आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

आमा–छोराका कृति एकैसाथ विमोचन

आइतबार, २२ भदौ २०८२, १९ : ४६
आइतबार, २२ भदौ २०८२

काठमाडौँ । पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा डा. अम्बिका अर्यालको 'बेचैन अभिलाषा' कवितासङ्ग्रह र अजब अनन्तको 'माइ लिटल विन्डो बालसंस्मरण एकैसाथ विमोचन भएको छ ।

वरिष्ठ साहित्यकार तथा समालोचक प्राडा गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा मदर क्यासल स्कुलका प्राचार्य भावना सुवेदी र ट्रुङरम इन्टरनेसनल एकेडेमीका पूर्वप्राचार्य लैला लामा शेर्पा, समीक्षक डा हेम भण्डारी र सुधा शर्माले आमा र छोराका दुई भिन्नाभिन्नै कृति विमोचन गरे ।

यस कार्यक्रममा कविताकृतिमाथि समालोचकद्वय डा हेम भण्डारी र सुधा शर्माले सङ्क्षिप्त समालोचकीय मन्तव्य राखे । डा हेम भण्डारीले 'बेचैन अभिलाषा' कवितामार्फत कवि अम्बिका अर्यालले प्रतिरोधी सङ्कथन निर्माण गरेको बताएका छन् । उनले कवि अर्यालले समकालीन नेपाली समाजको अनुहार निरीक्षण गर्न सफल भएको धारणा राखे । कवि अर्यालले नारीसमस्याको जरो खोतली त्यस्ता समस्या समाधानको उपाय प्रस्तुत गरेको धारणा समीक्षक भण्डारीले अघि सारेका छन् । उनले जीवन दर्शनको गम्भीर अनुभूति अर्यालका कवितामा व्यक्त भएको धारणा राखे । त्यस्तै समालोचक शर्माले यस कृतिमा नारी अस्तित्व, संस्कृति, प्रणय, राजनीति, चिन्तन, प्रकृति, कोरोनालगायतका विविध विषयका कविता रहेको विचार व्यक्त गरेकी छन् । 

viber_image_2025-09-07_19-53-00-882

प्राचार्य भावना सुवेदीले अजबको विद्यालय जीवनको शुभारम्भ कालको स्मृतिलाई ताजा गर्नुभएको छ । बाल्यकालीन स्मृतिलाई अजबले लेखेर विद्यालय र त्यहाँका शिक्षकहरूलाई पनि जीवन्त बनाएकामा खुसी व्यक्त गरे । त्यस्तै लैला लामा शेर्पाले उहाँको विद्यालयमा कक्षा चारमा भर्ना हुन गएका बाल–लेखक अजबलाई शुभकामना व्यक्त  गरेकी छन् । 

डा. गोविन्दराज भट्टराईले सानो उमेरमा यसरी लेख्न सक्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा भएको र त्यसमा पनि अजबको लेखन शैली आकर्षक रहेको भन्दै प्रशंसा गरे । अभिभावक एवम् गुरुप्रतिको बच्चाहरूको दृष्टिकोण बुझ्नमा लागि यो कृति उपयोगी रहेको विचार व्यक्त गरेका छन् । 

दश वर्षको उमेरमा पहिलो कृति प्रकाशन गरेका लेखक अजब अनन्तले यो कृति आमाबाबाको प्रेरणा र उहाँहरूका प्रकाशित कृतिका लहरमा आफ्नो कृति पनि राख्ने चाहनाले यो कृति लेखेको कुरा बताएका छन् । उनले यसमा आफू, आफ्नो परिवार, आफन्त, विद्यालय, शिक्षक, साथी, घुम्न गएका स्थान आदि विभिन्न विषयका निजी अनुभूति अभिव्यक्त गरेको बताए । उनको यो कृति अङ्ग्रेजी भाषामा प्रकाशित छ । यसअघि पनि उनका केही कथा र कविता विभिन्न पत्रपत्रिकामा प्रकाशति छन् । उनी ट्रुङरम इन्टरनेसनल एकेडेमी, हात्तीगौँडामा कक्षा सातमा अध्ययनरत छन् । 

अम्बिका अर्यालको समग्रमा यो पन्ध्रौँ कृति भए पनि कवितासङ्ग्रहका रूपमा पहिलो हो । यसअघि उनका उपन्यास, मुक्तकसङ्ग्रह, समालोचनालगायत कृति प्रकाशित छन् । उनका फुटकर कविता विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित हुँदैआएको छ । उनी त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पस, नेपाली विभागका प्रमुख पनि हुन् । 

'बेचैन अभिलाषा' कवितासङ्ग्रह सङ्गम बुक्स, काठमाडौँ रमाइ लिटल विन्डो कृति पेजटर्नर प्रालि काठमाडौँबाट प्रकाशित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप