जेनजी आन्दोलनलाई समर्थन गर्दै अवार्डको मिति परिवर्तन
काठमाडौं । भ्रष्टाचार, नातावाद र बेथितिको विरोधमा जेनजी पुस्ताद्वारा थालिएको शान्तिपूर्ण आन्दोलनप्रति समर्थन जनाउँदै INFAA Awards 2025 कार्यक्रम स्थगित भएको छ।
यसअघि सेप्टेम्बर १३, २०२५ मा युकेमा आयोजना हुने तय भएको कार्यक्रम अब नोभेम्बर १, २०२५ मा हुने भएको आयोजक टिमले जनाएको छ। आन्दोलनका क्रममा सरकारले गरेको दमन, बल प्रयोग र धरपकडका कारण १९ नागरिकको ज्यान गइसकेको र सयौं युवाहरू घाइते भएको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै मिति परिवर्तन गरिएको हो।
अवार्डका चिफ कोर्डिनेटर मनिष कार्कीले कार्यक्रम स्थगनबारे जानकारी दिँदै भने, 'हामी सबै कलाकार, प्रायोजक र दर्शकलाई यो निर्णयका लागि धन्यवाद दिन चाहन्छौं। तपाईंहरूले यो निर्णयलाई बुझ्ने र नयाँ मितिमा हामीसँगै रहने विश्वास लिएका छौं।'
आयोजक टिमले शान्तिपूर्ण आन्दोलनसँग ऐक्यबद्धता जनाउँदै सरकारद्वारा गरिएको अनावश्यक बल प्रयोगको निन्दा गरेको छ। कार्कीका अनुसार, 'देशको आवाजलाई सम्मान गर्नु नै अहिलेको प्रमुख कर्तव्य हो।'
नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र कलाकारहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुने यस कार्यक्रमले शान्ति, न्याय, समानता र उत्तरदायित्वको सन्देश दिन लक्ष्य लिएको छ।
आयोजकहरूले युकेस्थित प्रायोजक र दर्शकलाई मितिको परिवर्तनका कारण पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै नयाँ मितिमा कार्यक्रमलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गरेका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण