बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

रास्वपाले माग्यो प्रधानमन्त्रीकाे राजीनामासँगै ‘अर्ली इलेक्सन’

सोमबार, २३ भदौ २०८२, १८ : ४६
सोमबार, २३ भदौ २०८२

सारांश

  • रास्वपाले मध्यावधि निर्वाचनको माग गरेको छ।
  • जेनजी पुस्ताको प्रदर्शनमा १७ जनाको मृत्यु भएपछि रास्वपाले सरकारको बर्खास्तीको माग गरेको हो।
  • रास्वपाले वर्तमान सरकारको औचित्य समाप्त भएको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले ‘अर्ली इलेक्सन’को माग गरेको छ । सोमबार रास्वपाले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘अर्ली इलेक्सन’को माग गरेको हो । 

सोमबार जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनमा १७ जनाको मत्युभएपछि रास्वपाले एमाले कांग्रेस सरकारको बर्खास्ती र ताजा जनादेश(अर्ली इलेक्सन) को माग गरेको हो । 

देशमा व्याप्त भ्रष्टाचार, कानुनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ,विज्ञप्तिमा भनिएको छ ।

निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको घोर निन्दाका साथै चेतावनी दिँदै रास्वपाले भनेको छ, 'आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन्  र यो आततायी शासनको जनप्रतिवाद हुनेछ ।'

वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा समेत माग गरेको छ । साथै घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग समेत गरेको छ । 

नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान सङ्घीय संसद्ले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेशको माग रास्वपाले गरेको हो । 

सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था गर्न माग समेत गरेको छ ।  

viber_image_2025-09-08_18-44-47-334

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप