जेनजी आन्दोलन : महानगरमा करोडौं क्षति र फोहोर, तर बालेन चुपचाप
सारांश
- काठमाडौं महानगरपालिकाले सार्वजनिक कार्यक्रममा फोहोर गर्ने राजनीतिक दल र व्यक्तिलाई जरिवाना गर्दै आएको छ।
- पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा एमालेलाई फोहोर गरेको आरोपमा जरिवाना गरिएको थियो।
- जेनजी आन्दोलनमा महानगरको सम्पत्तिमा क्षति पुगेको छ तर मेयर बालेनले कारबाहीबारे मौनता साँधेका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि राजनीतिक दल वा व्यक्तिहरूले सार्वजनिक कार्यक्रम गरेपछि फोहोर गरेको भन्दै महानगरपालिकाले पत्र काट्थ्यो । सार्वजनिक सम्पत्तिहरूमा असर पुर्याइएको कारण देखाउँदै जरिवाना तिराउँथ्यो ।
महानगरको यस्तो पत्र नेकपा एमालेदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्म पुगेको छ । गत चैतमा महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्रलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरायो ।
तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले जरिवाना गराएको थियो ।
त्यस्तै गत मंसिरमा महानगरले सत्तारुढ दल नेकपा एमालेलाई पनि जरिवाना गराएको थियो । दरबारमार्गमा कार्यक्रम आयोजना गरिँदा फोहोर भएकाले महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न भनेको थियो ।
फोहोर गर्ने, सडकमा माटो झार्ने मात्र होइन, प्रचारात्मक कागज सडकमा बाँड्दै हिँड्नेलाई समेत महानगरले सार्वजनिक दण्ड, जरिवाना गर्दै आएको छ । शिक्षक आन्दोलनका वेला पनि मेयर बालेन्द्र शाह(बालेन)ले महानगरका बोटबिरुवामा क्षति पुगेको भन्दै आलोचनासम्म गरे ।
०००
जेनजी आन्दोलन क्रममा काठमाडौं महानगरको पनि करोडौँको सम्पत्ति क्षति भएको छ । वडा नम्बर ६, ७ र ३२ का कार्यालय त तोडफोड नै भएका छन्, १५ नम्बर वडा कार्यालयमा लुटपाट नै भएको महानगरको प्रारम्भिक विवरणमा उल्लेख छ ।
३१ नम्बर वडामा रहेको महानगर प्रहरी बलको कार्यालय मीनभवनमा आगजनी, तोडफोड भएको छ । त्यहीँ महानगर प्रहरीले प्रयोग गर्ने तीन वटा सवारीसाधन आन्दोलनकारीले जलाएका छन् । महानगरका अधिकांश वडामा टायर बले, बोटबिरुवा, ट्राफिक आइल्यान्ड, सीसीटीभी लगायतमा क्षति पुगे ।
तर बालेन किन बोलेनन् ?
महानगर प्रमुख बालेन जेनजी आन्दोलनमा आफैँमा रहस्यमयी पात्र बने । अन्य राजनीतिक दल वा संस्थाले महानगरभित्र फोहोर मात्र गर्दा तत्काल कारबाहीको चिठी लिएर कार्यालय जान निर्देशन दिने उनी अहिले भने चुप लागेर बसेका छन् ।
महानगर स्रोतका अनुसार आन्दोलनमा बालेन आफैंको समर्थन रहेकोले उनी कारबाहीका लागि हतारिएका छैनन् । ‘यो आन्दोलनमा पानी बाँड्ने काममा महानगरका नगर प्रहरीको समेत गाडी प्रयोग भएको पाइएको थियो, मेयर बालेनकै यहाँ समर्थन थियो । फेरि आयोजककै टुङ्गो नभएर जरिवानाको कारबाही हुन नसकेको होला,’ महानगरका एक कर्मचारीले भने, ‘यसको दोषी को हो ? कसलाई कारबाही गर्ने ? भन्ने नै टुङ्गो लागेको छैन । त्यसकारण जरिवाना तिराउने कुरामा अड्केको हो ।’
महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार जेनजी आन्दोलनका कारण मात्रै ३७४ टिप फोहोर संकलन भएको छ । ‘सडकमै देखिएको फोहोर त्यति हो, जलेका गाडीहरू हामीले सहयोग गरेर एक ठाउँमा डम्प गरिरहेका छौं । त्यसको त हिसाब नै छैन,’ बिहीबार पाण्डेले गरेको पत्रकार सम्मेलनमा भने । आन्दोलनलाई देखाएर महानगरसहित अन्य सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए पनि महानगरले गर्ने जरिवानाबारे भने उनी बोलेनन् ।
महानगरकी वातावरण विभाग प्रमुख सरिता राई पनि कारबाहीको विषयमा अनभिज्ञता प्रकट गरिन् । ‘हामीलाई यो विषयमा अहिले थाहा छैन, फोहोर संकलन गरेर ल्याण्डफिल साइट लैजाने काम रेगुलर छ । सिसाजन्य फोहोरबाहेक अरू सबै ल्यान्डफिल साइटमा गइरहेको छ,’ उनले भनिन् ।
महानगरले ध्वस्त भएका संरचनाबाट निस्केका सिसाजन्य फोहर अन्य फोहरसँगै नमिसाउन आग्रह गर्दै ल्यान्डफिल साइट नलैजाने निर्णय भने गरिसकेको छ । महानगरको वातावरण विभागका अनुसार सिसाजन्य फोहरलाई सामान्य फोहोरसँगै ल्यान्डफिल्ड साइटमा लैजान मिल्दैन ।
फोहोरलाई छुट्टै संकलन गरी आफ्नै घरको कम्पाउन्ड वा कार्यालय परिसरभित्र सुरक्षित राख्न पनि महानगरपलिकाले आग्रह गरेको छ, कतिपय कार्यालयमा सिसाजन्य फोहोर अझै उठ्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण