बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धनगढी मालपोत कार्यालयलाई सहकारीहरूको आर्थिक सहयोग

बुधबार, ०१ असोज २०८२, १२ : १८
बुधबार, ०१ असोज २०८२

सारांश

  • धनगढीका सहकारीहरूले आगजनीबाट प्रभावित मालपोत कार्यालयलाई ३ लाख १५ हजार आर्थिक सहयोग गरेका छन्।
  • गत २४ गतेको आन्दोलनका क्रममा भएको आगजनीबाट कार्यालयका महत्त्वपूर्ण अभिलेखहरू जलेर नष्ट भएका थिए।
  • सहकारी प्रतिनिधिहरूले सेवा सुधार, पूर्वाधार विकास र विद्युतीय सञ्जाल सुदृढीकरणमा रकम खर्च हुने बताए।

धनगढी । धनगढीका विभिन्न सहकारी संस्थाहरूले आगजनीबाट प्रभावित मालपोत कार्यालय, धनगढीलाई ३ लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । गत २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनीबाट कार्यालयको विद्युतीय प्रणाली, कम्प्युटर, फर्निचर र महत्त्वपूर्ण अभिलेखहरू जलेर नष्ट भएपछि कार्यालय पुनर्स्थापनाका लागि यो सहयोग गरिएको हो।

मंगलबार कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा सहकारीहरूका तर्फबाट नवजीवन सहकारी संस्थाका अध्यक्ष देवबहादुर बमले उक्त सहयोग रकम कार्यालय प्रमुख प्रेम दौल्याललाई हस्तान्तरण गरे।

कार्यक्रममा बोल्दै सहकारी प्रतिनिधिहरूले राज्यका सेवाहरूलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन निजी तथा सहकारी क्षेत्रको पनि महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए। उनीहरूले हस्तान्तरण गरिएको रकम कार्यालयको सेवा सुधार, पूर्वाधार विकास र विद्युतीय सञ्जाल सुदृढीकरणमा खर्च हुने अपेक्षा राखेका छन्।

सहयोग ग्रहण गर्दै कार्यालय प्रमुख दौल्यालले यस कठिन समयमा सहकारी संस्था र नागरिक समाजबाट प्राप्त सहयोग र देखाइएको अपनत्वप्रति कृतज्ञता व्यक्त गरे। ‘जनताको अचल सम्पत्तिको सुरक्षा गर्ने जस्तो संवेदनशील कार्यालयको पुनर्स्थापनामा यहाँहरूले देखाउनुभएको अग्रसरताप्रति हामी ऋणी छौँ’ उनले भने।

कार्यक्रममा मालपोत कार्यालयका पदाधिकारीहरू, विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा सदस्यहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप