शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलन

एमाले केन्द्रीय सदस्य जीवन घिमिरेलाई परेको आपत्, त्यसपछि पार्टी बैठकमै रोए

प्रदर्शनकारीले घर जलाउन खोजेपछि घिमिरेले पार्टीबाट दिएका थिए राजीनामा
बुधबार, ०१ असोज २०८२, १२ : ००
बुधबार, ०१ असोज २०८२

सारांश

  • एमाले नेता जीवन घिमिरे र उनकी श्रीमतीले पार्टीबाट राजीनामा दिएका थिए, तर पछि उनी कार्यकर्ता भेलामा देखा परे।
  • घिमिरेले जेनजी पुस्ताको आन्दोलनको कारणले परिवारलाई धम्की आएपछि राजीनामा दिन बाध्य भएको बताए।
  • उनले आफ्ना आमाबुबालाई जलाउने धम्की आएपछि राजीनामा दिएको र पछि स्पष्टीकरण दिए।
00:00 / NaN:NaN
Audio By AI

विराटनगर । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले र उनकी श्रीमतीसमेत रहेकी एमाले कोशी प्रदेश सदस्य बिमला घिमिरेले गत २४ गते सामाजिक सञ्जाल फेसबुकमा पार्टीबाट राजीनामाको घोषणा गरे । 

जेनजी पुस्ताको आन्दोलनमा सरकारले गरेको दमनको निन्दा गर्दै घिमिरे दम्पतीले राजीनामा दिएका थिए । ‘भदौ २३ गते भ्रष्टाचार, बेथिति विरुद्ध जेनजी पुस्ताले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा राज्य पक्षबाट भएको दमन निन्दनीय छ । उप्रान्त हामी दम्पती जेनजी पुस्ताको एजेन्डा र आन्दोलनलाई समर्थन गर्दै नेकपा एमालेको कुनै पनि पद र जिम्मेवारीमा नरहने जानकारी गराउँदछौँ,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो । 

तर, राजीनामा दिएका नेता जीवन घिमिरे मंगलबार एमाले मोरङले विराटनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा टुप्लुक्क आइपुगे पुगे । त्यसपछि त्यहाँ हल्लाखल्ला भयो । सङ्कटको बेला पार्टीलाई दोष लगाउँदै राजीनामा दिएको भन्दै उनीविरुद्ध हुटिङ सुरु भयो । त्यसपछि घिमिरेले राजीनामाबारे रुँदै स्पष्टीकरण दिए । 

‘मेरो कारणले बुबा धेरै पटक जेल पर्नुभएको छ । तेरो छोरो केपी ओलीको हनुमान होइन भन्दै आन्दोलनकारीहरूले बुबाआमालाई कोठामा थुनेर अब जलाइ दिन्छौँ भनेछन्,’ घिमिरेले बैठकमा भनेका थिए, ‘म काठमाडौँमै थिएँ । त्यसपछि स्थायी कमिटी सदस्य शेरधन राईलगायतका नेताहरूसँग छलफल गरेर राजीनामाको घोषणा गरेको हुँ ।’ त्यसो भन्दा उनी पटक पटक भक्कानिएको कार्यकर्ताहरू बताउँछन् । 

आन्दोलनको रापतापमा राजीनामाको घोषणा गर्नेमा घिमिरे मात्र थिएनन् । बेलबारी नगरपालिकाका पूर्वप्रमुख तथा प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी र बेलबारी नगरपालिकाका प्रमुख डीपी राईले पनि पदबाट राजीनामाको घोषणा गरेका थिए । मंगलबारको भेलामा सुवेदी र राई भने उपस्थित थिएनन् । 

Amale Baithak (2)

  • राजीनामा बाध्यताले दिएको हुँ ः घिमिरे

आफूले दिएको राजीनामा स्वैच्छिक नभई बाध्यात्मक परिस्थितिको उपज भएको उनले बताएका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा एक समूहले आफ्ना वृद्ध आमाबुबालाई घरभित्रै थुनेर जलाउने धम्की दिएपछि आफू पार्टीको जिम्मेवारीबाट राजीनामा दिन बाध्य भएको उनले प्रतिक्रिया दिए । 

उनका अनुसार घटना हुँदा घिमिरे र उनकी श्रीमती पार्टीको विधान महाधिवेशन प्रतिनिधि परिषद्को बैठकका लागि काठमाडौँमा थिए । विराटनगरस्थित घरमा उनका वृद्ध आमाबुबा मात्र थिए । सोही दिन प्रदर्शनकारीको एक समूहले एमाले नेता काजी बस्नेतको घर तोडफोड गरेपछि करिब चार पाँच सय जनाको भीड जीवन घिमिरेको घर भन्दै त्यसतर्फ लागेका थिए । यो खबर घिमिरेले साथीहरूबाट पाएका थिए ।

‘काजी बस्नेतको घर तोडिसकेपछि जीवन घिमिरे, जीवन घिमिरे भन्दै चार–पाँच सयको मान्छेको हुल उँभो लागे भनेर मलाई फोन आयो,’ घिमिरेले भने, ‘मैले बुबालाई फोन गर्न खोजेँ, फोन उठेन । पछि थाहा भयो, त्यहाँ पुगेको भीडले बुबाको फोनसमेत नियन्त्रणमा लिइसकेको रहेछ ।’

छिमेकीहरूलाई फोन गर्दा उनीहरूले ४०–५० जनाको समूह घरको आँगनभित्रै पसेको र बाँकीले घर घेरिसकेको जानकारी दिए । केही समयपछि घिमिरेलाई उनकै बुबाको मोबाइलबाट फोन आयो । फोनमा बुबाले भने, ‘उनीहरूले हामीलाई भित्रै थुनेर आगो लगाउने तयारी गरेका छन् । हामीलाई आगो लगाउनुअघि एकपटक छोरासँग कुरा गर्न देऊ भनेर मैले अनुरोध गरेको हुँ ।’ त्यसपछि घिमिरेले एक प्रदर्शनकारीसँग कुरा गर्ने मौका पाए । ‘सुरुमा एक पुरुषसँग कुरा गरेर सम्झाउन खोजेको थिएँ । त्यसपछि एक महिला प्रदर्शनकारी फोनमा आइन् र उनले पनि मलाई अल्टिमेटम दिइन् । तैँले पार्टीबाट राजीनामा गर्नुपर्छ ।’

पार्टी छाडे हामी छाड्छौँ, नभए तेरो घर र बुबाआमा हाम्रो नियन्त्रणमा छन्, हामी छाड्दैनौँ भनेपछि आफू आफू किंकर्तव्यविमूढ भएको उनले सुनाए । 

परिवारको जीवनरक्षा पहिलो प्राथमिकता भएको महसुस गरेपछि घिमिरेले तत्काल पार्टीका केही नेताहरूसँग फोनमा परामर्श गरे । नेताहरूले पनि ‘अहिलेलाई परिवारको जीवन महत्त्वपूर्ण हो, फेसबुकमा राजीनामा दिएर ज्यान जोगाउनुस्, बाँकी कुरा पछि मिलाउन सकिन्छ’ भन्ने सल्लाह दिएको उनले बताए । 

‘बुबाआमाकै जीवनरक्षाको कुरा हुन्छ, भोलि कुनै दुर्घटना भएपछि केही रहँदैन । फेसबुकमा राजीनामा दिएर केही हुँदैन, गर्दिनुस् भन्ने सल्लाह आयो’, घिमिरेले भने, ‘त्यसपछि मैले फेसबुकमा राजीनामा लेखेर पोस्ट गरिदिएँ ।’

घिमिरेले उक्त घटनालगत्तै राजीनामाको खण्डन गर्न खोजे पनि थप प्रतिक्रिया आउन सक्ने भन्दै नेताहरूले केही समय चुप लाग्न सल्लाह दिएको बताए । आफूले मंगलबारको कार्यकर्ता भेलामा पनि त्यही कुरा बताएको उनले जानकारी दिए । ‘सुरुमा स्वाभाविक रूपमा जिज्ञासाहरू उठे, तर मैले सबै यस्तो–यस्तो परिवेश र घटना भएको हो भनेपछि सबै साथीहरू कन्भिन्स हुनुभयो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप