खण्डहर छेउबाट न्याय सम्पादनमा जुट्यो सर्वोच्च अदालत
सारांश
- भदौ २४ गते प्रदर्शनकारीको तोडफोड र आगजनीले सर्वोच्च अदालतको भवन ध्वस्त भयो।
- आगजनीमा ९० प्रतिशत मुद्दाका फाइल खरानी भए, तर अदालतले टेन्ट लगाएर काम थालेको छ।
- सर्वोच्चले मुद्दाको सुनुवाइ बढाउन सेवाग्राही र वकिलहरूबाट फाइल झिकाउँदैछ।
काठमाडौँ । भदौ २४ गते प्रदर्शनकारीको तोडफोड र आगजनीमा परेको सर्वोच्च अदालत खण्डहर नै बनेको छ । अहिले सर्वोच्चले त्यही भवन नजिकबाट न्याय सम्पादनको काम थालिसकेको छ ।
आगजनीका कारण सर्वोच्चमा दर्ता भई विचाराधीन रहेका ९० प्रतिशत मुद्दाका फाइल खरानीमा परिणत भएका छन् । खण्डहर बनेको भवनबाट सेवा दिन असम्भव भएपछि कर्मचारीहरूले आइतबार सर्वोच्च प्राङ्गणमा टेन्ट लगाएर काम थालेका हुन् ।
_goYaUh3Vhh.jpg)
आगलागीले मुद्दा फाँटका फाइल मात्रै जलेनन्, भौतिक संरचना पनि पूर्ण रूपमा ध्वस्त भएका छन् । त्यही खण्डहर बनेको भवनबाट केही कर्मचारीले आइतबार बचेखुचेका फाइल झिकेर सुरक्षित स्थानमा सारे ।
खरानी टकटकाउँदै कर्मचारीले ती फाइलहरू सर्वोच्चको एनेक्स भवनको सुरक्षित कोठामा लगेर राखेका छन् । सर्वोच्चमा २४ हजारभन्दा बढी मुद्दा विचाराधीन छन् । अधिकांश फाइल जलेर नष्ट छन्, तर आइतबार भदौ २३ गतेदेखि २९ गतेसम्मका मुद्दाको तारेख बुझ्न आउनेका भिड लाग्यो ।
_sUAljUxDB8.jpg)
‘नियमित मुद्दाको सुनुवाइ ठप्प भएपछि आइतबार मात्रै १ सय १० जनाले मुद्दाको तारेख बुझेका छन्,’ सर्वोच्चका सूचना अधिकारी नीराजन पाण्डेले भने, ‘हामीले तारेख बुझ्न आउनेलाई मङ्सिर र पुस महिनाको तारेख दिएर पठाएका छौँ ।’
मुद्दाको तारेख बुझ्न आउने धेरैले आफ्नो मुद्दा के हुन्छ भनी सोधेका उनले बताए । पाण्डेले भने, ‘अदालतमा भएका फाइल आगजनीका कारण नष्ट भएकाले तपाईँहरूसँग भएका फाइल लिएर आउन भनेका छौँ ।’
सर्वोच्चले अब मुद्दाको सुनुवाइ बढाउने तयारीसमेत थालेको छ । सुनुवाइ जारी रहेका मुद्दाका फाइल सेवाग्राही र तिनका वकिलहरूबाट झिकाउने तयारी भइरहेको छ । हरेक मुद्दाको फाइल अदालत र सम्बन्धित सेवाग्राहीका वकिल दुवै पक्षले राखेका हुन्छन् । अदालतमा रहेका फाइल जलेर नष्ट भए पनि सेवाग्राहीका वकिलबाट मगाएर अदालती प्रयोजनमा ल्याउन लागिएको छ । तारेख लिन आउने हरेक सेवाग्राहीसँग फाइल मगाएर २४ हजार मुद्दाको फाइल प्राप्त गरेर सुनुवाइ गर्ने तयारी अदालतले गरिरहेको छ ।
_3o2ZI8IdlM.jpg)
‘जलेका मुद्दाको फाइल पुनः प्राप्त गर्न हामीले आन्तरिक इमेल पनि प्रयोग गर्न लागेका छौँ,’ सूचना अधिकारी पाण्डेले भने, ‘इमेलमा मुद्दाका धेरै विवरण सेफ छन्, त्यसलाई पनि हामीले प्रयोग गर्न खोजिरहेका छौँ ।’
त्यस्तै मुद्दाका पक्ष र विपक्षीसँग पनि फाइलहरू हुने भएकाले वकिलहरूसँग पनि सहयोग लिने तयारी भइरहेको उनले जानकारी दिए । वकिलहरूसँग फोटोकपी हुन सक्ने भएकाले त्यसको आधारमा पनि मुद्दाको सुनुवाइ गर्न सहज हुने उनको विश्वास छ ।
_BLwFcPHMad.jpg)
पाण्डेका अनुसार भदौ २२ गतेसम्म २४ हजार २३४ वटा मुद्दा बाँकी छन् । तीमध्ये दुई वर्ष नाघेका मात्र ७८ हजार ७६२ वटा छन् भने पाँच वर्ष नाघेका १२०२ वटा छन् । थुनुवासँग सम्बन्धित १ हजार ९०९ वटा र फुटकर निवेदन ५०९ वटा छन् ।
आगलागी हुँदा क्षतविक्षत भएको खण्डहर भवनको निरीक्षण गर्न आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत पुगेका थिए । सर्वोच्चकै आँगनमा जलेका सवारीसाधनको थुप्रो अगाडि उभिएर उनले ब्रिफिङ र सरसफाइ निरीक्षण गरे । ब्रिफिङ सकेपछि उनी एनेक्सको पाँचौँ तलाको बैठकमा सहभागी भए । प्रधानन्यायाधीश राउतको निर्देशनपछि सर्वोच्चले बन्दीप्रत्यक्षीकरण र अत्यावश्यकबाहेक सेवा बन्द हुने सूचना जारी गरेको छ ।
_PvHRSxYDaQ.jpg)
मुख्य रजिस्ट्रार विमल पौडेलले एक सूचना जारी गर्दै नियमित प्रक्रियाबाट आउने सबै सेवा बन्द हुने जानकारी दिएका हुन् ।
भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनी, ढुङ्गा मुढा, तोडफोड र लुटपाट समेतका घटनाका कारण भवनका अधिकांश भौतिक संरचना, इजलासहरू, चालु मुद्दा तथा अभिलेख मिसिल, सूचना प्रविधि प्रणालीसमेतमा क्षति पुगेको छ ।
त्यसपछि अदालतको नियमित काम कारबाही अवरुद्ध भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण