बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कलाकार

मैथिली कला क्षेत्रमा चम्किँदै इशिका

सोमबार, ०६ असोज २०८२, ०६ : ३७
सोमबार, ०६ असोज २०८२

सारांश

  • मैथिली कला क्षेत्रमा इशिका भुजेलको गायन र अभिनयमा दमदार उपस्थिति रहेको छ।
  • इशिका भुजेलको 'कलकतियावाली' फिल्म हिट भएपछि उनले मैथिली गीत-संगीतलाई देश-विदेशमा पुर्याउने लक्ष्य राखेकी छिन्।
  • जनकपुरधाममा हुर्केकी इशिकाले मैथिली गीत गाउन सजिलो मान्छिन् र उनी मैथिली समुदायमै चिनिन चाहन्छिन्।

जनकपुरधाम । मैथिली कला क्षेत्रको इतिहास निकै लामो भए पनि उचित प्रचार–प्रसारको कमी, सरकारी पक्षको उदासीनता लगायतका कारण यसले अपेक्षित फट्को मार्न सकेको छैन । यद्यपि, नेपाल र भारत दुवै देशमा मैथिली कला क्षेत्र आ–आफ्नै तरिकाले अघि बढिरहेको देखिन्छ ।

कुनै समय भारततर्फ मैथिली कलामा उल्लेखनीय लगानी भए पनि पछिल्लो चरणमा त्यो क्रम क्रमशः घट्दै गएको छ । यसको विपरीत मैथिली कला क्षेत्रमा नेपालका कलाकर्मीहरूले ठुलो लगानी गर्दै आएका छन् ।

युट्युबमार्फत मैथिली कला क्षेत्रमा नयाँ ऊर्जाको सञ्चार भएको छ । कम खर्चमा गीत–सङ्गीतदेखि लिएर फिल्मसम्म तयार गरी सोही माध्यमबाट विश्वभर प्रसारण गर्ने प्लेटफर्मका रूपमा युट्युब लोकप्रिय भएसँगै कलाकार र लगानीकर्ताले मनग्य आम्दानी गर्न थालेका छन् ।

विशेष गरी सुनसरी, सप्तरी, मोरङ, सिरहा, धनुषा, महोत्तरी लगायत मिथिला क्षेत्रका जिल्लाबाट र्‍याप गीतदेखि लिएर परम्परागत गीतसम्म युट्युबमार्फत सार्वजनिक गरी कलाकारहरूले नाम र दाम कमाइरहेका छन् ।

मिथिला क्षेत्रमा कुनै समय एक जातीय वर्गले मात्र कला क्षेत्रमा पकड बनाएको देखिन्थ्यो । पछिल्ला वर्षहरूमा सबै वर्गले यस क्षेत्रमा सक्रियता देखाउँदै आफ्नो स्थान बनाउन सफल भएका छन् । जनकपुरधामले मिथिला कला क्षेत्रमा धेरै प्रतिभालाई स्टार बनाउँदै आएको छ । यही क्रममा जनकपुरधामले जन्माएको अर्को चर्चित नाम हो इशिका भुजेल ।

इशिका भुजेलले मैथिली कला क्षेत्रमा अभिनय र गायन दुवैमा आफ्नो दमदार उपस्थिति देखाएकी छन् ।

पहाडी समुदायकी भए पनि इशिका जनकपुरधाममै हुर्किन् । सानैदेखि उनले गीत–सङ्गीतमा करियर बनाउने सपना देखिन् । अभिनयमा त्यति रुचि नभए पनि उनले अभिनयमै पहिलो अवसर प्राप्त गरिन् ।

टिभी टुडेका लागि मैथिली टेलिसिरियल ‘हुक्कालोली’ निर्माण गरिरहेका निर्देशक तथा कलाकार बीएन पटेलले कलाकारका रूपमा इशिकालाई मौका दिए । सुरुका केही टेलिसिरियलमार्फत अभिनयमा निखार ल्याउँदै गरे पनि इशिकाको मन भने गीत–संगीतमै थियो ।

यस यात्रामा उनलाई कलाकार अरुण विजयाले निरन्तर साथ दिए, जो अहिले उनका जीवनसाथी समेत बनेका छन् । अरुण विजयाकै अगुवाइमा ‘लभ यू मिथिला’ नामक टिम गठन गरियो, जसको स्टुडियोमार्फत इशिकाले कैयौँ मैथिली गीत रेकर्ड गरिसकेकी छन् । पहाडी समुदायकी भएर पनि उनले मैथिली परम्परागत गीत सहजै गाउने क्षमता देखाएकी छन् । इशिका भन्छिन्, ‘म जन्मेको र हुर्केको ठाउँ मिथिला भएकाले मलाई पहाडी गीतभन्दा मैथिली गीत गाउन सजिलो लाग्छ ।’

मैथिली भेषभूषा मन पराउने इशिका अहिले आफ्नो सुपरहिट फिल्म ‘कलकतियावाली’ को प्रमोशनका लागि भारतको मिथिला क्षेत्रमा गएकी छन् ।

मैथिलीमा कैयौँ सुपरहिट गीत दिएकी इशिकाले अहिलेसम्म नेपाली फिल्मका लागि भने गीत गाउने अवसर पाएकी छैनन् । उनी आफूलाई मैथिली समुदायकै सदस्यका रूपमा चिनाउन चाहन्छिन् । कारण खोल्दै उनले भनिन्, ‘मेरो श्रीमान् मधेसी (यादव) हुनुहुन्छ, अब म पहाडी होइन, मैथिली समुदायकै हुँ भनेर बुझ्नुस् ।’

इशिका भुजेलले मैथिली कला क्षेत्रमा अभिनय र गायन दुवैमा आफ्नो दमदार उपस्थिति देखाएकी छन् । श्रीमान् अरुण विजयाको निर्देशनमा बनेको मैथिली फिल्म ‘कलकतियावाली’ सुपरहिट बनेको छ, जसले लगानीको पाँच गुणासम्म नाफा कमाएको छ । उक्त फिल्ममा इशिकाको अभिनयलाई निकै प्रशंसा गरिएको छ । त्यही फिल्ममा उनले गाएको गीत ‘प्यार होइ या कोना...’ अहिले युट्युबमा ट्रेन्डिङमा छ ।

इशिकाका अनुसार उनको जीवनको ठुलो सपना नै मैथिली गीत–सङ्गीतमा नाम कमाउने हो । उनले भनिन्, ‘श्रीमानको साथ त छँदैछ, यदि सबैले सहयोग गरे भने मैथिली कला क्षेत्रलाई देश–विदेशमा पुर्‍याउने छु । अन्य भाषा–भाषीलाई पनि मैथिली गीत–संगीत सुन्न बाध्य बनाउने मेरो लक्ष्य हो ।’

मैथिली भेषभूषा मन पराउने इशिका अहिले आफ्नो सुपरहिट फिल्म ‘कलकतियावाली’ को प्रमोशनका लागि भारतको मिथिला क्षेत्रमा गएकी छन् । जनकपुरधामको कुवा टोलस्थित एउटा चौरमा भाडामा जग्गा लिएर उनले र उनकी टोलीले सुटिङ स्थल निर्माण गरेका छन् । त्यहीँबाट विभिन्न मैथिली सिरियल र गीत निर्माण भइरहेका छन्, जसलाई युट्युबमार्फत प्रसारण गर्दा दर्शकको उल्लेखनीय साथ र समर्थन प्राप्त हुने गरेको छ ।

उनको टिममा करिब एक दर्जन कलाकार छन् । तर केही समयअघि सोही टोलीमा कार्यरत कलाकार अनिशा झाले सुटिङस्थलको कोठामा आत्महत्या गरेपछि टोली कानुनी झन्झटमा परको थियो । हाल भने कानुनी प्रक्रिया पूरा भइसकेको छ भने टोलीले पुनः पुरानै उत्साहका साथ काम सुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप