संघीय लोकतान्त्रिक मोर्चाको निसानामा सरकार
सारांश
- संघीय लोकतान्त्रिक मोर्चाले कांग्रेस-एमाले नेतृत्वको सरकारको आलोचना गर्दै खबरदारी गरेको छ।
- जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारलाई 'निकम्मा र नालायक' भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा परेको दाबी गरे।
- मोर्चाका नेताहरूले अधिकारबाट वञ्चित जनतालाई अधिकार दिलाउन एकजुट हुनुपर्नेमा जोड दिए।
जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले कांग्रेस–एमाले नेतृत्वको सरकारलाई निसाना बनाउँदै खबरदारी गरेको छ । शुक्रबार जनकपुरधाममा आयोजित जागरण अभियानमा मोर्चाका नेताहरूले सरकारको आलोचना गरेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमाले गठबन्धन सरकारलाई ‘निकम्मा र नालायक’ संज्ञा दिए ।
उनले सरकारकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको दाबीसमेत गरे । उनले भने, ‘कांग्रेस कहिल्यै गणतन्त्रको पक्षमा थिएन । नेपालमा वास्तविक कम्युनिस्ट पनि छैनन्, कम्युनिस्टको नाममा अवसरवादीहरू जम्मा भएका छन्, जसले संघीयतालाई समाप्त गर्ने षडयन्त्र गरिरहेका छन् ।’
प्रदेशमा सरकार बनेको पनि अधिकार र कानुनको अभावमा काम गर्न नसकेको अध्यक्ष यादवको भनाइ थियो । उनले प्रश्न गरे, ‘न कानुन, न अधिकार दिइएको छ, यस्ता सरकारले जनतालाई के दिने ?’
कांग्रेस–एमालेले वर्तमान सरकार बलियो रहेको दाबी गर्दै आएकोतर्फ लक्षित गर्दै यादवले सरकार बलियो भएको अनुभूति जनतामा हुन नसकेको जिकिर गरे । उनले भने, ‘यदि यो सरकार बलियो छ भने किसानलाई मल किन छैन ? सरकारी विद्यालयमा शिक्षा किन छैन ? सरकारी अस्पतालमा गरिबको उपचार किन छैन ? बेरोजगारी किन हटेको छैन ?’ सरकारले सुशासन होइन, कुशासन दिएको उनको आरोप थियो ।
सोही कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले संघीय लोकतान्त्रिक मोर्चा सरकार बनाउनका लागि नभई अधिकार दिलाउनका लागि बनेको बताए ।
उनले भने, ‘लामो समयदेखि अधिकारबाट वञ्चित जनतालाई अधिकार दिलाउनका लागि हामी एकजुट भएका हौँ । जनताको पूर्ण विश्वास तत्कालै नहुन सक्छ तर टुक्रा–टुक्रामा रहँदा अधिकार हासिल गर्न सकिएन । अहिलेको आवश्यकता एकजुटता हो ।’
महतोले पहिलो मधेस आन्दोलनबाट प्राप्त उपलब्धि समाप्त भएको दाबीसमेत गरे । ‘अब पनि एकजुट नभए मधेस फेरि पुरानै अवस्थामा पुग्छ,’ उनले भने ।
महतोले गौर घटना पुनः उचालेर मधेसी नेताहरूलाई कमजोर पार्ने षडयन्त्र भइरहेको आरोपसमेत लगाए ।
जनता प्रगतिशील नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले मधेस आन्दोलनका उपलब्धिहरू खसवादी शक्तिले निष्क्रिय पारेको बताए ।
उनले भने, ‘६ महिना लामो आन्दोलन खसवादीले कसरी समाप्त गरे भन्ने कुरा मधेसी नेताले अझै विश्लेषण गर्न सकेका छैनन् । संविधानकै संरचनाले मधेसलाई टुक्य्राइदिएको छ, जसलाई पुनः एकजुट गर्न कठिन छ ।’
त्रिपाठीले नेताहरूलाई जनतामाझ परिणाम देखाउन आग्रह गर्दै थपे, ‘खसवादी, खसवादी भनेरमात्रै हुँदैन, अब केही गरेर देखाउनुपर्ने समय आएको छ । भाषण होइन, रिजल्ट चाहिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण