेटअघि मात्र वार्नरले अन्तिम पटक रक्सी पिएका थिए। वार्नर आफ्ना कामप्रति पश्चात्ताप रहेको र अदालतसँग लचकताको माग गर्ने भए पनि अन्य नागरिक सरह सजाय भोग्न तयार रहेको उनका वकिलले बताएका छन्। अदालतले वार्नरको सजाय निर्धारणका लागि अगस्ट १८ को मिति तोकेको छ।
वार्नरले आफ्नो दोष स्वीकार गरेपछि थन्डरको कप्तानका रूपमा उनको भविष्यमाथि प्रश्न उठेको छ। यस विषयमा प्रतिक्रियाका लागि टोलीलाई सम्पर्क गरिएको छ।
वार्नर पक्राउ परेलगत्तै क्रिकेट न्यु साउथ वेल्सका मुख्य कार्यकारी अधिकारी ली जर्मनले प्रतिक्रिया दिएका थिए। ‘यी आरोपहरू पक्कै पनि चिन्ताजनक छन् र हामी यसलाई धेरै गम्भीरताका साथ लिन्छौँ,’ जर्मनले भनेका थिए, ‘हामी सुरक्षित ड्राइभिङको पक्षमा छौँ, मापसे गरेर गाडी चलाउने कुराको समर्थन गर्दैनौँ।’
थन्डरका साथै सिड्नी सिक्सर्स र एनएसडब्ल्यू ब्लुज मापसेविरुद्ध जनचेतना फैलाउने राज्य सरकारको अभियानमा सहभागी छन्। वार्नर पाकिस्तान सुपर लिगमा कराँची किङ्सको कप्तानी गरेर उपमहाद्वीपबाट इस्टरको छुट्टीमा घर फर्किएका बेला पक्राउ परेका थिए।
सन् २०१८ मा दक्षिण अफ्रिकामा भएको बल टेम्परिङ काण्डमा मुख्य भूमिका खेलेपछि वार्नरलाई जीवनभर कुनै पनि टोलीको नेतृत्व लिन प्रतिबन्ध लगाइएको थियो। तर सन् २०२४ मा उक्त प्रतिबन्ध फुकुवा भएलगत्तै उनलाई सिड्नी थन्डरको कप्तान नियुक्त गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण