धनगढीमा सरकारविरुद्ध जेनजीको आक्रोश : गणतन्त्रका नाममा लुटतन्त्र मच्चाइयो
सारांश
- युवा पुस्ताले भ्रष्टाचार, बेथिति र अभिव्यक्ति स्वतन्त्रताको हननको विरोध गर्दै धनगढीमा प्रदर्शन गरेका छन्।
- प्रदर्शनकारीहरूले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गर्दै भ्रष्ट प्रणाली अन्त्यको माग गरेका छन्।
- युवाहरूले नेताहरूले देशमा लुटतन्त्र चलाएको र युवाहरूलाई विदेश जान बाध्य पारेको आरोप लगाएका छन्।
धनगढी । मुलुकमा बढ्दो भ्रष्टाचार, बेथिति र सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको भन्दै जेनेरेसन जी (जेनजी) पुस्ताले सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पनि सशक्त प्रदर्शन गरेको छ ।
सोमबार युवाहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर सङ्घीय तथा प्रदेश सरकारविरुद्ध चर्को नाराबाजी गरेका हुन् ।
’गणतन्त्र र समाजवादका नाममा लुटतन्त्र’ चलाइएको भन्दै आक्रोशित युवाहरूले प्रधानमन्त्री र मुख्यमन्त्री विरुद्ध नाराबाजी गर्दै तत्काल भ्रष्ट प्रणाली अन्त्यको माग गरेका छन् ।
कुनै राजनीतिक दलको ब्यानर बिना स्वतन्त्र रूपमा सडकमा उत्रिएका उनीहरूले देशमा नेता र तिनका आसेपासेले राज्यको दोहन गरेको र युवाहरूलाई बिदेसिन बाध्य पारेको आरोप लगाएका छन्।
प्रदर्शनको मुख्य कारणहरूमध्ये एक सरकारले हालै गरेको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पनि हो ।भ्रष्टाचारका काण्डहरू बाहिर आउन थालेपछि नागरिकको आवाज दबाउन सरकारले यस्तो कदम चालेको प्रदर्शनकारीहरूको आरोप छ ।
भ्रष्टाचार विरुद्धका अनेक काण्ड बाहिर आउन थालेपछि नागरिकको आवाज रोक्न सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो,’ कैलालीको बौनियाका वसन्त राज जैसीले भने, 'हामी सरकारमा बसेर गरिने अत्याचार र बेथितिलाई हेरेर बस्ने पक्षमा छैनौँ।’ बैतडीको पाटनका युवा राजेश चन्दले सरकारले सामाजिक सञ्जाल बन्दको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरे ।
'सरकारले सामाजिक सञ्जाल बन्द गरेर जनताको आवाज थुन्न खोजेको छ,’ उनले भने, 'भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा सरकारले जनताको आवाज थुन्ने बाटो समातेको छ ।’
प्रदर्शनमा सहभागी युवाहरूले देशका नेताहरू भ्रष्ट भएको र उनीहरूले आफ्ना र आफ्ना मान्छेका लागि मात्र अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन्। 'नेताहरूले आफ्ना सन्तानका लागि मात्रै धन आर्जन गर्ने काम गरे,’ आन्दोलनमा भेटिएकी उषा मालाकारले आक्रोश पोखिन् ।
नेताहरूले युवाहरूलाई विदेश लखेट्ने वातावरण बनाएको भन्दै उनीहरूले समग्र राजनीतिक प्रणालीप्रति नै असन्तुष्टि व्यक्त गरेका छन्। बझाङका प्रकाशकुमार ढाँटले नेताहरूले गणतन्त्र र समाजवादको नाममा ’लुटतन्त्र’ चलाएको टिप्पणी गरे।
'देशमा अहिले गणतन्त्र र समाजवादको नाममा लुट्ने काम भएको छ। युवाहरूले देशमा बसेर काम गर्ने अवस्था छैन,’ उनले भने, ’अहिलेकै अवस्थामा सरकारमा जो आए पनि भ्रष्टाचार नियन्त्रण हुँदैन। सिस्टम नै भ्रष्ट भयो।’
यो भावना प्रदर्शनमा सहभागी अधिकांश युवाको थियो। विद्यालयको पोसाकमै रहेका ’समन्वय’ नामका एक युवाले पनि भ्रष्टाचार विरुद्ध सबैले आवाज उठाउनुपर्ने र सरकारका गलत कदम विरुद्ध खबरदारी गर्नुपर्ने बताए। प्रदर्शन अहिले तत्कालको आक्रोश मात्र नभएर भविष्यको राजनीतिक परिवर्तनको सङ्केत पनि भएको युवाहरूले बताएका छन् ।
उनीहरूले पुराना राजनीतिक दलहरूलाई आगामी निर्वाचनमा जवाफ दिने चेतावनी दिएका छन्। 'सरकार र पुराना दलहरूले अत्याचार गरे अब युवाहरूले देशको नेतृत्व गर्नुपर्छ,’ राजेश चन्दले भने, ’हामीले यी पार्टीहरूलाई २०८४ मा हिसाब गर्ने र स्वतन्त्र युवाहरूले सत्तामा आउनुपर्ने कुरा सोच्न थालेका छौँ।’ सोमवार धनगढीका दुई स्थानमा भएको प्रदर्शन शान्तिपूर्ण रहेको थियो ।
युवाहरूको यो स्वतन्त्र र सङ्गठित आन्दोलनले देशव्यापी रूपमा भ्रष्टाचार र कुशासनविरुद्ध एक नयाँ उभार ल्याएको देखिन्छ, जसले स्थापित राजनीतिक शक्तिलाई गम्भीर चुनौती दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण