बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विवेकशील साझाले भन्यो - सुशीला कार्कीको नेतृत्वमा अन्तरिम नागरिक सरकार गठन गरियोस्

बिहीबार, २६ भदौ २०८२, २१ : ०५
बिहीबार, २६ भदौ २०८२

सारांश

  • विवेकशील साझा पार्टीले सुशीला कार्कीको नेतृत्वमा अन्तरिम नागरिक सरकार गठनको प्रस्ताव गरेको छ।
  • पार्टीले जेनजी आन्दोलनमा युवाहरूको हत्याको भर्त्सना गर्दै तत्कालिन सरकारलाई कारबाहीको माग गरेको छ।
  • पार्टीले मुलुकलाई राजनीतिक संकटबाट निकाल्न सुशीला कार्कीको नेतृत्वमा चुनाव गराउन आह्वान गरेको छ।

काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनमा भएको बर्बर दमन र त्यसपछिको राजनीतिक गत्यावरोध अन्त्य गर्न विवेकशील साझा पार्टीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम नागरिक सरकार गठन गर्न प्रस्ताव गरेको छ ।

पार्टीले राष्ट्रपतिलाई जेनजी आन्दोलनको जनादेश र संविधानको मर्मलाई आत्मसात गर्दै यस्तो सरकार गठनका लागि आह्वान गर्न बिहीबार अपील गरेको हो । 

पार्टीले गत २३ गते भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी निर्णयविरुद्ध भएको जेनजी आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको सरकारले १९ जनाभन्दा बढी युवाहरूको हत्या गरेको घटनालाई अत्यन्त बर्बर र निर्संस भन्दै गम्भीर भर्त्सना गरेको छ ।

युवाहरूको हत्यापछि पनि सरकारले राजीनामा नदिएको र त्यसको फाइदा उठाउँदै विभिन्न अराजक तत्त्वबाट मुलुकका प्रमुख राजकीय कार्यालयहरूमा आगजनी, तोडफोड र विध्वंस भएको भन्दै मुलुक अहिले संसद् विघटनसहितको गम्भीर राजनीतिक संकटमा फसेको जनाएको छ । 

सुशीला कार्कीलाई नेतृत्वका लागि सर्वोत्तम ठहर

विवेकशील साझाले यो विषम परिस्थितिबाट मुलुकलाई निकास दिन सुशीला कार्कीलाई अन्तरिम नागरिक चुनावी सरकारको नेतृत्वका लागि सर्वोत्तम ठहर गरेको छ ।

पार्टीले कार्कीलाई निष्कलंक, इमानदार, ख्यातिप्राप्त नागरिक अगुवा, न्याय र निष्ठाकी प्रतीक, लोकतान्त्रिक गणतन्त्रप्रति पूर्णप्रतिबद्ध, भ्रष्टाचारविरोधी वकालतकर्ता र संविधानको मर्मलाई शिरोपर गरेकी पूर्वप्रधानन्यायाधीशको रूपमा प्रस्तुत गरेको छ । उनको नेतृत्वमा अन्तरिम नागरिक चुनावी सरकार गठन गर्दा सहज राजनीतिक निकास हुनेमा पार्टीले विश्वास व्यक्त गरेको छ । 

१) जेनजी आन्दोलनको जनादेश संविधानको मर्म र भावनालाई अपनत्व गर्दै नेपालको राष्ट्रपतिवाट अन्तरिम चुनावी नागरिक सरकार गठनका लागि आब्हान गर्न अपील गरियोस।

२) अन्तरिम नागरिक चुनावी सरकारको नेतृत्वका लागि सुशीला कार्की सर्वोत्तम हो भन्ने हाम्रो ठहर। विवेकशील साझा पार्टी आन्दोलनरत जेनजीको प्रस्ताव समेतलाई आत्मसात गर्दै,निष्कलंक,ईमानदार,ख्यातीप्राप्त नागरिक अगुवा, न्याय र निष्ठाकी प्रतिकको गोैरवशाली परिचय वनाएकी,लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिवद्ध, भ्रष्टाचार विरोधी वकालतकर्ता, संविधानको मर्मलाई शिरोपर गरेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम नागरिक चुनावी सरकारको गठन गर्दा सहज राजनीतिक निकास हुन्छ भन्नेमा विश्वास व्यक्त गर्दै प्रस्ताव गर्दछ।

३) विवेकशील साझा पार्टी अब बन्ने अन्तरिम सरकारसंग चुनावी कार्यभारसंगै लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिवद्धताको सुनिश्चिततालाई अग्रभागमा राख्दै जन आन्दोलनको जगमा संवैधानिक रुपमा लिपिबद्ध अधिकारहरुलाई कुनै पनि संकुचन गर्ने कार्यलाई स्विकार्दैन, त्यसका लागि रचनात्मक खबरदारी गरिरहने स्पष्ट पार्दछोैँ।

४) जुनसुकै विषम परिस्थितिको वावजुद पनि मुलुकलाई सैनिक शासनमा धकेल्ने प्रयास, चलखेल र नियत विरुद्ध विवेकशील साझा पार्टी प्रष्ट विपक्षमा रहेकाछोैँ।

५) भाद्र २३ गते जेनजी आन्दोलनमाथि बर्बर दमन गरी हत्या गर्ने सुरक्षाकर्मी,कमाण्डर र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लगायत सम्बद्ध सबैलाई हदै सम्मको कार्बाही गर्न उच्च स्तरीय छानविन आयोग गठनको माग राख्दछोैँ। यसैगरी भाद्र २४ गते योजनाबद्ध रुपमा मुलुकका प्रमुख राजकीय भवन,सार्वजनिक सम्पत्ति, सञ्चार प्रतिष्ठान, ब्यवसायिक प्रतिष्ठान लगायतमा तोडफोड,आगजानी र लुटपाटमा संलग्नहरुको छानविन गरी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछोैँ।

६) हामीले वर्षोैँ अघि देखि उठाएको २०४६ साल पछिका उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी र राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरुको सम्पत्ति छानविन गरी अनधिकृत सम्पत्ति राष्ट्रियकरण गर्न उच्च स्तरीय स्वतन्त्र आयोग गठनको माग गर्दछोैँ।

७) जेनजी आन्दोलनको भोलि पल्ट विभिन्न जेलहरुवाट भागेका र योजनावद्ध भगाईएका १३ हजार भन्दा बढी , बलात्कार,हत्या,भ्रष्टाचार र ठगी जस्ता अपराधमा संलग्न कैदीबन्दी, थुनुवाहरुलाई पुन: पक्राउ गरी कानुनको दायरामा ल्याउन विशेष संयन्त्र वनाई प्रभावकारी कार्यान्वयनका लागि माग गर्दछोैँ। अन्त्यमा फेरिपनि नवयुवा पुस्ताको शान्तिपूर्ण आन्दोलनमा सहादत प्राप्त गरेका होनहार नेपाली सपूतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार जनमा गहिरो समवेदना प्रकट गर्दछोैँ। घाईते,अंगभंग भएका योद्धाहरुप्रती सम्मान सहित शिघ्र स्वास्थ्यलाभको कामना र वेपत्ताहरुको तदरुकताका साथ खोजविनका लागि अपिल गर्दछोैँ। राष्ट्रिय संकटमा सदाझैँ सार्वभोैमसत्ता र स्वाधीनतालाई केन्द्रभागमा राखेर प्रदर्शन गरिदैँ आईएको संयमता,एकता,सामाजिक सद्भाव र सहिष्णुताको अभ्यासमा जुट्न सम्पूर्ण नेपालीजनमा हार्दिक अपिल गर्दछोैँ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप