बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जनकपुरधाममा उल्लासमय बन्न सकेन विश्वकर्मा पूजा

बुधबार, ०१ असोज २०८२, १६ : ५५
बुधबार, ०१ असोज २०८२

सारांश

  • जनकपुरधाममा जेनजी पुस्ताको आन्दोलनका कारण विश्वकर्मा पूजा प्रभावित भयो, बजार सञ्चालनमा आउन नसक्दा पूजा साधारण रूपमा सम्पन्न भयो।
  • आन्दोलनका कारण महिलाहरूको कम सहभागिता र शोक दिवस परेकाले यस वर्ष सांगीतिक कार्यक्रमहरू स्थगित गरियो।
  • व्यापारीहरूले अपेक्षित कारोबार गर्न सकेनन्, मूर्ति, फूल र सुनचाँदीको व्यापारमा समेत कमी आयो।

जनकपुरधाम । जेनजी पुस्ताको आन्दोलनका कारण सिर्जित त्रासपूर्ण वातावरणले यस वर्ष जनकपुरधाममा मनाइने विश्वकर्मा पूजा प्रभावित बनेको छ । गत साता भएको आन्दोलनपछि जनकपुरधामका बजार अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा विश्वकर्मा पूजा यसपटक साधारण रूपमा सम्पन्न भएको हो ।

प्रत्येक वर्ष मेला तथा विभिन्न व्यापारिक गतिविधिसहित यो पूजा भव्य रूपमा मनाउने गरिन्थ्यो । विश्वकर्मा पूजामा यसपटक व्यवसायीदेखि फूल र मिठाई व्यापारीसम्मले अपेक्षित कारोबार गर्न सकेनन् । जानकी बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले आन्दोलनले सिर्जना गरेको त्रासका कारण पूजामा चहलपहल कम भएको बताए ।

WhatsApp Image 2025-09-17 at 16.07.47 (1)

उनका अनुसार महिलाको सहभागिता अनिवार्य हुने भए पनि त्रासका कारण यस वर्ष महिलाहरू घर बाहिर ननिस्किँदा पूजामा खल्लोपन आएको हो । भव्य सांगीतिक कार्यक्रम हुने प्रचलन भए पनि शोक दिवस परेको कारण यसपटक कार्यक्रम स्थगित गरिएको उनले जानकारी दिए ।

फूल व्यवसायी भोगेन्द्र मालीका अनुसार यस वर्ष फूलको कारोबार लगभग शून्य रह्यो । सरसजावट व्यवसायी रञ्जित पासवानले पूजाका लागि सजावट सामग्री धेरै ल्याए पनि बजार सुनसान रहेकाले ठुलो घाटा बेहोर्नुपरेको गुनासो पोखे ।

त्यस्तै, मूर्तिकार जीवछ पण्डितले विश्वकर्मा भगवानका मूर्तिसमेत बिक्री नभएको भन्दै दुःख व्यक्त गरे । उनका अनुसार हरेक वर्ष मूर्ति खरिदमा प्रतिस्पर्धा हुने गरेकोमा यसपटक लागत मूल्यभन्दा कममा बिक्री गर्दा पनि कतिपय मूर्ति नबिकेर थन्किएका छन् । मानिसहरूले मूर्तिको सट्टा भगवानको फोटो किनेर पूजा गरेको उनले बताए ।

WhatsApp Image 2025-09-17 at 16.07.47

महँगो बजार र सुनचाँदीको बढ्दो मूल्यका कारण सोनारपटी पनि सुनसान रह्यो । सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन सिंहानियाले सरकारले कर वृद्धि गरेपछि महिनौँदेखि व्यवसाय चौपट भएको र आन्दोलनले थप मर्का पारेको बताए । ‘मुलुकले ६ दर्जनभन्दा बढी युवा गुमाएको छ, आज शोक दिवस पनि परेको छ । यस्तोमा कसरी उत्सवको खुसी मनाउने ?’ उनले भने । भव्य नभए पनि औपचारिक रूपमा पूजा सम्पन्न गरिएको उनले जानकारी दिए ।

WhatsApp Image 2025-09-17 at 16.07.47 (2)

विश्वकर्मा पूजाको दिन जनकपुरधाम सामान्यतया सांगीतिक माहोलमा डुब्ने गर्दथ्यो, तर यस वर्ष फाट्टफुट्ट कार्यक्रमबाहेक अन्यत्र उत्सव देखिएन । सरकारले शोक दिवसका कार्यक्रम गर्न आग्रह गरे पनि जनकपुरधाममा उत्सव पनि संयोग परेकाले प्रशासनले कुनै हस्तक्षेप नगरेको देखियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप