हिमालयन आर्ट फेस्टिभल : २०२२ सालदेखि आजका कलाको जमघट
सारांश
- बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभल सम्पन्न भयो, जसमा वृद्ध कलाकार श्यामदास अशान्तलाई सम्मान गरियो।
- प्रदर्शनीमा श्यामदास अशान्तका पुराना चित्रहरू प्रदर्शन गरियो, जसले नेपाली कला इतिहासलाई बुझ्न मद्दत गर्छन्।
- यस फेस्टिभलमा युवा कलाकारका नौला सोच र शैलीका कलाहरू प्रस्तुत गरिए, जसले दर्शकको मन जिते।
हरेक वर्षजस्तो भइरहने हिमालयन आर्ट फेस्टिभल यसपालि पनि भर्खरै (८–१४ अगस्टसम्म चलेर) सम्पन्न भयो, बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ।
मेलाको रूपमा भए पनि यो कला प्रदर्शनीमा विशेष गरेर राम्रा अनि अब्बल कला समावेश गर्ने प्रचलन छ । यसपल्ट यो परम्परालाई कायम गरेको देखियो । यसपल्ट सबैभन्दा राम्रा काम दुईवटा भए— पहिलो, नितान्त छायामा परेका सतासी वर्षका वयोवृद्ध कलाकार श्यामदास अशान्तलाई सम्मान गर्ने काम भयो । दोस्रो, नवयुवा कलाकारका अब्बल कलालाई प्रदर्शनमा ल्याइयो ।
हिजोआज कलाका प्रदर्शनी बगुन्द्रो भइरहे पनि राम्रा काम धेरै कम देखिने गर्छन् । यसर्थ यो कला प्रदर्शनी विशेष रूपमा रहेको मान्नुपर्छ ।
- श्यामदास अशान्त
यसपल्ट वयोवृद्ध कलाकार श्यामदास अशान्तलाई सम्मान मात्र गरिएन, उनले २०२०–२५ सालतिर कोरेका चित्रको प्रदर्शन समेत गरियो । हुन त उनका ८–१० वटा चित्र मात्र प्रदर्शनमा थिए, तापनि त्यस बेलाका यी कला धेरैले देख्न पाएका थिएनन् । यसो हुँदा पनि यी कलाको एक अलग्गै अर्थ रह्यो ।

सन् १९३८ मा ललितपुरको हौगलमा जन्मेका श्यामदास राजकर्णिकार अशान्तले सन् १९६३ मा जुद्धकला पाठशालाबाट कला शिक्षा लिएका थिए । उनी आफ्नो समयमा चित्रकार मात्र थिएनन्, उनले नेपाल हुलाक विभागमा र पछि ‘वुड कार्भिङ इन्डस्ट्रिज’मा चिफ डिजाइनर भएर काम गरे ।
नेपाली कला इतिहासको त्यस्तो कालखण्डमा उनी कलाकारका रूपमा देखापरेका थिए, जति बेला नेपालमा कला प्रदर्शनी गर्ने प्रचलन नै थिएन, अनि प्रदर्शन गर्ने ठाउँ पनि थिएन । पछि (२०२२ सालमा) खुलेको नेपाल ललितकला संस्थाले वर्षमा एकचोटि राष्ट्रिय कला प्रदर्शन गर्न थाल्यो । नेपाली परम्परागत कला र आधुनिक कलाको सेतुका रूपमा देखा परेका श्यामदास अशान्तका कलाले त्यस बेलाको कला इतिहासलाई बुझ्न निकै मद्दत गर्छन् ।
जुद्धकला पाठशालामा पश्चिमी पद्धतिबाट कला सिकाइन्थ्यो । त्यतिबेला नेपालभरमा त्यही मात्र एउटा कला सिकाउने स्कुल थियो । अर्कोतिर बाहिर समाज वा घरघरमा परम्परागत कला परम्परागत तौरतरिकाबाट बन्दै आएकै थिए । जुद्धकला पाठशालामा पश्चिमी अङ्कन पद्धतिमा सिकाइने हुँदा कलाले नौलो धार समातेको थियो । परम्परागत कलाका लागि औपचारिक स्कुल वा कलेज भने त्यस बेला खुलेको थिएन ।
श्यामदास अशान्तले २०२२ सालमा बनाएको एउटा दृश्यचित्रमा पातला रङ अनि रेखाहरूको बाहुल्य छ । पुरानो घरको मूल ढोकाको खम्बामा अडेस लगाएर घाम तापेको त्यस बेलाको अवस्था स्पष्ट देखिन्छ । त्यतिबेला जाडो यामको बिहानीपख मानिसले यसरी नै न्यानो घाम ताप्थे होला ।
त्यति बेला पश्चिमी पद्धतिबाट धेरैले सिक्न चाहना राख्थे । त्यसैले विशेष गरेर कला बनाइराख्ने सिकारु कलाकार वा परम्परागत कलाकार त्यहाँ कला सिक्न जान्थे । यसरी पश्चिमी अनि हाम्रो पूर्वीय कलाको अङ्कन पद्धति फ्युजन हुँदा नयाँ कलाको शैली देखा पर्थ्यो । यसले नेपाली कलाको विषय, शैली र प्रवृत्तिमा एउटा छुट्टै धार खडा गर्यो । यसर्थ त्यस बखत बनेका श्यामदास अशान्तका चित्रले विशेष अर्थ राख्छन् ।
जुद्धकला पाठशालामा आजका दिनसम्म ककसले अध्ययन गरे भन्ने वास्तविक विवरण प्राप्त भएको छैन । त्यस बेलाका कलाकार र ती कलाकारले अँगालेको कलाको शैली वा प्रवृत्तिबारे हामीसँग धेरथोर जानकारी त छन् तर आधिकारिक अभिलेख छैनन् । यस मानेमा पनि यसपल्ट प्रदर्शनमा आएका उनका कलाले विशेष अर्थ राख्ने नै भए ।

यसपटकको प्रदर्शनीमा उनका दृश्यचित्र र व्यक्तिचित्र मात्र राखिएका छन् । उनले २०२२ सालमा बनाएको एउटा दृश्यचित्रमा पातला रङ अनि रेखाहरूको बाहुल्य छ । पुरानो घरको मूल ढोकाको खम्बामा अडेस लगाएर घाम तापेको त्यस बेलाको अवस्था स्पष्ट देखिन्छ । त्यतिबेला जाडो यामको बिहानीपख मानिसले यसरी नै न्यानो घाम ताप्थे होला । घरको माथिल्लो भित्तामा चित्र टाँगिएको अचम्मको दृश्य देखिन्छ । अलिकति यथार्थवादी, अलिकति अभिव्यञ्जनाका रूपमा देखिने यो चित्र केही अनौठो रूपमा देखिन्छ ।
यस्तै, २०२४ सालमा बनेको उनको अर्को दृश्यचित्र नितान्त आधुनिक फर्ममा देखिन्छ । चित्र अङ्कन पद्धतिमा पूर्व र पश्चिमको गजबको फ्युजन देखिन्छ । उनी मूलतः डिजाइनर थिए, अझ भन्नैपर्दा पेसागत रूपमा रोटी बनाउने राजकर्णिकार समुदायमा जन्मे–हुर्केका । विशेष गरेर नेवार समुदायमा लक्ष्मीपूजामा बनाइने चिनी–रोटीका रूपमा देवी लक्ष्मी, हात्ती आदि बनाइन्थ्यो । त्यसबाट उनी प्रभावित बन्न पुगेको देखिन्छ ।
- प्रदर्शित अन्य कला
यस कला प्रदर्शनीमा थुप्रै कलाकारले भाग लिएका छन् । सबैको उल्लेख गरेर साध्य छैन । यस आलेखमा केही नौला देखिएका कलागत प्रवृत्तिको चर्चा गरिनेछ ।
पछिल्लो समय, नेपाली समसामयिक कलामा युवा कलाकारले नितान्त नौलो सोच र ढङ्गले कला प्रस्तुत गर्न थालेका छन् । यस्ता कलालाई विशेष चर्चा गर्ने यस लेखको अभीष्ट पनि हो ।
सुरज शिल्पकार यस प्रदर्शनीमा खाइलाग्दा साना बच्चाका मूर्तिका लिए सहभागी भएका थिए । हेर्दा सामान्य मूर्ति लागे पनि उनको प्रस्तुतिको ढङ्ग नितान्त नौलो देखिन्छ । अलग–अलग पोस्चरमा विभिन्न खेलौनासँग खेल्दै गरेका बच्चा हेर्दै पनि स्वस्थ देखिन्छन् । कुनै चिन्ता–पिरबाट धेरै पर हँसिलो मिजासमा देखापरेका यी बच्चाका मूर्तिमा संरचनागत प्रस्तुति अलग्ग ढङ्गमा बन्न पुगेको देखिन्छ । स्वभावतः यसले भावकको मन त्यसै पनि आह्लादित गर्छ ।
धेरै कलाका प्रदर्शनीमा देखा परिरहने सुरजका यस्तायस्तै कला ‘मचाः खासा’ सिरिजका काम हुन् । भिन्दाभिन्दै पोज र जेस्चरका एकनासे साना मूर्ति एउटा विशेष अवधारणाका साथ देखा परेका छन् । रमाइलो बालापनको सम्झनामा उनले यी मूर्ति बनाएका हुन् । बाल्यकाल विनाचिन्तामा बित्छ तर ठुलो हुँदै गर्दा यी रमाइला क्षण मेटिँदै जाँदा रहेछन् भन्ने उनको ठम्याइ हो । रमाइलो बालापनलाई बचाइराख्न उनले यी कामलाई लामो सिरिजका रूपमा बनाइराखेका हुन् । अहिलेका युवा कलाकारले कलालाई कसरी कस्तो अवधारणाका साथ प्रस्तुत गर्छन् भन्ने उदाहरण हो, उनको यो सिरिज ।
स्विट्जरल्यान्डमा बसिरहेकी एउटी महिलाले रवीन्द्रको कला किनिन् र भनिन्, ‘अब यो कला मेरो भयो । रातो टिका लगाइदिनुहोला (कला बिक्री भएपछि रातो टिका लगाइने गरिन्छ) । यसमा अब कसैलाई ध्वनि बजाउन नदिनुहोला ।’
अर्का कलाकार सिद्धार्थ शाक्यको ‘समानान्तर’ नामक काम भिडियो आर्टको रूपमा छ । ‘प्रोजेक्सन अन डिमान्ड’को प्रक्रियामा आबद्ध यो उनको काम स्क्रिनमा देखिँदा फरक–फरक दृश्यमा देखिन्छन्; छिनछिनमा अनेक अमूर्त प्याटर्न परिवर्तन भई देखा पर्छन् । अमूर्त रूपमा देखा परेका यी बुट्टाले खास अर्थ दिन्छ कि दिँदैन थाहा छैन । तथापि भावकले यसलाई हेरिरहँदा रमाइलो महसुस गर्छन् ।
यो कला प्रदर्शनीमा सुदर्शन विक्रम राणा, श्रवण कुमार महर्जनदेखि डा. सीमा शाहका प्रिन्ट कलालाई पनि अवलोकन गर्न सकिन्छ । सुदर्शन राणा स्थापित मूर्तिकार हुन् भने सीमा शाह समसामयिक प्रिन्ट कलाको अग्रस्थानमा छन् । कलाकार उमाशंकर शाहकी पत्नी उनी भारतबाट नेपाल आएपछि नेपाली प्रिन्ट मेकिङ कलाले एउटा खास गति समातेको थियो ।
यसै प्रदर्शनीमा जीवन राजोपाध्यायका र किरण मानन्धरका आकारमूलक अमूर्त कलालाई पनि रसास्वादन गर्न सकिन्छ । किरणले आफ्नो पुरानो शैली लिएर आएका छन् । यस्तै, जीवनका काम आकारसहित यथार्थ हुँदै अमूर्ततामा समेत देखा परेका छन् । स्पष्ट हुँदै गर्दा पनि धुमिल हुँदै गरेका आकृतिलाई अमूर्ततामा समेट्ने उनको कोसिस देखिन्छ । वास्तवमा उनी अति राम्रा यथार्थवादी व्यक्तिचित्र र प्रभाववादी दृश्यचित्र बनाउने कलाकार हुन् । पछिल्ला केही वर्षदेखि रङका बहावका साथ अमूर्त कला बनाउँदै आएका उनको यसपल्टको कला थोरै नौलो संयोजनमा अलग्ग देखिन्छ ।
यस प्रदर्शनीमा स्व. प्रशान्त श्रेष्ठका पुराना चित्रलाई एक अलग्ग कोठामा सजाएर उनीप्रति श्रद्धासुमन अर्पण गरियो ।
यस्तै, कलाकार पूजा दुवालका ‘ग्लिम्प्स अफ होम’ सिरिजका दुईवटा चित्र पनि यहाँ देख्न सकिन्छ । सुशाङ्कले बनाएका सेरामिकका रङ्गीचङ्गी टाउकाहरू पनि यस प्रदर्शनीमा देख्न पाइयो, जुन राम्रो काम हो ।
सुधा थारुको ‘लिटिल बुद्ध’ अझ घतलाग्दो किसिमबाट देखियो । वुड माध्यमको यो बडेमानको कला गोलाकार रूपमा छ । बाएको ठुलो मुख नै यो कलाको आकर्षकको केन्द्रविन्दु हो । गहिरिएर हेर्दा मात्र यसमा स–साना आँखा र नाकले बुद्धको एक अर्कै रूपलाई पस्केको देखिन्छ ।
विभास राईको ‘कालचौड’ सुपर रियालिस्टिक फर्ममा बनेको छ । डिटेलमा मिहिनेतका साथ बनाइएका चरा र फूलको चित्र अति नै आकर्षक देखिन्छन् । शिल्प क्षमताले गर्दा पनि उनका चित्र सौन्दर्यताले वशीभूत देखिन्छन् ।
यसपल्ट कलाकारहरू प्रदीप वज्राचार्य, प्रमिला वज्राचार्य, भाइराजा महर्जन पनि आ–आफ्ना पुरानै शैलीमा देखा परेका छन् ।

मौलिक लिम्बुको ठुलो पोका लिएर उड्न खोज्दै गरेको चित्र अचम्मको संयोजनमा देखिन्छ भने आशा डंगोलको ‘हिमालयज म्याटर ः प्रिजर्भ देअर ब्युटी’ नामक तीनवटा अलग–अलग प्यानलमा बनेका चित्र व्यङ्ग्य बोकेर देखा परेका छन् । खानेपानीको मुहान, पर्यावरणको मूल श्रोत आदिलाई सम्बोधन गरेकाले पनि यो कला अलि अलग्ग देखिन्छ । मूलतः आशाले मिथकको प्रयोग गर्न रुचाउँछिन् । तथापि उनका चित्रमा फेन्टासी भरपूर मात्रामा रहेको हुन्छ । जनावर र मास्क लगाएको मान्छे आदिले सम्हाल्दै गरेका हिमालका टाकुरा अनौठो प्रकारले देखा पर्छन् ।
लोटसप्लान्टा चरा र घोडाबिचको मार्मिक कथालाई सम्हालेको सुन्दर लामाको कलाले भावकलाई निकै भावुक बनाउँछ । उनी राम्रो पर्फर्मेन्स कलाकार पनि हुन् ।
भुवन थापाको मूर्ति यो कला प्रदर्शनीको अर्को राम्रो काम हो । फाँसीमा झुन्डाएको प्रत्याभूति हुने यो उनको कामले भावकमा अनौठो प्रभाव दिन्छ । समसामयिक मूर्तिकलामा नौलो फर्ममा झन्डै दुई दशकदेखि निरन्तर काम गरिरहने कलाकारका रूपमा उनलाई चिनिन्छ । हरेकपल्ट नौलो रूपमा देखिनु उनको खास पहिचान हो ।
मनीषलाल श्रेष्ठले यसपल्ट १६ वटा स–साना तासका पत्तालाई कलागत रूपमा प्रस्तुत गरेका छन् । स–साना चिटिक्क परेका चित्र हेर्दाखेरि मूलतः तासका पत्ताजस्ता देखिन्छन् । दर्जनौँ कलागत सिरिजमा काम गर्दै आएका यी कलाकारले अहिले यो नयाँ सिरिजमा काम गर्दै छन् ।

कैलाश श्रेष्ठको ‘शपथग्रहण’ नामक काम यस प्रदर्शनीको अर्को आकर्षक काम हो । उनी समसामयिक राजनीतिक मुद्दामा काम गर्ने, चोटिलो प्रहार गरिरहने कलाकार हुन् । उनको कलामा कालो कोटमा सजिएका हजारौँ नागरिक (सम्भवतः सांसदहरू) ले शपथ खाँदै गरेको परिदृश्य देखिन्छ । उनी कलामार्फत शक्तिको नाटकीय समारोहप्रति व्यङ्ग्य गर्छन् । शपथका नाममा हजारौँ व्यक्तिले वितण्डा मच्चाउने वातावरण बन्दै–बनाउँदै गएको प्रति उनको दुखेसो र चासो छ । झट्ट हेर्दा उनको चित्रमा अमूर्ततामा हजारौँ सत्ताधारीहरू (शपथ लिएको अर्थमा) झुल्कन्छन्, बर्बादीको चरम विन्दुमा उक्लिएको प्रतिबिम्वका रूपमा ।
विजय महर्जनको ‘भेस्टिजेज’ नामक अमूर्त कला अर्को आकर्षक काम हो । चहकिलो सपाट रङमाथि टेक्चरमा खेलिबस्नु उनको गजबको संयोजन देखिन्छ । सपाट रङहरूमा मिठो स्वाद पस्कनु उनको खास विशेषता हो । पहिला उनी ‘सिटिस्केप’ थिममा यही सपाटपन बोकेर अमूर्त कला बनाउँथे । अमूर्त कलामा पनि यस्तायस्तै नयाँ ढर्राका साथ युवा कलाकार देखिनु अमूर्त कलाको पुनर्जन्मको सङ्केत पनि हो ।
विनोद प्रधानले आफ्नो पुरानै शैलीमा रङ्गीचङ्गी पहाडसँग खेल्दै चित्रको निर्माण गरेका छन् भने चन्द्रा श्रेष्ठले ‘ओसन अवेकेनिङ’ नामक चित्रमा समुद्रको अनेकानेक छालसँग अमूर्ततामा खेल्न खोजेको देखिन्छ ।
सन्दीप महर्जनको ‘तत्त्व’ नामक चित्रमा सानो निलो रङको डब्बाभित्र सेता ‘यःमरी’ (नेवारी खाना) देखिन्छन् । थोरै लोकगाथा, परम्परा र आधुनिक कलाको समिश्रणमा यो एउटा अनौठो कला बन्न पुगेको छ ।
मनीष धोजुको ‘मकरा’ नामक कृति नितान्त कलात्मक ढङ्गबाट देखिन आएको छ । लक्ष्मण भुजेलको ‘फ्रागमेन्टेसन’ नामक मूर्ति छ, जुन टुक्रिएका दुई शिला एक आपसमा समागम हुँदै सम्पूर्णमा देखा परेको छ । दुईवटा हो तर एउटै देखिनु पनि यो कलाको आफ्नै खुबी मान्नुपर्छ ।
राजन काफ्लेले ‘पोट्रेट अफ लाइफ’ नामक मूर्ति बनाएका छन् । जहाँ काठ र धातुको समायोजन अद्भुत देखिन्छ । देखिँदामा काठको फलेक उभिएजस्तो मात्रै देखिन्छ तथापि यसैमा मेटलका स–साना किरा–फट्याङ्ग्रा सलबलाउँदा यो कला स्वयंमा एक तमासको देखिन्छ ।

रवीन्द्र श्रेष्ठ यसपल्ट दुईवटा काम लिएर आएका छन् । दुईवटै काम अलग–अलग उद्देश्यका साथ देखा परेका छन् । एउटा छ, भित्तामा झुन्डिएको साधारण चित्र, जसलाई उनले अति डिटेलमा साना–मसिना सशक्त रेखा प्रयोग गरी वास्तुकला, काष्ठकला चित्रकलालाई समग्रमा प्रस्तुत गरेका छन् । जहाँ उनको शिल्प दक्षता अब्बल रूपमा देखा पर्छ । अर्को, उनले आफ्नै अलग्ग ब्रान्ड बनाइसकेको थम्बलाई ‘सिङगिङ बउल’मा प्रस्तुत गरेका छन् । दर्शक आउँछन्, यसलाई टाउको माथि घोप्टाएर ध्वनि निकाल्दै अनौठो मनोरञ्जन लिइरहेको देखिन्छ । यो उनको अत्याधुनिक काम हो । यो आम मान्छेको रमाइलोसँग जोडिने उनको कला एक अलग्गै पाराले देखापरेको छ । ‘पिस साउन्ड अफ कनेक्सन’ नामक यो उनको कलामा ठुलो धातुको बउलमा थम्ब अनि यसैमाथि रातो धर्का कोरिएको देखिन्छ । यस्तायस्तै थम्ब सिरिजका काम उनले दश वर्षदेखि गर्दै आइरहेका छन् ।
सबैभन्दा रमाइलो कुरा त यो रवीन्द्रको इन्स्टलेसन काम नेपालभन्दा हजारौँ माइल पर स्विट्जरल्यान्डमा बसिरहेकी एउटी महिलाले यो कला किनिन् । अनि भनिन्, ‘अब यो कला मेरो भयो । रातो टिका लगाइदिनुहोला (कला बिक्री भएपछि रातो टिका लगाइने गरिन्छ) । यसमा अब कसैलाई ध्वनि बजाउन नदिनुहोला ।’
उपयोगी वस्तुको रूपमा बेच्न राखिँदा मात्र यस कलालाई १० हजार रुपैयाँ पर्थ्यो । अहिले कलाको रूपमा राखिँदा यो कला ५० हजार रुपैयाँमा बिक्री भयो । नेपालमा यस्तो इन्स्टलेसन काम (यसलाई रेडिमेड वर्क पनि भन्ने चलन छ) बिक्री भएको पहिलोपल्ट हो । रेडिमेड वर्कमा बजारका कुनै पनि वस्तुलाई कला कक्षमा जस्ताको तस्तै अनि कलाकारका अवधारणाका साथ प्रस्तुत गरिन्छ ।
सङ्गी श्रेष्ठको ‘करुणा’ अर्को रमाइलो कलाको रूपमा देखापरेको छ । सक्षम श्रेष्ठको ‘कालभैरव’, प्रद्युम्नको ‘साङ्ग्रिला’, कृष्णगोपाल श्रेष्ठको ‘आर्कटाइप मारा विजया’ आदि चित्र पनि घतलाग्दा छन् ।
‘मेल्टिङ हिमालयज’ नामक चित्रमा रागिनी उपाध्याय स्वैरकाल्पनिकताको माध्यमबाट अद्भुतताको परिकल्पना गर्छिन् । सेतो हिमाल पग्लिएर माछा बन्दै मान्छे खाँदै वा फोहोर बन्दै गरेको देखिन्छ । अर्थात् आजको अवस्थालाई प्रस्तुत गर्ने उनको अभिलाषा देखिन्छ ।
उद्धवराज रिमाल पछिल्ला केही वर्षदेखि मानवको गहिरो भावनासँग खेल्दै अलग्ग प्रकारका कला संरचनामा व्यस्त हुँदै आएका छन् । यसपल्ट पनि यसैको अघिल्लो भागको रूपमा उनको काम देखा परेको छ । मानवीय अङ्ग–प्रत्यङ्गलाई विभत्स–करुणाले भरपूर बनाएर एउटा कथा लिएर उनको कला देखापर्छ ।
वाङ लामा अति विस्तारमा सरल रेखाबाट दृश्यचित्रका साथ देखा परेका छन् । यस्तै, विद्यामान तामाङ ‘माटोको मोल’ नामक शक्तिशाली इचिङ लिएर देखापरेका छन् । अहिलेका युवा कलाहरूमा राम्रो काम गर्ने थोरै कलाकारमध्ये उनी पनि एक हुन् । भ्यागुतालाई तास खेलिरहेको रूपमा प्रस्तुत गर्दा उनले कलागत शिल्प क्षमतालाई उच्च स्तरमा प्रयोग गरेका छन् । भ्यागुताकै राज भएजस्तो घर चलाइबसेको अवस्थालाई प्रस्तुत गरिएको छ ।
तिषा श्रेष्ठ ‘साइलेन्ट हिटी, रेम्नान्ट अफ हिटी’ नामक चित्रका साथ एक्वाइन्ट प्रिन्ट मेकिङ कलामा देखा परेकी छिन् । यस्तै, प्रशान्त श्रेष्ठको ‘द केज्ड गड’ अर्थात् ‘पिँजडामा थुनिएको भगवान्’ मूर्त रूपमा बनेको छ, तापनि बाहिर आउन याचना गरेको जस्तो देखिन्छ । अनिशा महर्जनको ‘गर्ल्स विथ ब्ल्याक रोज’, एरिनाको ‘शक्ति’, कुन्तीश्री थापा मगरको ‘क्रिएटिङ आइडेन्टिटी’— यी सबै महिलाकै विषयवस्तुमा बनेका छन् ।
कृशाले उपयोगी सामग्रीलाई समायोजन गरी समग्रको भाव आउने गरी स–साना चित्र बनाएकी छन् । यो एउटा लोभलाग्दो कला हो ।
अम्साद सुनवारको विन्दु–विन्दुमा देखिने अमूर्त कलालाई मोबाइलले फोटो खिची हेर्दा राम्रो र रमाइलो यथार्थ दृश्यचित्र देखिन्छ । यो अमूर्तता अनि यथार्थताको विम्बका रूपमा देखिन गएको कला प्रदर्शनीको अर्को आकर्षक चित्र हो ।
राजन पन्त आफ्नो पुरानै शैलीमा मधेसको कलरफुल दृश्यचित्रका साथ देखिन पुगेका छन् । विधाता केसीको ‘प्रेजेन्स इन स्टिलनेस’ नामक चित्र घरको भित्ताका साथ अमूर्ततामा देखा परेको छ ।
विनोद लिम्बुले पछिल्ला केही वर्षदेखि रातो, पहेँलो, निलो रङमा पहाडलाई अनौठो डेकोरेटिभ फर्ममा प्रस्तुत गर्छन् । अर्थात् पहाडमा कलात्मक बुट्टा सजाउने काम गर्दै आएका छन् । कल्पनामा सपना बुनेजस्तो देखिने उनका कलाहरू नितान्त पृथक् देखिन्छन् ।
सरिता डंगोलले यसपल्ट पनि आफ्नो पुरानै थिम खुर्सानीका साथ देखा परेकी छिन् । यस्तै, अजय उपरकोटी ‘सिलिन्डर’ नामक मूर्तिका साथ देखा परेका छन्, जसमा साधारण बुट्टा भरिएका पाइप देख्न सकिन्छ । रोशन बिकेको ‘कुमारी एन्ड भैरव’, शैली राणा विष्टको ‘इटरनल युनियन’ आदि पनि चाखलाग्दा कला हुन् ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण