बागमती प्रदेशमा सुशासन र खर्च कटौतीलाई प्राथमिकता, यथाशीघ्र प्रभावकारी कार्यक्रम ल्याइने
मकवानपुर । बागमती प्रदेश सरकारले सुशासन प्रवर्द्धन र सरकारी खर्च कटौतीलाई उच्च प्राथमिकता दिने भएको छ । प्रदेश सरकारले सार्वजनिक खर्च कटौतीका लागि यथाशीघ्र प्रभावकारी कार्यक्रम ल्याएर अगाडि बढाउने भएको हो ।
मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बिहीबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।
प्रदेशमा सुशासन कायम गर्न र अनावश्यक खर्च कटौती गरी मितव्ययिता अपनाउन दलहरू एकमत भएका हुन् ।बैठकमा सहभागी सबै दलका नेताहरूले प्रदेश सरकारको कामकारबाहीलाई थप पारदर्शी, जवाफदेही र जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।
यसका लागि ठोस कार्य योजनासहितको कार्यक्रम तत्कालै तर्जुमा गरी कार्यान्वयनमा लैजाने सहमति भएको हो ।मुख्यमन्त्री बानियाँले प्रदेशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै फजुल खर्च नियन्त्रण गर्न र सुशासनको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले दलहरूको सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
बैठकले असोज ३ गते संविधान दिवसलाई प्रदेशभर भव्यताका साथ मनाउने निर्णय पनि बैठकले गरेको छ ।सर्वदलीय बैठकले हालै भएको ‘जेनजी’ अभियानका क्रममा भएका घटनाहरूप्रति पनि गम्भीरतापूर्वक छलफल गरेको छ ।
आन्दोलनका क्रममा प्रदेशभित्र प्रदेश सरकार मातहतका सरकारी संरचना, स्थानीय तहका कार्यालय तथा सर्वसाधारणका निजी एवं व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिको यथार्थ विवरण सङ्कलन गर्ने निर्णय पनि गरिएको छ । क्षतिको मूल्याङ्कन गरी आगामी कदम चालिने बताइएको छ ।
त्यस्तै सर्वदलीय बैठकले प्रदेशसभाको बैठकलाई पनि यथाशीघ्र सञ्चालन गर्ने विषयमा दलहरूबिच सहमति जुटेको छ । बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
बैठकमा नेकपा एमाले संसदीय दलका नेता जेएन थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेल, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक रत्न ढकाल र कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेल लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण