भैरव पुरस्कार कार्यक्रम स्थगित
सारांश
- २०८२ सालको भैरव पुरस्कार अर्पण कार्यक्रम मुलुकको विषम परिस्थितिका कारण स्थगित गरियो।
- भैरव पुरस्कार गुठीले असोज ३ गते तीन विशिष्ट स्रष्टाहरूलाई पुरस्कार अर्पण गर्ने घोषणा गरेको थियो।
- वरिष्ठ हास्य व्यङ्ग्यकार कृष्ण प्रधान, चित्रकार हरिप्रसाद शर्मा र विवश पोखरेललाई पुरस्कार प्रदान गरिनेछ।
काठमाडौँ । मुलुकको विषम परिस्थितिका कारण २०८२ सालको पूर्व निर्धारित भैरव पुरस्कार अर्पण कार्यक्रम हाललाई स्थगित गरिएको छ । भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेले शुक्रवार एक विज्ञप्ति जारी गर्दै आगामी असोज तीन गतेका लागि तय गरिएको भैरव पुरस्कार अर्पण कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिएका हुन् ।
मुलुकको स्थिति सहज भएपछि उपयुक्त मितिमा पुरस्कार अर्पण गरिने विज्ञप्तिमा उल्लेख छ । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले आगामी असोज तीनमा तीन विशिष्ट स्रष्टाहरूलाई समर्पण गर्ने घोषणा गरेको थियो ।
जसअनुसार १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशि रहेको २०८२ सालको भैरव पुरस्कार भारत—सिलगुढी निवासी वरिष्ठ हास्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई, त्यस्तै १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई र ५१ हजार १ सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गर्ने घोषणा गुठीले गरेको थियो ।
पुरस्कार प्राप्तिकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्वय नरेन्द्रराज पौडेल र प्रह्लाद पोखरेल सदस्य रहनु भएको चयन समिति गठन गरेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण