१० बजे १० समाचार : चुपचाप बालेन, जेनजी आन्दोलनपछि डेरामा केपी ओली
काठमाडौँ । आज मिति २०८२ साल असोज महिनाको २ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. डेरामा ओली
निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट बाहिरिएका छन् ।
भदौ २४ गते जेनजी आन्दोलन हिंसात्मक बनेपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै बालुवाटार छाडेका थिए । त्यसयता उनी शिवपुरीमा सेनाको सुरक्षामा बस्दै आएका थिए । अहिले ओली डेरामा बस्न थालेका छन् । उनको घर जेनजी आन्दोलनकारीले जलाइदिएका थिए ।
२. चुपचाप बालेन
काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि राजनीतिक दल वा व्यक्तिहरूले सार्वजनिक कार्यक्रम गरेपछि फोहोर गरेको भन्दै महानगरपालिकाले पत्र काट्थ्यो । सार्वजनिक सम्पत्तिहरूमा असर पुर्याइएको कारण देखाउँदै जरिवाना तिराउँथ्यो ।
तर जेनजी आन्दोलनका क्रममा महानगरमा करोडौं क्षति र फोहोर हुँदा मेयर बालेन शाह चुपचाप छन् ।
भदौ २४ गतेको आन्दोलनले देशभरका सार्वजनिक सम्पत्तिमा ठुलो क्षति पुर्याएको छ ।
देशभरका ५३ प्रतिशत नगरपालिकाहरू कुनै न कुनै प्रकारले क्षति भएका प्रारम्भिक विवरण संकलन गरिएको तथ्यांकमा उल्लेख छ । आन्दोलनका कारण देशभरका १४६ वटा नगरपालिका कार्यालयमा भौतिक क्षति पुगेको छ । नेपाल नगरपालिका संघले संकलन गरेको यस्तो तथ्यांकमा देशभरका १७ वटा नगरपालिका भने समावेश छैनन् ।
३. रास्वपा निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी पुस्ताका धेरै नागरिकहरू मतदाता नामावलीमा सूचीकृत नभएको अवस्थालाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले बताए ।
यो पनि..
४. काठमाडौँमा प्रहरीको नयाँ नेतृत्व
जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसएसपी रमेश थापालाई काठमाडौँको सुरक्षा नेतृत्व दिएर पठाइएको हो ।
५. चुनावको पक्षमा खुल्यो माओवादी
पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। उनले बिहीबार एक भिडियो वक्तव्यमार्फत लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र राष्ट्रलाई थप अस्थिरताबाट जोगाउन चुनाव सम्पन्न ढिलो गर्न नहुने बताएका हुन् ।
६. राष्ट्रपतिको भनाइ
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिएकाले राजनीतिक दललगायत सरोकारवालाहरुलाई फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन र संविधान जोगाउने काममा अग्रसर हुन सन्देश दिएका छन् ।
७. टेलिफोन वार्ता
प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोन वार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
८. वैदेशिक रोजगार
वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मलेसिया र यूएईले गरेका निर्णयले हलचल उत्पन्न भएको छ ।
९. सेयर बजार
बिहीबारको सेयर बजार समय नसकिँदै बन्द भयो । जेनजी आन्दोलनसँगै भएको विध्वंस र त्यसपछि भएको सत्ता परिवर्तनपछि पहिलोपटक खुलेको बजार ६ प्रतिशतको गिरावटसँगै बन्द भएको हो ।
१०. श्रृङ्खलाले तोडिन् मौनता
पूर्व मिस नेपाल शृङ्खला खतिवडाले लामो मौनता तोड्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै जेनजी आन्दोलनसँग जोडिएका आरोपहरूमा आफूले भोग्नुपरेको अनुभव र वास्तविकता सार्वजनिक गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण