बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कांग्रेस बैठक

कांग्रेसले भन्यो : प्रतिनिधिसभा विघटन असंवैधानिक, विरोध गर्छौँ

निर्वाचनको विरोध नगर्ने, प्रक्रियामा आपत्ति जनाउने
शुक्रबार, ०३ असोज २०८२, १४ : २३
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको छ र विरोध गर्ने निर्णय गरेको छ।
  • उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकले निर्वाचनको विरुद्धमा नजाने तर प्रक्रियाबारे प्रश्न उठाउने निर्णय गरेको छ।
  • कांग्रेसले निर्वाचन घोषणापछि अन्तरिम सरकारले राजनीतिक दलहरूसँग छलफल नगरेकोमा आपत्ति जनाएको छ।

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै विरोध गर्ने निर्णय गरेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।

उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकले निर्वाचन घोषणाको विरुद्धमा नजाने तर, प्रक्रियाबारे प्रश्न उठाउने निर्णय पनि गरेको छ ।

‘प्रतिनिधिसभा विघटन असंवैधानिक हो । त्यसको विरोध गर्नुपर्छ भन्ने निष्कर्षमा बैठक पुगेको छ,’ सहमहामन्त्री उपाध्यायले रातोपाटीसँग भनिन्, ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, निर्वाचनको विपक्षमा जाँदैन तर प्रक्रियामा प्रश्न उठाउने निर्णय भएको छ ।’

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २६ गते राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । त्यो संविधान विपरीत भएको दलहरूले बताइरहेका छन् । 

कार्की प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रतिनिधिसभा विघटनको सिफारिस र आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने सिफारिस गरेकी थिइन् । त्यसै अनुरूप राष्ट्रपति पौडेले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन गर्ने सिफारिस सदर गरेका थिए । त्यसको कांग्रेस कार्यसम्पादन समिति बैठकले विरोध गरेको हो ।

कांग्रेसले निर्वाचन घोषणा गरेपछि पनि अन्तरिम सरकारले निर्वाचनका स्टेक होल्डर राजनीतिक दलसँग कुराकानी नगरेको आपत्ति जनाएको छ । ‘सरकारले निर्वाचन कसरी गर्ने हो ? राजनीतिक दलसँग अहिलेसम्म छलफल गर्न आवश्यक ठानेको छैन,’ सहमहामन्त्री उपाध्यायले भनिन्, ‘निर्वाचन घोषणाको प्रक्रियाबारे केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्ने निर्णय भएको छ ।’

कांग्रेस बैठकमा यसबारे अन्य राजनीतिक दलहरूसँग कांग्रेसले छलफल गर्ने कुरा उठेको पनि सहमहामन्त्री उपाध्यायले जानकारी दिइन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप