संकटपछि पुनर्निर्माणको आशामा पर्यटन उद्योग
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालको राजनीतिक परिदृश्य बदलिदिएको छ । साथै, जेनजी आन्दोलनका क्रममा भएको सरकारको अमानवीय दमन, प्रदर्शनकारीका नाममा भएका आगजनी र तोडफोडका घटनाले मुलुकलाई गहिरो पीडामा डुबाएको छ ।
सार्वजनिक र निजी सम्पत्तिमाथिको ठुलो क्षतिले नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्रमा अभूतपूर्व संकट सिर्जना गरेको छ ।
नेपालको आतिथ्य उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने ठुला ब्रान्डमध्ये एक हिल्टन होटल पूर्णरूपमा जलेर नष्ट हुनु पर्यटन क्षेत्रमा आवद्ध सबैका लागि घाउ बनेको छ । यो एउटा होटलको विनाश मात्र होइन, यसले अन्तर्राष्ट्रिय लगानी, रोजगारका अवसर, व्यावसायिक विश्वास र नेपालप्रति विश्व समुदायको दृष्टिकोणमाथि गहिरो प्रश्न उठाएको छ ।
यस घटनाले एक झट्कामा हजारौँ कर्मचारीलाई बेरोजगार बनाएको छ । लामो समयदेखि यस क्षेत्रमा सेवा दिँदै आएका श्रमिक, व्यावसायिक प्रशिक्षक, व्यवस्थापकदेखि लिएर सहयोगी नयाँ कामदारसम्मले आफ्नो रोजगारी गुमाएका छन् । उनीहरूका परिवारले आर्थिक संकट व्यहोर्नुपर्ने अवस्था हुनसक्छ । पर्यटन क्षेत्रसँग जोडिएका सहायक व्यवसायहरू जस्तै- टुर्स एण्ड ट्राभल्स यातायात व्यवसायी, आपूर्तिकर्ता, स्थानीय उत्पादन, हस्तकलासम्म पनि यसबाट प्रत्यक्ष प्रभावित भएका छन्, यहाँ एक होटल मात्र होइन, पर्यटन संरचना र धरोहरमाथि भएको प्रहारले हजारौँ परिवारको जीवनयापनमा सन्नाटा ल्याएको छ ।
यस संकटले पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक नयाँ उद्यमी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई पनि निराश तुल्याएको छ । धेरै वर्षदेखि नेपाललाई सम्भावनाको बजारका रूपमा हेर्दै आएका विदेशी साझेदार र ब्रान्डहरूले अब आफ्नो निर्णयलाई पुनर्विचार गर्न सक्छन् । लगानीकर्ताको यो निराशाले भविष्यका अवसरमा ढोका बन्द गर्ने जोखिम बोकेको छ । तर पनि इतिहासले हामीलाई सिकाएको छ, संकटहरूले राष्ट्रलाई झुक्याउन सक्छन्, तर हराउन कहिल्यै सक्दैनन् ।
लगानीकर्ताको विश्वास फिर्ता कसरी ल्याउने भन्ने अहिले सबैभन्दा जटिल विषय हो । राजधानीको मुटुमा रहेको अन्तर्राष्ट्रिय चेन मात्र होइन, उपत्यका बाहिरका मध्यम र ठुला होटल नष्ट हुनुले लगानीकर्ताको विश्वास डगमगाएको छ । अब सरकारले नीति नियम पारदर्शी बनाएर सबैमा विश्वास दिलाउनु जरुरी छ ।
यहाँ मैले केही अन्तर्राष्ट्रिय अनुभव र संकटपछिको पुनर्निर्माणलाई उदाहरणका रुपमा पस्किने प्रयत्न गरेको छु । पर्यटनको विश्व इतिहासमा दर्जनौँ उदाहरण छन्, ती सबैलाई यहाँ जोड्न सम्भव हुँदैन । जसले यो प्रमाणित गर्छन् कि संकटपछिको पुनर्निर्माण सम्भव मात्र होइन, अझ उज्यालो भविष्यको बाटो खोल्ने अवसरका रुपमा हेर्न सकिन्छ ।
११ सेप्टेम्बर २००१ मा वर्ल्ड ट्रेड सेन्टर ध्वस्त भएपछि न्युयोर्कले लाखौँ पर्यटक गुमायो । सहरमा त्रास, अविश्वास र अनिश्चितताको वातावरण बनेको थियो । तर पुनर्निर्माण, ग्राउन्ड जिरो मेमोरियलको निर्माण र ‘वी विल नेभर फर्गेट’ भन्ने भावनाले सहरलाई फेरि विश्व पर्यटनको केन्द्र बनायो । आज ग्राउन्ड जिरो लाखौँ आगन्तुकको श्रद्धा, सम्मान र दृढताको प्रतीकका रूपमा हेर्ने गन्तव्य बनेको छ ।
जापानमा सन् २०११ को भूकम्पपछिको सुनामी र फुकुसिमा परमाणु विस्फोटको संकटपछि पर्यटक आगमनमा ठुलो गिरावट आयो । विश्व समुदायले जापानलाई सुरक्षित गन्तव्य ठान्न छोडे, तर गतिशील सञ्चार, प्रभावकारी ढंगको सुरक्षा सुधार र सांस्कृतिक ब्रान्डिङमार्फत जापानले पाँच वर्षमै आफूलाई फेरि शीर्ष १० पर्यटकीय गन्तव्यको सूचीमा पुर्यायो । आज जापान अझ फराकिलो पर्यटन बजार बनेको छ ।
३० वर्ष लामो गृहयुद्धले श्रीलंका विश्व पर्यटन नक्साबाट नै हराएको थियो, तर शान्ति स्थापनापछि उसले आफ्नो समुद्र तट, संस्कृति, आयुर्वेद र वेलनेस टुरिजमलाई ब्रान्डिङ गर्दै एकदमै छोटो समयमा दक्षिण एसियाको आकर्षक पर्यटन गन्तव्य बन्न सफल भयो, आज श्रीलंका लाखौँ पर्यटकलाई आकर्षित गर्न सक्षम छ ।
मुम्बईको ताज होटललाई सन् २००८ को आतंकवादी आक्रमणले क्षतविक्षत् तुल्यायो । त्यो घटना भारतको हस्पिटालिटी उद्योगको लागि मात्र होइन, विश्व पर्यटन क्षेत्रकै लागि ठूलो धक्का थियो । तर ताजलाई पुनर्निर्माण गरियो, अझ गौरवसहित उभ्याइयो । आज ताज पुनर्निमाणको प्रतीक बनेको छ ।
यी उदाहरणले के देखाउँछन् भने संकटपछि पुनर्जागरण निर्माण सम्भव छ । त्यसमा खाँचो हुन्छ स्पष्ट दृष्टिकोण, सहकार्य, नेतृत्व र दृढ प्रतिबद्धताको । अब हामीले पनि अहिलेको संकटलाई अवसरका रुपमा बदल्दै नेपाल सुरक्षित, मैत्रीपूर्ण र सांस्कृतिक दृष्टिले समेत धनी गन्तव्य हो भनेर फेरि पुनर्स्थापित गर्न सक्छौं ।
पुनर्निर्माण अभियान सुरु गरी विश्वलाई सन्देश दिन जरुरी छ- ‘नेपाल सुरक्षित छ, नेपाल स्वागतयोग्य छ ।‘ यसका लागि सरकार मात्र होइन, निजी क्षेत्र, नागरिक समाज र प्रवासी नेपाली समुदायबीच समेत सहकार्य हुनुपर्छ ।
अहिले थुप्रै कर्मचारीले रोजगारी गुमाएका छन् । उनीहरूलाई पुनः रोजगारीमा फर्काउन पुनर्निर्माणसँगै सीपमा आधारित तालिम, वैकल्पिक रोजगारी कार्यक्रम र सामाजिक सुरक्षाको व्यवस्था आवश्यक हुन्छ । पर्यटन क्षेत्र ठुला-ठुला भवन मात्र होइन, मानवीय पुँजीकै भरमा पनि टिक्न सक्छ । त्यसैले कर्मचारी तथा श्रमिकको भविष्य सुरक्षित गर्नु अहिलेको प्राथमिकता हुनुपर्छ ।
लगानीकर्ताको विश्वास फिर्ता कसरी ल्याउने भन्ने अहिले सबैभन्दा जटिल विषय हो । राजधानीको मुटुमा रहेको अन्तर्राष्ट्रिय चेन मात्र होइन, उपत्यका बाहिरका मध्यम र ठुला होटल नष्ट हुनुले लगानीकर्ताको विश्वास डगमगाएको छ । अब सरकारले नीति नियम पारदर्शी बनाएर सबैमा विश्वास दिलाउनु जरुरी छ ।
निजी क्षेत्रले दीर्घकालीन योजना प्रस्तुत गर्नुपर्छ र अन्तर्राष्ट्रिय साझेदारलाई नेपाल अझै सम्भावनाको बजार हो भनेर विश्वास दिलाउनुपर्छ ।
हामीले यो बुझ्नुपर्छ, नेपाली पर्यटन आज घाइते छ, तर पराजित छैन । हिल्टन, माला इन, ड्रिमल्यान्ड जस्ता भवनहरू जलेका छन्, तर यसले नेपाली आतिथ्य भावनालाई जलाउन सकेकै छैन ।
युवाशक्तिको पुनः उन्मुखीकरण पनि एक जल्दोबल्दो विषय हो । नेपालको पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको सधैंजसो अभाव खड्किन्छ । आन्दोलनमा संलग्न युवा नै मुलुकको भविष्य हुन्, तर धेरैले आतित्थ्य बुझ्दैनन्, उनीहरूलाई पर्यटन के हो ? पर्यटन मैत्री वातावरण कस्तो हुनुपर्छ ? पर्यटन उद्यमशीलता, सीप विकास, रोजगारी र नवप्रवर्तनतर्फ पुनः उन्मुख गर्नु जरुरी छ । पर्यटन नै यस्तो चिज हो, जसको विस्तारले देशको अर्थ अवस्थामा कायापलट हुन समय लाग्दैन, निराशाबाट सिर्जनात्मकताको बाटो खोल्नु अहिलेको आवश्यकता हो भन्ने राज्य र हामी यस क्षेत्रका व्यवसायीले मनन् गर्नुपर्छ ।
अब हामीले सधैं निराशाका कुरा गरेर मात्र छुट पाउँदैनौं, पर्यटन भनेको सकारात्मक केही रोचक कथाहरुमा विकास हुने कुरा हो । स्टोरी टेलिङले निर्माण गर्ने कुरा हो, हामीले क्षति वा पीडाबारे मात्र नभई नेपालका हिमाल, प्राकृतिक सुन्दरता, हाम्रो संस्कृति, रहनसहन, मौलिकता र आतिथ्यबारे नयाँ कथा विश्व समुदायमा सुनाउनुपर्छ ।
‘नेपाल इज राइज अगेन’ जस्तो अभियानले नयाँ उत्साह जगाउन सकिन्छ । समय-समयमा हुने ठुला-ठुला आन्दोलन र द्वन्द्वमा पनि विदेशी पर्यटकमाथि कुनै किसिमको आघात पुर्याउने कार्य भएका छैनन् भन्ने कुरा पनि विश्वसामु सकारात्मक ढंगले पस्किनुपर्छ ।
यसमा प्रवासी नेपालीको भूमिका, नेपाली डायस्पोराले देशलाई दिनसक्ने योगदानका बारेमा चर्चा गर्नुपर्ने बेला आएको छ । विदेशमा रहेका हरेक नेपाली दाजुभाइ–दिदीबहिनी हाम्रो पर्यटनका वास्तविक दूत हुन् भन्ने हाम्रो बुझाइ हुनुपर्छ । हामीले सम्झिनुपर्छ, २०७२ को भूकम्पपछि चलाएको अभियान, त्यो साथ र सहयोगलाई फेरि पनि सामाजिक सञ्जाल, सञ्चारमाध्यम र प्रत्यक्ष प्रोत्साहनमार्फत विश्वलाई नेपाल सुरक्षित र आकर्षक गन्तव्य हो भन्ने सन्देश दिन सकिन्छ ।
हामीले यो बुझ्नुपर्छ, नेपाली पर्यटन आज घाइते छ, तर पराजित छैन । हिल्टन, माला इन, ड्रिमल्यान्ड जस्ता भवनहरू जलेका छन्, तर यसले नेपाली आतिथ्य भावनालाई जलाउन सकेकै छैन ।
प्रेसिडेन्ट ग्रुप लगायत अन्य पर्यटन व्यवसायीका संरचनामाथि प्रहार त भए, तर ती प्रहारहरूले हाम्रो भौतिक संरचना मात्र होइन, हाम्रो प्रयत्नभावलाई अझ उज्यालो तुल्याइदिएका छन्, आज हामी जस्ता व्यवसायीलाई निराशा होइन, दृढता चाहिएको छ ।
(भण्डारी पर्यटन व्यवसायी हुन् । उनी होटल व्यवसायी महासंघ नेपालका महासचिव र प्रेसिडेन्ट ग्रुपका अध्यक्ष समेत हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण