बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जेनजीको प्रदर्शन

सडकमा जेन जी : ‘यो सानो झिल्को हो, पहिलो पाइला सुरु भयो’

सोमबार, २३ भदौ २०८२, १४ : ५७
सोमबार, २३ भदौ २०८२

सारांश

  • जेन जी पुस्ताले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गर्दै देशव्यापी प्रदर्शन गरेको छ।
  • प्रदर्शनकारीहरूले भ्रष्टाचार अन्त्य, सुशासन र विधिको शासन कायम गर्न माग गरेका छन्, र मौलिक हकको हनन भएकोमा चिन्ता व्यक्त गरेका छन्।
  • युवाहरूले शान्तिपूर्ण र संविधानसम्मत तरिकाले भेला गर्ने निर्णय गर्दै, परिवर्तनको पहिलो पाइला भएको दाबी गरेका छन्।

विराटनगर । जेनेरेसन जेड अर्थात् ‘जेन जी’ पुस्ता अहिलेको राजनीतिप्रति वाक्क–दिक्क छ । त्यही दिक्कलाग्दो अवस्थालाई बदल्ने भावनाका साथ ‘जेन जी’ पुस्ताले सोमबार देशव्यापी प्रदर्शन गरेका छन् ।

वर्तमान सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि झनै रिसाएको यो पुस्ताले उक्त निर्णय खारेज गर्नुपर्ने र भ्रष्टाचार रोक्नु पर्ने मुख्य माग गरेको छ । ‘जेन जी’ पुस्ताले जनआन्दोलन २ को झल्को दिने गरी यत्रो आन्दोलन कसरी गरे ? के उनीहरू कुन नेटवर्क प्रयोग गरिरहेका छन् ? उनीहरूको नेतृत्व को हो ? यो विषय अहिलेसम्म अन्योल नै छ ।

Zen Z (4)

काठमाडौँमा भएको आन्दोलनको आह्वान दुई दिन अगाडिमात्रै गरेका थिए । उनीहरूले सामाजिक सञ्जाल ‘टिकटक’लाई अत्यधिक प्रयोग गरे । त्यसका साथै रेडिट र डिस्कर्डलगायतका नेटवर्क पनि प्रयोग भयो । सामाजिक सञ्जाल फेसबुकलाई पनि उनीहरूले प्रयोग गरे, तर स्वतःस्फूर्त उनीहरू प्रदर्शनमा सहभागी बने ।

सोमबार काठमाडौँ, पोखरा, बुटबल, विराटनगर, इटहरी, विर्तामोड, दमकमात्रै होइन, सानातिना सहरहरूमा पनि यो खाले प्रदर्शन स्वतःस्फूर्त भएका छन् ।

विराटनगरमा आयोजित शान्तिपूर्ण भेलाले सरकारका नीति र कार्यशैलीप्रति कडा प्रश्न उठाएको छ । ‘हामी सबै आफैँमा लिडर हौँ,’ आन्दोलनमा भेटिएका जेनजी पुस्ता प्रचण्ड किरणले भने । यो कार्यक्रम काठमाडौँमा भइरहेको जेन जीको प्रदर्शनलाई समर्थन गर्दै आयोजना गरिएको उनले बताए ।

Zen Z (6)

‘यो एउटा झिल्को हो,’ उनले भने, ‘हामीले पुरानो शैली त्यागेर शान्तिपूर्ण र संविधानसम्मत तरिकाले भेला गर्ने निर्णय गरेका हौँ ।’

उनले सरकारका मन्त्रीहरूले सामाजिक सञ्जाल प्रयोग गर्ने तर नागरिकले नगर्ने भन्ने कुरा गलत भएको भन्दै युवाहरूले भीपीएन र सञ्जालमार्फत समन्वय गरेको बताए ।

अर्का सहभागी विशाल कटवालले देशमा भ्रष्टाचार अन्त्य, सुशासन र विधिको शासन कायम हुनुपर्ने आफ्नो मुख्य माग रहेको बताए । उनले भने, ‘हाम्रो चाहना देशमा भ्रष्टाचार अन्त्य होस्, सुशासन र विधिको शासन कायम होस् । देशमा संवैधानिक सर्वोच्चता कायम रहनुपर्छ । अन्यायमा परेकाले न्याय पाउनुपर्छ र जनताले पाउनुपर्ने मौलिक हकहरूको हनन हुनु हुँदैन भन्ने हो ।’

सरकारले संविधानमा मौलिक हकको रूपमा राखेको व्यवस्था पूर्ण लागु हुनुपर्ने उनको भनाइ छ ।

Zen Z (2)

आगमन नेपाल कानुनका विद्यार्थी हुन् । उनलाई के गर्ने, के नगर्ने र कानुनमा के छ भन्ने कुरा थाहा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको चेतावनीको जबाफमा उनले भने, ‘हामी कानुनकै विद्यार्थी हौँ । सरकारले कानुन उल्लङ्घन गरे कारबाही गर्ने चेतावनी दिएको छ । संविधानले नै शान्तिपूर्वक भेला हुने स्वतन्त्रता दिएको छ ।’

उनले राज्यबाटै संविधान उल्लङ्घन भइरहेको आरोप लगाउँदै दुई–दुई पटक संसद विघटन हुनु यसको प्रमाण भएको जिकिर गरे ।

नेपालले परिवर्तन सानो पाइलाबाटै सुरु हुने बताउँदै यो प्रदर्शन पनि त्यही पहिलो पाइला भएको दाबी गरे । ‘तपाईं आन्दोलन र प्रदर्शनमा जाँदा परिवारले रोक्दैन ?’ भन्ने प्रश्नमा उनले भने, ‘परिवारले रोक्न खोज्नु स्वाभाविक हो, तर आफ्नो भविष्यका लागि हामी आफैँ लड्नुपर्छ । विगतका क्रान्तिमा पनि यस्तै भएको थियो ।’

Zen Z (1)

देशमा बढ्दो भ्रष्टाचार र पढेलेखेका युवाहरूले पनि रोजगार नपाउने अवस्थाले आफूहरू सडकमा आउन बाध्य भएको दिपक यादवले बताए । परिवर्तनको आशा बोकेर सडकमा आएका युवाहरू आफ्नो भविष्यका लागि लड्नुपर्ने बताउँछन् ।

उनीहरूले विगतका क्रान्ति र परिवर्तनका आन्दोलनहरूको दृष्टान्त दिँदै आफ्नो आन्दोलनलाई परिवर्तनको पहिलो पाइलाका रूपमा परिभाषित गरेका छन् । 

Zen Z (5)Zen Z (3)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप