बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

चाडबाड लक्षित यातायात व्यवस्थापनबारे ७ वटा निर्णय

शनिबार, ०४ असोज २०८२, १५ : १९
शनिबार, ०४ असोज २०८२

सारांश

  • मन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित गरी यातायात व्यवस्थापन र सडक सुरक्षाबारे सरोकारवालासँग छलफल गरे।
  • बैठकले यात्रुको सहज यात्राका लागि सडक स्तरोन्नति, सुरक्षा व्यवस्था, र सूचना प्रवाह गर्ने निर्णय गर्यो।
  • दशैंमा काठमाडौंबाट बाहिरिने सवारीलाई सुरुङमार्ग प्रयोग गर्न दिने र बुटवल-नारायणघाट सडकमा ठूला मालवाहक सवारी रोक्ने निर्णय गरियो।

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षासम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरी सात वटा निर्णय गरेका छन्।

शनिबार मन्त्रालयमा भएको बैठकमा सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारी सहभागी थिए।

मन्त्री घिसिङले यात्रुहरुलाई २४ घण्टा सडक अवस्थाबारे जानकारी दिने, गुनासो सुन्ने र पहिरो वा अन्य कारणले सडक अवरुद्ध भएमा तत्काल पुनःस्थापना गर्ने व्यवस्थाबारे निर्देशन दिएका छन्।
मन्त्री घिसिङले चाडपर्वमा यात्रुहरूले सहज, सुरक्षित र छिटो यात्रा अनुभव गर्न सक्ने गरी आवश्यक तयारी तत्काल गर्न सम्बन्धित निकायलाई कडाईका साथ निर्देशन पनि दिएका छन्।

बैठकले गरेको निर्णयहरु यसप्रकार छन् 

निर्णय नं. १ – दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुबाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्गमार्फत मात्र बाहिर जान दिने, दशैंपछि भने पुनः प्रवेशको व्यवस्था गर्न सम्बन्धित पक्षसँग छलफल गर्ने।

निर्णय नं. २ – नयाँ बसपार्कसहित मुलुकका विभिन्न राजमार्गमा सुरक्षा चुस्त बनाउन प्रहरी गस्ती बढाउने र अतिरिक्त प्रहरी परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने।

निर्णय नं. ३ – बुटवल–नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा दशैं अवधिभर ठूला मालवाहक सवारी (१२ चक्के वा सोभन्दा माथि) सञ्चालन नगर्ने, तर खाद्यान्नलगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउने।

निर्णय नं. ४ – देशभरका मुख्य सडकलाई स्तरोन्नति तथा सुधार गर्ने, पहिरोजस्ता विपद व्यवस्थापनका लागि आवश्यक सामग्री तथा उपकरण व्यवस्थापन गर्ने, बुटवल–नारायणघाट सडक खण्डमा २४ घण्टा दुईतर्फी यातायात सञ्चालन गर्ने, नारायणघाट–मुग्लिन सडकको तुइन खोला क्षेत्रमा भएको अवरोध तत्काल हटाई सञ्चालनमा ल्याउने र तातोपानी नाकासम्मको मुख्य सडक दशैंअघि सञ्चालनमा ल्याउने गरी सडक विभागलाई निर्देशन दिने।

निर्णय नं. ५ – नागरिकलाई मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गर्ने।

निर्णय नं. ६ – सार्वजनिक सवारी साधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तथा निर्देशिका तयार गरी छिट्टै मन्त्रालयमा पेश गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने।

निर्णय नं. ७ – देशभरका सडक अवस्थाबारे २४ घण्टा निगरानी गर्न, आवश्यक समन्वय र व्यवस्थापनका लागि फोकल पर्सनसहित कन्ट्रोल रुम सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप