बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
माओवादीको अबको बाटो

जेनजी आन्दोलनपछि माओवादीभित्र बहस : प्रचण्डको राजीनामा कि वाम एकता ?

मङ्गलबार, ३१ भदौ २०८२, १८ : ०४
मङ्गलबार, ३१ भदौ २०८२

सारांश

  • जेनजी विद्रोहले राजनीतिक दलहरूलाई चुनौती दिएको छ, जसले नेतृत्व परिवर्तनको बहस निम्त्याएको छ।
  • माओवादी नेताहरूले पार्टी पुनर्गठन र वामपन्थी दलहरूसँग एकताको आवश्यकता औंल्याएका छन्।
  • विद्रोहको कारणले गर्दा, अन्तरिम सरकार गठन भएको छ र मध्यावधि निर्वाचनको घोषणा गरिएको छ।

काठमाडौँ । जेनजी विद्रोहले परम्परागत प्रमुख राजनीतिक दलहरू अस्तित्वको संकटमा फसेका छन् । भदौ २३ र २४ गते भएका विद्रोहले जनताबाट अनुमोदन भएका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार विघटन भयो । 

प्रविधिको विकाससँगै हुर्किएको यो पुस्ताले थालेको भ्रष्टाचार र कुशासनविरुद्धको अभियानले राज्यसत्ता मात्र होइन, दलहरूका संरचनात्मक शैली नै बदल्नुपर्ने बाध्यतामा पुर्‍याइदियो । पार्टीभित्र सूक्ष्म रूपमा उठेको नेतृत्व पुस्तान्तरणको बहस बेला जेनजी आन्दोलनले उत्कर्षमा पुर्‍याइदिएको छ । र परिणामस्वरूप, पार्टीका दोस्रो र तेस्रो तहका नेताहरूले पार्टी पुनर्गठनका लागि नेतृत्वको राजीनामा माग्न थालेका छन् । 

पूर्वमन्त्री तथा नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने बताए । जेनजी आन्दोलनको संश्लेषण र आगामी बाटोबारे उनले मंगलबार १६ बुँदे धारणा नै सार्वजनिक गरे । 

शर्माले दलहरूमा एउटै व्यक्ति हालीमुहाली हुँदा अहिलेको अवस्था आएको जिकिर गरेका छन् । जेनजी विद्रोहले भौतिक संयन्त्र मात्र नभई नेताहरूको नैतिक आधार नै समाप्त भएको शर्माले विश्लेषण गरेका छन् ।
‘दलहरूमा एउटै व्यक्तिको हालीमुहाली हुने, त्यसले पार्टीको आन्तरिक लोकतन्त्र समाप्त हुनेछ । दलतन्त्र, नेतातन्त्र लागु हुने कुरालाई सुधार गर्न संविधानलाई परिमार्जन गर्नुपर्छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाम्रा पार्टीका नेताहरू र दलहरूमाथि एउटा गम्भीर प्रश्न खडा भएको छ । जेनजीको विद्रोहले भौतिक संरचनामात्र होइन नेतृत्वको नैतिक आधार नै समाप्त भएर गएको छ । यसलाई नयाँ शिराबाट पुनर्गठन गर्नुपर्ने आवश्यक छ ।’

शर्माले संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेको जिकिर गरे । अब आन्दोलनको म्यान्डेट र जनअपेक्षाअनुसार ‘गम्भीर आत्मसमीक्षा’ सहित पुनर्गठन र पुनर्संरचनाको महाअभियान गर्नुपर्ने बताएका छन् । पार्टी निर्माण र नेतृत्व हस्तान्तरणसम्बन्धी स्थायी समिति बैठकमा प्रस्ताव पेस गरेका उनले एक वर्षदेखि लगातार दबाब दिइरहेका छन् । 

त्यस्तै पूर्वमन्त्री तथा माओवादीका नेता सुदन किरातीले पनि इतिहासमा योगदान गरेका अग्रज नेताहरूले जिम्मेवारी परित्याग नगरे विद्रोह गर्न बाध्य हुनेपर्ने धारणा राखेका छन् । उनले पनि मंगलबार फेसबुकमा लेखेका छन्, ‘इतिहासमा योगदान गर्नुभएका अग्रज नेताहरूले सम्मानित भइराख्न र पार्टीको साख बचाई राख्न जिम्मेवारी परित्याग गरी अभिभावकत्वको  भूमिका ग्रहण गर्नु उचित हुनेछ । त्यसो नगरे हाम्रो पुस्ताले उहाँहरू विरुद्ध विद्रोह गर्न बाध्य हुनु पर्ने छ । नत्र जनताले हामीलाई बहिस्कार गर्ने छ । अब के गरौ ?’ 

शर्मा र किराती मात्र हाइनन्; राम कार्की, लेखनाथ न्यौपानेलगायत अधिकांश नेताहरूले पार्टी पुनर्गठनका लागि नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने आवाज उठाइरहेका छन् । जुन पार्टीभित्र मात्र नभई बाहिरका लागि पनि ।जेनजीकै चाहनाबमोजिम पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनिसकेको छ । सरकारले ताजा जनादेशका लागि फागुन २१ गते मध्यावधि घोषणा गरिसकेको छ । कांग्रेस, एमाले र माओवादीजस्ता तीन ठुला दलले कार्की नेतृत्वको अन्तरिम सरकारलाई स्वीकार गरेका छन् । तर संसद् विघटन गरिएकोमा असहमत देखिएका छन् । 

निरंकुश राजतन्त्र ढाल्न जनयुद्धको नेतृत्वदायी भूमिका खेलेका प्रचण्ड २०७० सालको संविधानसभा निर्वाचनपछि कमजोर बन्दै गएका छन् । परिवर्तनको एजेण्डा माओवादीले नै उठाए पनि नेतृत्वले युवाहरूको मनोविज्ञान बुझ्न नसक्दा पार्टी कमजोर भएको नेताहरूले आरोप लगाएका छन् ।

त्यस्तै सचिव गंगानारायण श्रेष्ठले पनि पुस्तान्तरणको विषयमा पार्टीले विधि, पद्धति बनाएर जानुपर्नेमा जोड दिएका छन् । ‘जेनजी विद्रोहले सबै पार्टीलाई रिफर्म गर्ने अवस्थामा पुर्‍याएको छ । नेतृत्व पुस्तान्तरण पार्टीले विधि र प्रक्रियाबाट हुन्छ । केही दिनका पदाधिकारी र स्थायी समिति बैठक पनि बस्ला । त्यसले एजेण्डा बनाउँछ । केन्द्रीय समिति बैठकले त्यसबारे समीक्षा गर्छ,’ उनले भने । 

पार्टी बैठकमा पार्टी र राजकीय पदमा कार्यकालको विधानमै व्यवस्था गरेर एउटा निष्कर्षमा पुग्न सकिने उनको तर्क छ । जेनजी विद्रोहको सात दिनपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार सार्वजनिक भएका प्रचण्डले पछिल्लो राजनीतिक अवस्था र नेतृत्वमाथि नेता तथा कार्यकर्ताले उठाएका प्रश्नबारे केही बोलेका छैनन् ।

यद्यपि समाजिक सञ्जालमा स्टाटस लेख्दैमा प्रचण्डको राजीनामा नआउने उनीनिकट नेताहरूले बताएका छन् ।

‘कसैलाई नेता बन्न रहर लाग्दैमा अध्यक्षले राजीनामा दिनुहुन्न । नेतृत्वको बहस गर्ने थलो महाधिवेशन हो । महाविधेशनमा बसह छलफल हुन्छ । विधि, प्रक्रियाबाट नेतृत्व आउने हो । राजीनामा माग्दैमा उहाँले राजीनामा दिनुहुन्न,’ एक नेताले भने ।

ध्रुवीकरण कि एकता ?

पार्टीभित्र नेतृत्व पुस्तान्तरण हुनुपर्ने पक्षमा दोस्रो र तेस्रो पुस्ताले बहस गरिरहेको बेला प्रचण्ड वामपन्थीबिच धु्रवीकरण र एकताको पक्षमा चाहिँ दृढ देखिएका छन् । साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपा, एकीकृत समाजवादीलगायत वामपन्थी पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो । बैठकको निर्णयअनुसार नै प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवसँग धेरै चरणमा छलफल गरेका थिए । 

जेनजी विद्रोहले नेपालको संविधान नै जोखिममा परेपछि वामपन्थीबिच एकता र ध्रुवीकरण झन अपरिहार्य भएको निष्कर्षमा उनी पुगेका छन् । सचिव देवेन्द्र पौडेलले संकटका बेला राजीनामा माग्नेभन्दा पनि सम्हालिएर पार्टीलाई एकढिक्का बनाउने बेला भएको बताए ।  

‘देश अहिले गम्भीर मोडमा पुगेको  छ । संविधान, व्यवस्था र देशको अस्तित्व रक्षाका लागि वामपन्थी दलहरूबिच एकता र ध्रुवीकरणको आवश्यकता छ । त्यसमा निरन्तर छलफल भइरहेको छ । अवस्था सामान्यीकरण भएपछि गम्भीर बहस र छलफल गरेर अगाडि बढ्छौँ ।’ 

यता नेकपाले पनि पार्टी एकता गर्ने माओवादीको निर्णयलाई स्वागत गरेको छ, प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्य वार्ता टोली पनि बनाएको छ । पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकले माओवादी घटकलगायत समान विचार बोकेका वामपन्थीबिच ध्रुवीकरण र एकता गर्ने निर्णय भएको स्थायी समिति सदस्य कर्णजीत बुढाथोकीले जानकारी दिए । 

‘पछिल्लो जेनजी विद्रोहबारे पार्टीले गम्भीर समीक्षा गरेको छ । नयाँ विचार, नयाँ सोच र नयाँ संकल्पसहित माओवादी घटकलगायत समान विचार भएका वामपन्थी दलहरूबिच एकता गर्न वार्ता टोली बनाएको छ । माओवादीबाट वार्ता टोली बन्नासाथ एकता प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।

बुढाथोकीले विदेशी शक्तिको इशारामा देशभित्रकै प्रतिक्रियावादीहरूको उक्साहटमा जेनजी विद्रोह भएको आरोप लगाए । यी सबै परिस्थितिलाई मूल्यांकन गर्दै वामपन्थी र कम्युनिस्ट पार्टीहरूबिच एकता र ध्रुवीकरण आवश्यक भएको पार्टीको निष्कर्ष सुनाए । केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले माओवादीसहित वामपन्थी दलहरूबिच एकता गर्नुपर्नेमा जोड दिएका बुढाथोकीले बताए । 

देश जटिल मोडमा उभिएकाले समाजवादी मोर्चामा आबद्ध रहेका दलहरू मात्र होइन, सबैभन्दा ठुलो वामपन्थी दल एमालेसँग समेत एकता वा मोर्चाबन्दी हुन सक्ने नेताहरूले बताएका छन् । ठुलो त्याग र संघर्षबाट बनेको संविधान नै नरहन सक्ने देखिएकाले वामपन्थी शक्तिबिच एकता र देशभक्त राष्ट्रवाद शक्तिसँग मोर्चाबन्दी गरेर मुलुकको राजनीतिलाई सही बाटोमा ल्याउने जिम्मेवारी आएको माओवादीका उपमहासचिव हरिबोल गजुरेलले बताए ।

‘जेनजी विद्रोहले राजनीतिक दलहरूलाई सच्चिन सन्देश दिएको छ । तर उनीहरूको आन्दोलमा घुसपैट गरेर संविधान र व्यवस्था विरोधीहरूले दुर्घटना लैजान चाहिरका छन्,’ उनले भने, ‘नेतृत्वले बेलैमा थाहा नपाउँदा पार्टीलाई ठुलो क्षति भएको छ । विषम परिस्थितिमा हामी अभियानमा जान हुन्थेन । प्रतिपक्षमा बसेर पनि सरकारको कुशासन र बेथितिविरुद्ध सशक्त ढंगले उठाउन सकेनौँ । त्यसको फाइदा व्यवस्था विरोधीले उठाए ।’

तर प्रवक्ता तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटा भने पछिल्लो घटनाक्रम नेतृत्वको सवालमा पार्टी बैठकमा छलफल हुने बताउँछन् । ‘स्थिति अलि समान्यीकरण होस्, दुई/तीन दिनमा बैठक पनि बस्छ होला । समग्र परिस्थितिमा छलफल हुन्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप