बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजीको प्रदर्शनले रोकिएको ‘अभिमन्यु’ अब फूलपातीमा

सोमबार, ३० भदौ २०८२, १० : ५८
सोमबार, ३० भदौ २०८२

सारांश

  • चलचित्र 'अभिमन्यु: च्याप्टर १' असोज १३ गते रिलिज हुने भएको छ।
  • यसअघि भदौ २७ गते प्रदर्शन हुने तय भए पनि विविध कारणले स्थगित भएको थियो।
  • निर्माताका अनुसार प्रचार प्रसार खर्च भइसकेकोले फूलपातीमा रिलिज गर्ने निर्णय गरिएको हो।

काठमाडौँ । चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । चलचित्र निर्माण कम्पनी सेभेन सिज नेपालले एक विज्ञप्ति जारी गर्दै चलचित्रको नयाँ रिलिज मिति बाहिर ल्याएको हो । 

यसअघि चलचित्र भदौ २७ गते प्रदर्शनमा आउने तय भएको थियो । जेनजीको प्रदर्शनका कारण उक्त समय चलचित्र रिलिज हुन नसकेपछि १३ असोजमा आउन लागेको हो ।

‘भदौ २७ गते प्रदर्शनमा ल्याउने पूर्वनिर्धारित मिति तय गरिएको भए पनि देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै हामीले प्रदर्शन स्थगित गरेका थियौँ’, सेभेन सिजले अगाडि भनेको छ, ‘तर अहिले देशमा भएको आमूल परिवर्तनलाई सकारात्मक दृष्टिले लिएर हाम्रो चलचित्र उद्योगलाई निरन्तर चलायमान र गतिशील बनाउने उद्देश्यका साथ हामीले नयाँ प्रदर्शन मिति घोषणा गरेका छौँ ।’ 

चलचित्रको प्रचार प्रसार खर्च भइसकेकोले धेरै समय होल्ड गर्नु उचित नभएको निर्माता विनोद पौडेल बताउँछन् । ‘हामी सोच विचार गरेर नै फूलपातीमा आउने निर्णय गरेका हौँ । कसैसँग जुध्ने र जुधाउने हाम्रो उद्देश्य होइन । धेरै पछि जाने अवस्था पनि छैन’, विनोदले भने, ‘हामी भदौ २७ मा आउँदा सोलो रिलिजको मौका पाएका थियौँ । तर, परिस्थितिले हामीलाई असोज १३ मा ल्याइपुर्याएको हो । हामी सरसल्लाह गरेर नै यो मितिमा आएका हौँ ।’

चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल लगायतको मुख्य भूमिका छ । सुशान्त गौतम निर्देशित चलचित्र मुकेश खनालले लेखेका हुन् ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माण रहेको चलचित्रका रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता, विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्मातामा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप