बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती जडान

बिहीबार, ०२ असोज २०८२, ०७ : २३
बिहीबार, ०२ असोज २०८२

सारांश

  • शुक्लाफाँटा नगरपालिका-७ मा वन्यजन्तु नियन्त्रणका लागि ५८ वटा स्वचालित बत्ती जडान गरिएको छ।
  • बत्ती जडानपछि जङ्गली जनावर बस्तीमा पसेर क्षति गर्ने समस्या नियन्त्रणमा सहयोग पुगेको छ।
  • बत्ती र मेसवायर जडानले स्थानीय बासिन्दाको बालीनाली र जीउधन जोगाउन मद्दत गरेको छ।

कञ्चनपुर । वन्यजन्तु नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिका–७ मा ५८ वटा स्वचालित (सेन्सरयुक्त)बत्ती जडान गरिएको छ । बत्ती जडान भएपछि बस्तीमा पसेर क्षति गर्ने जङ्गली जनावर नियन्त्रणमा सहयोग पुगेको छ ।

तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउछाउका बस्तीमा २९ वटा पोलमा बत्ती जडान गरेको हो । समितिका अध्यक्ष भरतबहादुर विष्टका अनुसार बत्तीको प्रकाशले निकुञ्ज हुँदै बस्तीमा प्रवेश गर्ने जनावर टाढैबाट देख्न सकिन्छ ।

“यो कार्यले बालीनाली जोगाउन मात्र होइन, जनावर भगाउन पनि सहज भएको छ, मानवीय क्षति न्यूनीकरणमा पनि मद्दत पुगेको छ”, अध्यक्ष विष्टले भने । उनका अनुसार बस्ती क्षेत्रमा हात्ती, बँदेल, नीलगाई, चितललगायतका वन्यजन्तु प्रायः प्रवेश गर्ने गरेका छन् । बत्तीको सँगै समितिले करिब तीन किलोमिटर क्षेत्रमा मेसवायर समेत जडान गरेको छ । बत्ती र मेसवायर जडान भएपछि स्थानीय बासिन्दाको बालीनाली जोगाउन सकिएको छ । 

वडाध्यक्ष प्रतापसिंह धामीले स्वचालित बत्ती र मेसवायर दुवै उपायले जनावर नियन्त्रणमा सहयोग पुगेको बताए । “हात्तीले मेसवायर तोडेर बस्तीमा छिर्ने गथ्र्यो, घर नजिक पुगेपछि मात्रै थाहा पाउँथ्यौँ, अहिले बत्तीको कारण टाढैबाट देख्न सकिने भएकाले सचेत भएर जीउधन जोगाउन सकिएको छ”, उनले भने । समितिले यसै आर्थिक वर्षमा थप बत्ती जडानका लागि प्रस्ताव पनि पेस गरेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप