शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : जेनजी सहिदको अन्तिम बिदाइ, मन्त्रिपरिषद् बिस्तार गर्ने प्रधानमन्त्रीको तयारी

मङ्गलबार, ३१ भदौ २०८२, २२ : ००
मङ्गलबार, ३१ भदौ २०८२

आज २०८२ भदौ ३१ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • सहिदको अन्त्येष्टि

गत हप्ता भएको जेनजी आन्दोलनका क्रममा वीरगति प्राप्त गरेका चार सहिदहरूको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा सुरु गरी पशुपति आर्यघाटमा उनीहरूको अन्त्येष्टि गरिएको हो। यस क्रममा गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर शहीदहरूलाई सम्मान प्रकट गरेका थिए।

  • जेनजी आन्दोलनले खेलकुदमा प्रभाव

नेपालमा भएको जेनजीको आन्दोलनको प्रभाव खेलकुद क्षेत्रमा पनि धेरै देखिएको छ । आन्दोलन अगाडि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजना तयारी अवस्था थिए । जुन अहिले धमाधम स्थगित भइरहेका छन् । केही खेल आयोजनाहरू सञ्चालन भइरहेका पनि थिए, जुन बिचमा नै बन्द गर्नुपर्‍यो ।

  •  बैंकको ब्याज

बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । नयाँ महिनाका लागि अघिल्लो महिनाको मसान्तभित्र ब्याजदर तोकिसक्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले आगामी महिनाका लागि ब्याजदर तोकेका हुन् । वाणिज्य बैंकहरूमध्ये यसपटक ९ वटा बैंकले ब्याजदरमा सामान्य हेरफेर गर्दा बाँकी बैंकहरूले यथावत् राखेका छन् । 

  • जेनजी आन्दोलन

इतिहास क्रान्तिका गाथाहरूले भरिएको छ । इतिहासमा क्रान्तिका गाथा मात्रै छैनन् । क्रान्ति लगत्तैका पिडा पनि उत्तिकै छन् । सडकमा ठुलो भिड जम्मा हुन्छ, राजधानीहरू गगनभेदी नाराले गुञ्जायमान हुन्छन्, यस्तो लाग्छ कि मानौँ पुरानो व्यवस्था फालिएर नयाँ बाटो निस्किएको छ । 

जेनजीको आन्दोलनले देशलाई नयाँ घुम्तीमा पुर्‍याएको छ । यतिबेला देशका दुई ठुला दल (कांग्रेस र एमाले)को गठबन्धन सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ । यो अवस्था आउनुको कारण र अबको निकासबारे हामीले त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र केन्द्रीय विभागका प्रमुख तथा सहप्राध्यापक डा. ईश्वरीप्रसाद कँडेलसँग संवाद गरेका छौँ । 

  • प्रधानमन्त्री कार्कीको तयारी

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि आन्दोलनकारीहरूको प्रस्तावअनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले मन्त्रिपरिषद् ११ सदस्यीय मात्रै बनाउने तयारी गरेकी छन् । 

  • जेनजी आन्दोलनमा आगजनी

दसैँ-तिहार नजिकिँदै जाँदा सजावटले झकिझकाउ हुन्थ्यो थापाथली क्षेत्र । तर यस वर्ष देशकै ठुलो अटो हब खण्डहर बनेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका घटना हुँदा यो अटो हब पनि निशानामा पर्‍यो । जेनजीका नाममा आएका अराजक समूहले गाडीका शोरुमहरुमा आगजनी र तोडफोड गरे । 

  • निजामती कर्मचारी

निजामती सेवा अन्तर्गत सङ्घीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने तयारी गरिएको छ । मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसबारे सैद्धान्तिक सहमति गरेको हो ।

  • कानुनी गाँठो

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिसकेको छ । जेन–जीको आन्दोलनबाट निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गठबन्धन (कांग्रेस–एमाले) सरकार ढलेपछि बनेको यस अन्तरिम सरकारले गर्ने निर्वाचनमा आन्दोलनरत समूहबाटै कतिपयले मतदान गर्नका लागि कानुनी समस्या छ । 

  • माओवादीको अबको बाटो

जेनजी विद्रोहले परम्परागत प्रमुख राजनीतिक दलहरू अस्तित्वको संकटमा फसेका छन् । भदौ २३ र २४ गते भएका विद्रोहले जनताबाट अनुमोदन भएका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार विघटन भयो । 

  • दसैँ

अग्रिम टिकट बुकिङको सम्बन्धमा यातायात व्यवस्था विभागले १९ बुँदे निर्णय गरेको छ । मंगलबार यातायात व्यवस्था विभागमा भएको सर्वपक्षीय छलफलपछि यस्तो निर्णय गरिएको हो । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप