बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बैठककाे निर्णय

रास्वपाकाे भर्चुअल बैठक निर्णय : बुधबार पार्टी कार्यालयमा बिदादेखि पुनः निर्माणमा सहयोगसम्म

मङ्गलबार, ३१ भदौ २०८२, २१ : ३४
मङ्गलबार, ३१ भदौ २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ २३ र २४ गतेका मृतकको सम्मानमा शोक दिवस मनाउने निर्णय गरेको छ।
  • संविधान दिवसमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने र सार्वजनिक संरचनाको पुनः निर्माणमा सघाउने निर्णय गरियो।
  • पार्टीले घाइतेको स्वास्थ्य उपचारमा ध्यान दिने, स्वास्थ्य अभियान चलाउने र शहीद परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको मंगलबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले विभिन्न निर्णयहरू गरेको छ ।

बैठकले यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानमा असोज १ गते शोक दिवसका रूपमा मनाउन पार्टी कार्यालयमा बिदा दिने तथा कार्यालयमा राष्ट्रिय र पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

त्यस्तै संविधान दिवस (असोज ३ गते) का दिन जेनजी प्रदर्शनका क्रममा शहादत प्राप्त सहिदहरूप्रति सम्मान व्यक्त गर्दै सबै जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेको छ ।

आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना क्षेत्र सफाइ एवं पुनः निर्माणमा सघाउने र क्षतिको विवरण समेत सङ्कलन गर्न सदस्यहरूलाई पार्टीको पहिचान बिना स्वयंसेवकको रूपमा खटाउने निर्णय गरिएको प्रवक्ता मनिष झाले बताए । 

झाका अनुसार जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य उपचारमा विशेष ध्यान दिन पार्टीको स्वास्थ्य विभागलाई परिचालन गर्ने र स्वास्थ्य अभियान सञ्चालन एवं सहिद परिवार भेटघाट र परिवारजनमा आवश्यक सहयोग पुर्‍याउने निर्णय समेत गरिएको छ । 

त्यस्तै असोज २ गतेदेखि पार्टी गतिविधि नियमित सुचारु गर्ने तथा पार्टीका सबै विभागहरूले विभागको क्षेत्राधिकारभित्र पर्ने विषयहरूमा समृद्धिको नीति, कार्यक्रम र सङ्कल्प तयार गर्ने बैठकले निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप