बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मौलाकाली केबलकारमा तोडफोड, पुनः सञ्चालनको प्रतिबद्धता

शनिबार, २८ भदौ २०८२, १६ : ५४
शनिबार, २८ भदौ २०८२

सारांश

  • नवलपुरको गैँडाकोटमा जेनजी आन्दोलनको क्रममा मौलाकाली केबलकारमा तोडफोड र आगजनीबाट क्षति पुगेको छ।
  • केबलकार व्यवस्थापनले यो राष्ट्रिय सम्पत्ति भएको र यसबाट स्थानीय र पर्यटन क्षेत्रलाई असर परेको जनाएको छ।
  • कम्पनीले छिट्टै सेवा सुचारु गर्ने र पर्यटन प्रवर्द्धनमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।

नवलपुर । हालैको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट नवलपुरको गैँडाकोटमा रहेको मौलाकाली केबलकारमा ठुलो क्षति पुगेको छ। केबलकार व्यवस्थापनले एक विज्ञप्ति जारी गर्दै  मौलाकाली केबलकार कुनै व्यक्तिगत सम्पत्ति नभई हजारौँ स्थानीय सेयर धनीहरूको संयुक्त लगानीबाट निर्मित राष्ट्रिय सम्पत्ति भएको स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यो गैँडाकोट र नवलपुरको पहिचान, पवित्र भूमि देवघाटको शिर, नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको गण्डकी क्षेत्रकै साझा गौरव हो।’

यस घटनाबाट केवल लगानीकर्ताहरू मात्र नभई गैँडाकोट र चितवनका स्थानीय बासिन्दा, कर्मचारी र समग्र पर्यटन क्षेत्रलाई गहिरो पीडा पुगेको कम्पनीले बताएको छ। यद्यपि, कम्पनीले आफ्नो सपना र अठोट नटुटेको भन्दै सबैलाई हातेमालो गरेर पर्यटन क्षेत्रलाई अगाडि बढाउने सङ्कल्प गरेको छ। व्यवस्थापनले छिट्टै सेवा सुचारु गर्ने र अझ गुणस्तरीय सेवा प्रदान गर्दै नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

यस कठिन घडीमा सहयोग गर्ने सुरक्षाकर्मी, स्थानीय समुदाय र कर्मचारीहरूप्रति कम्पनीले हार्दिक आभार व्यक्त गरेको छ। साथै, आगामी दिनमा स्थानीय समुदायको निरन्तर सहयोग र सुरक्षाका लागि सम्बन्धित निकायसँग विशेष आग्रहसमेत गरिएको छ।

आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप