बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कमजोरी स्विकार्दै प्रचण्डले भने– हामी निर्वाचन समयमै सम्पन्न होस् भन्ने चाहन्छौं

बिहीबार, ०२ असोज २०८२, १६ : ५२
बिहीबार, ०२ असोज २०८२

सारांश

  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचन समयमै हुनुपर्नेमा जोड दिए।
  • उनले देश र जनताविरुद्धका षड्यन्त्र र अन्तरिम सरकारलाई असफल बनाउने प्रयास भइरहेको बताए।
  • प्रचण्डले लोकतन्त्रको रक्षा गर्दै राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नुपर्ने बताए।

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। उनले बिहीबार एक भिडियो वक्तव्यमार्फत लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र राष्ट्रलाई थप अस्थिरताबाट जोगाउन चुनाव सम्पन्न ढिलो गर्न नहुने बताएका हुन् । 

उनले भने, 'देश र जनताविरुद्धका षड्यन्त्र सकिएका छैनन् । अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास शुरु भइसकेको छ । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनावद्ध प्रयास हुन सक्छ । हामि घोषित निर्वाचन समयमैं सम्पन्न होस् भन्ने चाहन्छौं ।'

प्रचण्डले आफ्नो सम्बोधनमा अतीतका कमजोरीहरूलाई स्वीकार गर्दै पार्टी र नेतृत्व दुवैलाई सच्याउने प्रक्रियामा रहेको बताए। उनले भने, 'हामीले गलत विचार वा नीति लिएका होइनौं तर व्यवहारमा कतै चुक्यौँ।'

उनले सरकारको नेतृत्व गर्दा कुनै राष्ट्रघाती सम्झौता नगरेको र भ्रष्टाचारविरुद्ध निरन्तर लडिरहेको दाबी गरे। तर, जनताको अपेक्षासँग तुलना गर्दा आफूहरू कमजोर देखिएको स्वीकार गर्दै उनले सच्याउने प्रतिबद्धता जनाए। नेतृत्व हस्तान्तरणको विषयमा पार्टीभित्र छलफल सुरु भइसकेको उनले बताए।

सम्बोधनमा प्रचण्डले संविधान र लोकतान्त्रिक गणतन्त्रप्रति कुनै पनि प्रकारको विचलन देशलाई समाधानतर्फ नभई संकटतर्फ लैजाने चेतावनी दिए। उनले भने, 'लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो। संविधान र लोकतन्त्रको रक्षा मार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नुपर्छ, यो सबै नेपालीको साझा कर्तव्य हो।'

उनले अन्तरिम सरकारलाई असफल बनाउन र चुनाव हुन नदिन योजनाबद्ध प्रयास हुनसक्ने चेतावनी दिँदै त्यसविरुद्ध सचेत रहन लोकतन्त्रवादी शक्तिलाई आह्वान गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप