शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

नेपाल चेम्बर अफ कमर्सद्वारा संवाद र सहकार्यमा जोड

बिहीबार, २६ भदौ २०८२, १४ : ५६
बिहीबार, २६ भदौ २०८२

सारांश

  • नेपाल चेम्बर अफ कमर्सले आन्दोलनबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ।
  • चेम्बरले संवाद, सहकार्य र संयम अपनाउन सरोकारवाला निकायहरुलाई आग्रह गरेको छ।
  • चेम्बरले युवा पुस्तासँग संवाद र रचनात्मक सहकार्यको माध्यमबाट समाधान खोज्न आह्वान गरेको छ।

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा भएको ठुलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चेम्बरले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

आन्दोलनका क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति भएको उल्लेख गर्दै चेम्बरले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संवाद, सहकार्य र संयम अपनाउन सरोकारवाला निकायहरूको गम्भीर ध्यानाकर्षण गराएको छ । 

भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रको पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँच जस्ता जेनजीले उठाएका विषयहरूलाई सबै सरोकारवालाले गम्भीरतापूर्वक लिनुपर्ने आजको आवश्यकता देखिएको चेम्बरले औँल्याएको छ  ।

आन्दोलनका क्रममा भएको जनधनको ठुलो क्षतिले देशमा थप निराशा फैलाउने, औद्योगिक तथा व्यावसायिक वातावरण खलबल्याउने र लगानीमैत्री वातावरणमा प्रतिकूल असर पार्ने भएकाले सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।

आगामी दिनमा यस्ता खाले घटना दोहोरिन नदिन सरोकारवाला पक्ष र जेनजी पुस्ताका युवाहरूलाई संवाद र रचनात्मक सहकार्यमार्फत दीर्घकालीन समाधान खोज्न चेम्बरले आह्वान गरेको छ । 

साथै, मुलुकको समग्र विकासमा सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा समेत चेम्बरले व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप