जेनजी आन्दोलनमा जसले जोगाए ४ करोड नगद !
सारांश
- विराटनगरमा जेनजी विद्रोहका क्रममा कर्मचारी र युवाहरूको सक्रियताले करोडौंको धनमाल क्षति हुनबाट जोगियो।
- विराटनगर भन्सार कार्यालयका कर्मचारीको चलाखीले चार करोड रुपैयाँ राजस्व जोगियो।
- प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र वीरेन्द्र सभागृह जस्ता संरचनाहरू पनि कर्मचारी र युवाको प्रयासले जोगाइयो।
विराटनगर । देशभर जेनजी विद्रोहका क्रममा भएको ध्वंस र लुटपाटका समाचारहरू प्रकाशित छन् । तर, कतिपय स्थानमा भने कर्मचारीहरूको सुझबुझ र आन्दोलनकारी केही युवाका कारण करोडौँ नगद र भौतिक संरचना क्षति हुनबाट जोगिएको छ ।
त्यस्तै एउटा सकारात्मक समाचार छ, विराटनगर भन्सार कार्यालयबाट । त्यहाँका केही कर्मचारीको चलाखीका कारण भन्सार राजस्व सङ्कलन भएको चार करोड रुपैयाँ नगद जोगिएको छ ।
विराटनगर भन्सार परिसरको आईसीपी हाताभित्र राष्ट्रिय वाणिज्य बैंक छ । जेनजीको आन्दोलनका नाममा उत्तेजित भिड भन्सार परिसरमा प्रवेश गर्यो, गेटमा आगजनी गरेर फर्कियो । त्यो भिड फर्कने बित्तिकै अर्को हुलले बैंक पनि रहेको कुराकानी गर्न थाले । त्यो कुरा बैंकका प्रबन्धक प्रवेश खड्गीले सुने ।
त्यो सुनेका प्रबन्धक खड्गी क्यासियर हरि साह साथमै लिएर बैंकको काउन्टरतिर गए । तत्कालै राष्ट्रिय वाणिज्य बैंकको रानीशाखाबाट भ्यान बोलाएर भएको सबै रकम तीनवटा बोरामा हालेर भ्यानमा राखे अनि भ्यानको अघिपछि मोटरसाइकलले स्कर्टिङ गर्दै रानी शाखा पुर्याए ।
रकम रानी शाखा पुगेको केही मिनेटमै १५–२० जनाको समूह बैंकको काउन्टरभित्र छिरे र भल्टलाई रडले हानेर फुटाए । तर रकम नभेटेपछि उनीहरू भागे । बैंक प्रबन्धकले यति ठुलो रकम बचाएको चर्चा अहिले चुलिएको छ ।
त्यस्तै जेनजी आन्दोलनको नाममा सडकमा उत्रिएको समूहले जताततै आगो झोसिरहेको थियो । कोशी प्रदेशसभा भवन, स्वास्थ्य मन्त्रालय, ऐतिहासिक उच्च अदालत र जिल्ला अदालतका भवनहरूबाट आगोको ज्वाला दन्किरहेको थियो । तर, त्यही विध्वंस र कोलाहलको बिचमा, देवकोटा चोकमा रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र भने कर्मचारीको अनुरोध र संवादका कारण जोगिएको छ ।

भवन मात्रै होइन, यहाँ रहेको ३० करोड बढीको औषधि, भ्याक्सिन र उपकरणहरू जोगिएका छन् । यहाँ बालबालिकालाई लगाइने जीवनरक्षक खोपहरू थिए, सर्पले डसेका वा कुकुरले टोकेका बिरामीका लागि अत्यावश्यक एन्टि–रेबिज भ्याक्सिन थियो र जिल्ला–जिल्लाका अस्पतालमा पठाइने करोडौँका औषधि र उपकरणहरूको भण्डार थियो ।
केन्द्रका निर्देशक डा. सुरेश मेहता र उनका सहकर्मीहरू कार्यालय समय सुरु भए लगत्तै आइपुगेका थिए । तर, बाहिरको अवस्था सामान्य थिएन । प्रदेशसभा भवनमा आगो लागेको खबर पाउनासाथ उनीहरूले महसुस गरे, खतरा उनीहरूको ढोकामा पनि आइपुग्न बेर लाग्दैन । ‘हामी कार्यालयभित्र बस्न सकेनौँ,’ डा. मेहताले भने, ‘स्थिति यति तनावपूर्ण थियो कि हामी सबैजना मूल गेटमा आएर बस्यौँ । हाम्रो वरिपरिका भवनहरू जलिरहेको दृश्य कहालीलाग्दो थियो ।’
केही बेरमै आन्दोलनकारीहरूको पहिलो समूह गेटमा आइपुग्यो । ‘यो पनि सरकारी कार्यालय हो, यसलाई पनि जलाउनुपर्छ,’ भीडबाट आवाज आयो । त्यो समूहलाई डाक्टर मेहतासहितको कर्मचारीको टोलीले सम्झाउने प्रयास गर्यो । ‘हामीले हात जोड्यौँ, उहाँहरूलाई सम्झायौँ,’ डा. मेहता भन्छन्, ‘हामीले भन्यौँ, ‘यो भवन जलाएर तपाईँहरूलाई के मिल्छ ? यहाँभित्र राजनीति छैन, यहाँ जीवन छ । यहाँ साना बालबालिकालाई लगाउने खोप छ, जुन विदेशबाट महिनौँ लगाएर ल्याइन्छ । यो जल्यो भने हाम्रा नानीबाबुहरूले खोप लगाउन पाउँदैनन्, उनीहरूको भविष्य अन्धकार हुन्छ ।’

कर्मचारीहरूको यो तर्कले काम गर्यो । उनीहरूले भवनभित्रको संवेदनशीलताबारे बुझाएपछि त्यो समूह फर्कियो । तर यो त सुरुवात मात्रै थियो । दिनभरिमा यस्ता ७ देखि ९ वटा समूह आए । हरेक पटक उही चुनौती, उही तनाव र उही संवादको पुनरावृत्ति भयो ।
‘हरेक समूहलाई सम्झाउनुपर्थ्यो । हामीले तुरुन्तै एउटा सूचना तयार पारेर गेटमा टाँस्यौँ, ‘अत्यावश्यक औषधि, खोप तथा स्वास्थ्य सामग्री भण्डारण गरिएको कार्यालय । कृपया क्षति नपुर्याइदिनुहोला,’ मेहताले सुनाए ।
उनीहरूले जनचेतनामूलक सन्देश लेखिएका प्लेकार्डहरू पनि बनाएर गेटमा राखे । उनीहरूको यो कदमले केही हदसम्म काम गर्यो । दिन ढल्किँदै जाँदा एउटा समूह झनै आक्रामक रूपमा प्रस्तुत भयो । उनीहरूले अड्डी कसे, ‘भवन नजलाए पनि भित्र भएका गाडीहरू चाहिँ जलाएरै छाड्छौँ । गाडीहरू बाहिर निकालिदिनुहोस् ।’
आपूर्ति केन्द्र परिसरमा रहेका चारवटा गाडी नै दुर्गम जिल्लाहरूमा औषधि र खोप पुर्याउने एक मात्र माध्यम थिए । ती गाडीहरू जल्नु भनेको आपूर्ति प्रणाली नै ध्वस्त हुनु थियो । डा. मेहता र उनको टोलीले फेरि एकपटक धैर्यको परीक्षा दियो । ‘हामीले उहाँहरूलाई फेरि सम्झायौँ,’ उनी भन्छन्, ‘यी गाडीहरू मन्त्री वा हाकिम चढ्ने होइनन् । यी गाडीले १४ जिल्लाका दूरदराजमा औषधि बोक्छन् । तपाईँहरूकै गाउँठाउँका मानिस बिरामी पर्दा चाहिने सिटामोल र जीवनजल बोक्ने गाडी हुन् यी । यिनलाई जलाएपछि हामी कसरी सेवा पुर्याउन सक्छौँ ?’
आज विराटनगरका जलेका सरकारी भवनहरू पुनर्निर्माणको पर्खाइमा छन् । कर्मचारीहरूको त्यही प्रयासका कारण प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन भने सग्लो र क्षतिविहीन छ ।

विराटनगर–६ मा रहेको वीरेन्द्र सभागृह भने एक युवाको प्रयासले बचेको छ । विराटनगरका सबैजसो संरचना ध्वस्त हुँदा ऐतिहासिक सभागृह भने जस्ताको तस्तै छ । यो सभागृह जोगाउने काम जेनजेड विद्रोही अनमोल लिम्बूले गरेका थिए ।
विराटनगर–६ का २३ वर्षीय अनमोल सोमबारदेखि नै आन्दोलनमा सक्रिय थिए । सबैतिर आगो लगाएर अघि बढेको समूह त्यही वीरेन्द्र सभागृहमा पुग्यो । मुख्य गेटको ताला फुटाउँदै भित्र प्रवेश गर्यो । आगो लगाउने प्रयास भयो । तर, आन्दोलनको अग्रपंक्तिमा रहेका अनमोल सभागृहअगाडि खडा भए र भीडलाई सम्झाइबुझाइ गरे ।
अनमोल अगाडि बसेपछि उनलाई तेजनारायण चौधरीसहितका केही जेनजी युवाले साथ दिए । त्यत्तिकैमा २–४ जना युवाहरूले सभागृहमा लुटपाट गर्न थालिहाले । तर, माहौल नियन्त्रण बाहिर जान लाग्दा पनि उत्तेजित भिडलाई अनमोलले सम्झाइबुझाइ गर्न छाडेनन् । उनले सभागृह बचाउन भूमिका खेलेको भिडियो टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अनमोलले केही समय अनुनय विनय गर्दै आक्रोशित भिडलाई मत्थर बनाएर बाहिर निकाले । आगजनी र तोडफोडको तयारीसहित सभागृह प्रवेश गरेको समूह त्यहाँ केही नगरी निस्कियो, अर्को समूह प्रवेश गरेन । तर, सामान्य लुटपाट र चोरी भने भयो । आगजनी हुनबाट सभागृहलाई जोगाएपछि उनले भनेका छन्, ‘हामीले बचाउन सफल भएका छौं, यति राम्रो ठाउँलाई ।’
जनता आदर्श बहुमुखी क्याम्पसमा बीएसडब्ल्यू तेस्रो सेमेस्टरमा अध्ययनरत अनमोल सामाजिक सञ्जालमा सक्रिय छन् ।
२०३० सालमा बनेको वीरेन्द्र सभागृह विराटनगरको गौरव मानिन्छ, यसलाई विराटनगर महानगरपालिकाले पुरानो आकृति सुरक्षित राख्दै करिब २३ करोड रुपैयाँ खर्चेर ‘रेट्रोफिटिङ’ गरी पुनः प्रयोगमा ल्याएको थियो ।
यसैगरी विराटनगरको नापतौल तथा गुण नियन्त्रण कार्यालयका कर्मचारी आफैँ जेनजी विद्रोही भएको भन्दै जोगाएका छन् । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालयलगायत केही कार्यालयमा आंशिक क्षति पुगेको भए पनि अरू जस्तो क्षति नभएको जनाइको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण