शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दाेलन

जेनजी आन्दोलनको क्रममा रौतहटमा ४४ करोड रुपैयाँभन्दा बढीको क्षति

सोमबार, ०६ असोज २०८२, १० : १९
सोमबार, ०६ असोज २०८२

सारांश

  • रौतहटमा जेनजी आन्दोलनका क्रममा ४४ करोडभन्दा बढीको सरकारी तथा निजी सम्पत्तिमा क्षति पुगेको छ।
  • आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा २४ जना घाइते भए, जसमध्ये १९ जना प्रहरी र ५ जना सर्वसाधारण थिए।
  • इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सबैभन्दा बढी क्षति पुगेको छ, जसमा प्रहरीका सवारी साधन र अन्य सामग्री जलेका छन्।

रौतहट । गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा रौतहटमा सरकारी तथा निजी गरी ४४ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको सम्पत्ति नष्ट भएको तथ्यांक सार्वजनिक भएको छ ।

आन्दोलनका क्रममा रौतहटमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा २४ जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार झडपमा १९ जना प्रहरी कर्मचारी र ५ जना सर्वसाधारण सामान्य घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सबैभन्दा बढी क्षति पुगेको छ । त्यहाँ ढुंगामुढा र आगजनीका क्रममा १ जना डीएसपी, २ जना इन्स्पेक्टर, २ जना सई, ४ जना असई, १ जना वरिष्ठ हवलदार, ४ जना हवलदार, १ जना सहायक हवलदार र ४ जना जवान घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए ।

आन्दोलन नियन्त्रणको क्रममा प्रहरीले चन्द्रनिगाहपुर क्षेत्रमा मात्रै १२१ राउन्ड अश्रुग्याँस प्रहार, आगलागीमा परेर ९५ राउन्ड गोली जलेको र ७१ राउन्ड प्रत्यक्ष फायर गरेको समेत प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

प्रहरी कार्यालयमा क्षति

आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ना१झ १३२१ को महेन्द्रा स्कार्पियोसहित प्रहरीका ११ वटा सवारी साधन पूर्ण रूपमा जलेका छन् भने ५ वटा आंशिक र १ वटा सामान्य क्षतिग्रस्त भएको छ । यसको मूल्य करिब ६३ लाख ४४ हजार रुपैयाँ रहेको डीएसपी कार्कीले जानकारी दिए ।

त्यस्तै, आन्दोलनका क्रममा प्रहरी कार्यालयमा रहेको १२ वटा हेलमेट, ४० वटा लाठी, २२ वटा शिल्ड, १५ वटा राइट कन्ट्रोल, १० वटा हतकडी, २ वटा साबेल, २ वटा कोदालो, २३ वटा बेरेट क्याप, ९ वटा बेल्ट, १९ मिटर सर्ट कपडा र ३५ मिटर उनी कपडा क्षति भएको विवरणमा उल्लेख छ ।

सरकारी कार्यालयमा क्षति

तोडफोड र आगजनीका कारण विभिन्न सरकारी कार्यालयमा मात्र ३६ करोड ३ लाख रुपैयाँभन्दा बढी क्षति भएको अनुमान गरिएको छ ।

  • गौर नगरपालिका: करिब ६४ लाख
  • जिल्ला प्रशासन कार्यालय गौर: ९ लाख
  • जिल्ला अदालत गौर: ५० हजार
  • राष्ट्रिय अनुसन्धान कार्यालय गौर: ७५ हजार
  • करदाता सेवा कार्यालय गौर: ९ लाख
  • कारागार कार्यालय गौर: ५० हजार
  • चन्द्रपुर नगरपालिका: ३ करोड
  • सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरः ६ करोड
  • वन डिभिजन कार्यालय चन्द्रनिगाहपुरः २ करोड ५० लाख
  • प्रदेश लेखा इकाई कार्यालय चन्द्रनिगाहपुरः २ करोड ६० लाख

अरू कुन कार्यालयमा कति क्षति ?

मौलापुर नगरपालिकामा मात्रै २ वटा स्कार्पियो, १ जेसीबी र १ ट्याक्टर जलेर ५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । वृन्दावन नगरपालिका १ नम्बर वडा कार्यालयमा १६ लाख, वडा नम्बर ८ को कार्यालयमा ८ लाख १४ हजार ३ सय, कटहरिया नगरपालिकाको १ करोड ७४ लाख २८ हजार ४ सय, फतुवा विजयपुर नगरपालिकामा आगजनी तथा तोडफोड गर्दा २ करोड, बौधिमाई नगरपालिकाको १ करोड ६८ लाख २२ हजार ६७५, माधव नारायण नगरपालिकामा ८ लाख ६१ हजार १४०, गुजरा नगरपालिका ४ को वडा कार्यालयको ५० हजार गरी ३६ करोड ३ लाख ४५ हजार ९ सय ६५ रुपैयाँ सरकारी कार्यालयमा अनुमानित क्षति पुगेको छ  ।

  • निजी सम्पत्तिमा क्षति

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सम्पत्तिमा करिब ४५ लाख, प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमिल्सिनाको २ करोड ६० लाख, प्रदेश सांसद युवराज भट्टराईको ५ हजार, सहायक सीडीओ किरणनिधि तिवारीको ६७ लाख, चन्द्रपुर नगर प्रमुख सञ्जय काफ्लेको ५० लाख, मौलापुर नगर प्रमुख रीना साहको ५ हजार, गरुडा नगर प्रमुख कन्थमणि जायसवालको ३ करोड ८९ लाख ४९ हजार ५००, फतुवा विजयपुरका कार्यवाहक मेयर अम्बेया खातुनको ३० लाख र अन्य मिलाएर ८ करोड ४२ लाखभन्दा बढीको व्यक्तिगत सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप