दसैँको महिमा : घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म
प्रकृतिमा मातृत्व छ र प्रकृतिको त्यो मातृत्व गुण अनेक रूपमा विद्यमान छ– प्रकृति, सूर्य, धरती, स्त्री आदि । मानिसले माताको मातृत्व गुणबाटै जीवन र जीवनी शक्ति प्राप्त गर्छ ।
देवी भागवत महापुराणका अनुसार शक्ति शब्दको विवेचन गर्दा ‘शक्’ शब्द ऐश्वर्यवाचक हो र ‘इति’ शब्द पराक्रमवाचक हो । ‘ऐश्वर्य र पराक्रम’को गुण नै ‘शक्ति’ कहलाउँछ ।
अपरा’ (निम्न/जड) र ‘परा’ (उच्च/चेतन) दुई प्रकारका शक्ति वा ज्ञान छन्, जहाँ अपरा शक्ति भौतिक तत्त्व (पृथ्वी, जल, अग्नि, वायु, आकाश, मन, बुद्धि, अहंकार) र त्यससँग जोडिएको भौतिक ज्ञानसँग सम्बन्धित छ, त्यहाँ परा शक्ति स्वयंलाई वा ब्रह्मलाई जान्ने श्रेष्ठ चेतना र पारलौकिक ज्ञानसँग सम्बन्धित छ । शक्ति उपासना पर्वले हामीलाई यी दुवै शक्ति र ज्ञानसँग तादात्म्य गराउँछ ।
मनुष्य जगत्को आरम्भदेखि नै मानिसको जीवनमा मातृशक्तिको विशिष्ट स्थान रहँदै आएको छ । मातृत्व नै शक्ति हो । सनातन संस्कृतिले त्यसै मातृशक्तिको पराशक्तिको पूजा तथा उपासना गर्न सिकाएको छ । पौराणिक ग्रन्थमा देवताहरूले समेत गाह्रोसाह्रो पर्दा देवी शक्तिको उपासना गर्ने गरेका छन् । आमाले बच्चालाई आपतविपत पर्दा रक्षा गरेजस्तै परा मातृशक्ति माता भगवतीले देवी दुर्गाको रूपमा मानिसको रक्षा गर्नुहुन्छ । माता दुर्गाले महाकाली, महालक्ष्मी, महासरस्वती, दुर्गा, भीमा, भ्रामरी, शाकम्भरी, शताक्षी आदि आवश्यकता अनुसार जहाँ जस्तो रूप आवश्यक पर्छ त्यस्तै रूपमा प्रकट भएर भक्तको संकट निवारण गर्नुहुन्छ । देवी दुर्गाबाटै हामीलाई बुद्धि, शक्ति र लक्ष्मी आदिको प्राप्ति हुन्छ ।
या देवी सर्वभूतेषु बुद्धिरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
या देवी सर्वभूतेषु लक्ष्मीरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
देवी दुर्गाको उपासना जीवनको सर्वोत्तम कर्म हो । नवरात्र शक्ति उपासनाको विशेष पर्व हो । यति बेला दुर्गतिनाशिनी देवी दुर्गाको उपासना गरी आशीर्वाद प्राप्त गरिन्छ; प्रसादको रूपमा टीका र जमरा लगाउने गरिन्छ । नीलकण्ठको दर्शन गरिन्छ । यी पराक्रमले आयु, आरोग्य, सुख, शान्ति, समृद्धि, ऐश्वर्य, शुभता प्राप्त हुन्छ । दुर्गा पूजा सबैलाई नभई नहुने उपासना हो ।
मिथिलामा घरघरमा र देवीका मन्दिरहरूमा र गह्वरहरूमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ । शंख, डमरु, घण्टी, ढोल आदि बजाई देवी पर्व मनाइन्छ । पहिले–पहिले गाउँ–गाउँमा दसैँको दिन बिहान–बिहान ढोलहा दिने चलन थियो । दसैँ अवधिभर दुर्गासप्तशती (चण्डी), स्तोत्र रत्नावली, कालिका स्तोत्र, दुर्गा कवच आदि पाठ गरिन्छ र नौ दिवा–रात्रि पूजा र हवन गरेर दशौँ दिन विसर्जन गरिन्छ ।
नवरात्रमा देवी दुर्गालाई प्रशन्न पारी तथा उहाँको विशेष कृपा प्राप्त गरी जीवन धन्य बनाउनका लागि देवी दुर्गाको त्रिगुण चरित्र र नौ स्वरूपको आराधना गरी श्रीदुर्गासप्तशती (चण्डी) पाठ गर्नुपर्छ । देवी दुर्गा प्रशन्न भई उपासकलाई धर्म, अर्थ, काम र मोक्ष प्रदान गर्नुहुन्छ ।
- शारदीय नवरात्र
नवरात्र पर्वमा नौ दिन र नौ रातसम्म दुर्गा भगवतीको उपासना हुने भएकाले यसलाई नवरात्र भन्ने गरिएको हो । नौ दिनसम्म शक्ति उपासना गरी दसौँ दिन विसर्जन गरेर मनाइने भएकाले व्यावहारिक भाषामा दसैँ भन्ने गरिएको भन्न सकिन्छ । भगवान् रामले यसै दिन रावणको वध गर्नुभएको थियो । देवी दुर्गाले नौ रात्रि एवं दश दिन युद्ध गरी असुरहरूको विनाश गर्नुभएको थियो । यसलाई असत्यमाथि सत्यको विजयको रूपमा मनाइन्छ । त्यसैले यस नवरात्रलाई ‘विजयादशमी’ को नामले जानिन्छ ।
आश्विन मासको कृष्णपक्ष, पितृपक्ष र शुक्लपक्ष देवीपक्षका रूपमा स्थापित छ । आश्विन कृष्ण अमावस्याको दिन सर्वपितृ पूजा गरी पितृपक्षको कर्म पूरा हुन्छ । यसपछि यसको भोलिपल्ट अर्थात् आश्विन शुक्ल प्रतिपदाको दिनदेखि देवीपक्ष सुरु हुन्छ । शारदीय नवरात्र, विजयादशमी, बडा दसैँ, दशहरा, नवरथा, दुर्गा पूजा, जागरण आदि देवीपक्षकै पर्याय हुन् ।
यसो त वर्षमा चारवटा नवरात्र पर्छन् । माघ, आषाढ, आश्विन र चैत्रको चारवटै शुक्ल पक्ष देवीपक्ष वा नवरात्र हुन् । यी महिनाको शुक्ल पक्षको प्रतिपदादेखि नवमीसम्म नवरात्र मनाइन्छ । माघ र आषाढमा आउने नवरात्रलाई गुप्त नवरात्र भनिन्छ । सामाजिक व्यवहारमा आश्विनको शारदीय नवरात्र र चैत्रको वसन्त नवरात्र विशेष प्रचलित छ ।
- नवदुर्गाको पूजा
‘दुर्गा’ देवी शक्तिको महाकाली, महालक्ष्मी र महासरस्वतीको संयुक्त चरित्र हो, जसलाई देवी दुर्गा, दुर्गा भवानी, माता दुर्गा, जगदम्बा आदि नामले पुकारिन्छ । नवरात्रमा प्रतिपदादेखि नवमीसम्म देवी दुर्गाको तीन चरित्र (महाकाली, महालक्ष्मी र महासरस्वती) तथा नौ स्वरूप (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री)को पूजा गरिन्छ।
पहाडतिर दसैँका लागि एउटा उखान छ, ‘दसैँ आयो ढोल बजायो, दसैँ गयो ऋण बोकायो ।’ यसको अर्थ दसैँमा आर्थिक भार क्षमताभन्दा बढी पर्न जाने भएकाले यस्तो उखान बन्न गयो भनी भन्न सकिन्छ तर मिथिलामा यस प्रकारको धारणा पाइँदैन ।
नवरात्र शुक्ल प्रतिपदादेखि सुरु भएर दशमीको दिन विजय पर्व मनाउँदै कोजाग्रत पूर्णिमाको दिन पूरा हुन्छ । यस (२०८२) वर्ष आश्विन ६ गते सोमबार नवरात्र प्रारम्भ हुँदै छ । प्रतिपदाको दिन देवी शैलपुत्रीको पूजा हुन्छ । यिनै नवदुर्गाकी प्रथम दुर्गा हुन् । पर्वतराज हिमालयको घर पुत्री रूपमा उत्पन्न भएकै कारण यिनको नाम ‘शैलपुत्री’ रह्यो ।
नवरात्र–पूजनमा प्रथम दिन यिनैको पूजा र उपासना गरिन्छ । द्वितीया तिथिमा ब्रह्मचारिणीको पूजा हुन्छ । ब्रह्मचर्य व्रत धारण गर्ने भएकीले ब्रह्मचारिणी कहलिएकी हुन् । तृतीया तिथिमा चन्द्रघण्टाको पूजा गरिन्छ । चतुर्थी तिथिमा कुष्माण्डाको, पञ्चमी तिथिमा स्कन्दमाताको, षष्ठी तिथिमा कात्यायनीको, सप्तमी तिथिमा कालरात्रिको, अष्टमी तिथिमा महागौरीको र नवमी तिथिमा सिद्धिदात्रीको पूजा गरिन्छ ।
- घटस्थापना
घटस्थापना नवरात्र उपासना अनुष्ठानको आधार हो । घटस्थापना भनेको कलश स्थापना गरी अनुष्ठान प्रारम्भ गर्नु हो । यो कलशलाई देवी दुर्गाको स्वरूप मानेर पूजाअर्चना गरिन्छ । कलश सबै देवीदेवताको मातृशक्ति हुन् । दसैँमा कलश स्थापनाको विशेष महत्त्व छ । कलशका बारेमा एउटा मान्यता छ कि यो सबै तीर्थ यात्राको प्रतीक हो ।
सनातन धर्ममा पूजा–पाठ, यज्ञ, अनुष्ठान गर्दा दीपक पूजन र कलश पूजन सबैभन्दा प्रारम्भिक कर्तव्य मानिन्छ । यसमा विशेष अखण्ड दीप समेत बालिन्छ । घटस्थापनामा बालेको अखण्ड दीप दशमीको दिन पूजा विसर्जनपश्चात् मात्र निभाइन्छ ।
दसैँमा कलश स्थापनासँगै जयन्ती (जमरा) छर्ने विधान पनि छ । नदीबाट ल्याइएको बालुवाको वेदी बनाई त्यसमा जौ छरिन्छ । पहाडतिर जौसँगै धान, गहुँ, मकै आदि अन्न पनि छर्ने चलन छ । त्यसै वेदीमाथि कलश स्थापना गरिन्छ । दुर्गा भवानीलाई मनपर्ने भएकाले विशेष गरी जयन्ती छर्ने चलन छ । जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको हिसाबले यो निकै पौष्टिक मानिन्छ । यसमा औषधीय गुण पनि हुन्छ । वेद ग्रन्थादिमा जौलाई रोग हटाउने, यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने वस्तुको रूपमा लिइएको छ । जौलाई अन्नको राजा मानिएको छ । जयन्ती राम्रो आहार पनि हो । किनभने यसमा पोषक तत्त्व पाइन्छ, जसमध्ये क्लोरोफिल अधिक हुन्छ । त्यसका साथै प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो, गहुँको जमरा । घटस्थापनाकै दिन चण्डी पाठ पनि प्रारम्भ गरिन्छ ।
- निशा पूजा र फूलपाती
सप्तमी तिथि नवरात्रको विशेष दिवस हो । कालरात्रि सबैका लागि महत्त्वपूर्ण हो । सप्तमी तिथिमा कालरात्रिको अर्थात् देवी कालीको पूजा गरिन्छ । घरघरमा कुल देवीदेवता र महाकाली दुर्गालाई विशेष परिकार भोग लगाइन्छ । देवीको प्रतिमा निर्माण गरिएको गह्वरहरूमा निशा पूजा गरिन्छ । निशा पूजाको अर्थ रात्रिकालको पूजा हो । सप्तमीको राति निशीथ कालमा निशा पूजा गरिन्छ, जसमा माता दुर्गाको पूजा र शक्ति साधना गरिन्छ । नवरात्रिमा साधक र तान्त्रिक निशीथ कालमा पूजा गर्छन् ।
पहाडी भूभागमा फूलपाती मनाइन्छ । घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र हात्ती खुट्टे पात (मानवृक्ष) भित्र्याइन्छ । यसै दिन नवपत्रिकाको फूलपाती भित्र्याइन्छ । हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।
गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ । दसैँघर, कोत र देवीस्थानमा यसलाई विशेष बाजागाजाका साथ भित्र्याइन्छ । नेपालमा बौद्ध धर्म मान्ने समुदायले पनि काली र भैरवलाई बलिसहित पूजा गरेको देखिन्छ ।
- महाष्टमी र महानवमी
नवरात्रमा महाष्टमी र महानवमीको दिन उपवास लिनुको विशेष महत्त्व छ । यस दिन निर्जला व्रत राखेमा दीर्घायु प्राप्त हुन्छ । अष्टमीको दिन विवाहिता आफ्नो अचल सुहागका लागि माता गौरीलाई रातो चुनरी चढाउँछन् । माता महागौरी अन्नपूर्णाकी रूप पनि हुन् । यस दिन माता अन्नपूर्णाको पनि पूजा हुन्छ । महाष्टमीको दिन महाकाली (भद्रकाली) को विशेष पूजा गरिन्छ ।
देवी भागवतका अनुसार प्राचीन कालमा दक्ष प्रजापतिको यज्ञ नाश गर्ने अत्यन्त शक्तिशाली भद्रकाली करोडौँ योनि शक्तिका साथ यसै अष्टमीका दिन उत्पन्न हुनुभएको थियो । त्यसैले यस दिन उहाँको पूजा सोह्र सामग्रीले गर्ने गरिन्छ । पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बलि दिइन्छ । यी दिनमा मानिसहरू आ–आफ्ना कुलदेवीदेवता र देवीदेवतालाई पूजा गरी सात्त्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला आदि फल अर्पण गर्छन् । नवमीको दिन कन्या पूजन गरिन्छ, कन्या पूजाका बारेमा लेखिएको छ कि दस वर्षभन्दा कम उमेर भएकी कन्याको पूजा गरी दक्षिणा दिइन्छ । काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणका लागि खुला रहन्छ ।
- विजयादशमी
यस पर्वलाई नवरात्र र दसैँ दुवै नामले पुकारिनुको अर्थ नौ रात र दस दिन भन्ने हो । अर्थात् नौ दिन–रात पूजा र दसौँ दिन पूजा, टीका, जात्रा आदि भनेर बुझ्नुपर्छ । पहिलो दिन देवीको आगमन हुन्छ भने दसौँ दिन देवीको प्रस्थान अर्थात् बिदाइको दिन हो । नवाँै दिन देवी दुर्गाको पूजा गरेर दशमीको दिन पूजा विसर्जन गरिन्छ । प्रतिपदाको दिन स्थापना गरेर देवी पूजा गरेको कलश दशमीका दिन विसर्जन गरिन्छ ।
भक्तजनले दशमीको दिन कलशको जलसेचन गरी कुमकुमको टीका र जयन्ती धारण गर्छन् । ब्राह्मण यजमानको मंगल द्रव्यका रूपमा जयन्ती प्रदान गर्छन् । नवरात्रको दसौँ दिनलाई पहाडमा ‘जात्रा’ भनेझैँ मिथिलामा पनि यस दिनलाई ‘जतरा’ (साइत) भनिन्छ । आजको दिन ‘नीलकण्ठ’ चराको दर्शन गर्ने चलन छ । जतराको दिन नीलकण्ठको दर्शन भयो भने वर्षभरि हुने अपेक्षित कार्यहरूको साइत बन्यो भन्ने विश्वास हुन्छ । जतराको दिनको अर्को के पनि मान्यता छ भने यस दिन चेलीबेटीको वर बिदाइ गर्दा वा कसैले पनि यात्रामा निस्कनुपर्दा साइत हेरिराख्नुपर्दैन ।
यस दिन सुरु गरिएको कुनै पनि कामलाई विजयको मुकुट लगाइन्छ भन्ने विश्वास गरिन्छ । प्राचीन समयमा राजाहरूले आफ्नो युद्धमार्गमा निस्कनुअघि यस दिन विजयका लागि प्रार्थना गर्थे । यस दिन विभिन्न स्थानमा मेला लाग्छ, रामलीला गरिन्छ । रावण, मेघनाद र कुम्भकरणका विशाल पुतला बनाएर जलाइन्छन् ।
यो वर्ष नवरात्रको प्रारम्भ असोज ६ गते सोमबारबाट भइरहेको छ । यसको समापन विजया दशमीको साथ हुन्छ । देवी भागवत पुराणका अनुसार नवरात्रको प्रारम्भ सोमबारबाट भएमा माता दुर्गा हात्तीमाथि सवार भएर आउनुहुन्छ ।
भनिन्छ,
‘शशि सूर्य गजारूढा शनिभौमै तुरंगमे
गुरौ शुक्रे च दोलायं बुधे नौकाप्रकीर्तिता ।।
- टीका
पहाडतिर दसैँमा टीकाको विशेष चलन छ । दसैँको जात्राको दिनदेखि पूर्णिमासम्म मान्यजनलाई भेट्न जाने र त्यस अवसरमा मान्यजनले टीका लगाइदिने चलन छ । टीका लगाइदिँदा निधारभरि रातो अक्षतासँगै कानमा जमरा लगाइदिने चलन छ । पहाडतिर निधारमा टीका र कानमा जमरा सिउरिनुलाई दसैँ मनाएको सङ्केतका रूपमा लिइन्छ । काठमाडौँको नेवार समुदायभित्रका महर्जन आदि केही समुदायले दीपबाट तयार पारेको कालो टीका पनि साथै लगाउने चलन छ । दसैँमा आफूभन्दा ठुला मान्यजनबाट टीका, जमरा लगाई आशीर्वाद लिने विधान छ । दसैँको टीका नेपालको पूर्व क्षेत्रमा पाँच दिन चल्छ भने पश्चिमाञ्चल क्षेत्रमा एक दिन मात्र लगाउने चलन छ ।
पहाडतिर दसैँका लागि एउटा उखान छ, ‘दसैँ आयो ढोल बजायो, दसैँ गयो ऋण बोकायो ।’ यसको अर्थ दसैँमा आर्थिक भार क्षमताभन्दा बढी पर्न जाने भएकाले यस्तो उखान बन्न गयो भनी भन्न सकिन्छ तर मिथिलामा यस प्रकारको धारणा पाइँदैन ।
दसैँमा सामान्यतः घर–परिवारमा कुल परम्परादेखि नै रहिआएको कुलदेवीलाई दसैँको दिन विशेष प्रकारले पूजा–अर्चना गर्नु नै नवरात्रको उपासना हो, जो त्यति खर्चालु विषय हुँदैन । गाउँमा हरेक वर्ष शारदीय नवरात्र, वसन्त नवरात्र र जन्माष्टमीमा देवी–देवताको प्रतिमा बनाई पूजा–आराधना गर्ने भाकल लिएका एक–दुई परिवारले यस दसैँमा प्रतिमा बनाई पुज्छन् । विजया दशमीमा मूर्तिहरू बनाएका ठाउँमा र देवी मन्दिरहरूमा मेला लाग्ने चलन पनि छ । केटाकेटीहरू मेला जान बढी उत्सुक हुन्छन् तर धेरै खर्चालु हुँदैन । मिथिलामा दसैँ पूजामा खास खर्च हुँदैन । बोका बलि दिने, भाकल लिनेहरूले आफैँले बोका पालेका हुन्छन् । दसैँभन्दा बढी खर्च दीपावलीमा हुन्छ र दीपावलीभन्दा बढी खर्च छठ पर्वमा र छठभन्दा पनि धेरै बढी फागु पूर्णिमा होली पर्वमा हुने हुन्छ तर ती कुनै पनि पर्वमा आर्थिक भारतको घटी–बढीको धारणा मिथिलामा रहेको पाइँदैन ।
- कोजाग्रत पूर्णिमा
दसैँ सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ, यस दिनलाई शरद पूर्णिमा पनि भनिन्छ । प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडा दसैँ कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी देवी पक्षको समापन गरिन्छ । सम्पन्नताकी देवी महालक्ष्मीले यस रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्छन् ।
मिथिलामा मैथिल ब्राह्मण र कायस्थको घरमा कुनै विवाह आयोजना भएको वर्षको कोजाग्रत पूर्णिमाको रात ‘कोजागरा’ पर्व मनाइन्छ । कोजाग्रत नवविवाहित व्यक्तिको दुर्वाक्षतले अभिनन्दन गरिने चलन छ । यस पर्वमा पान–मखानको विशेष महत्त्व छ । कोजागरा मनाउन बेहुलीपट्टिका तर्फबाट बेहुलाको घरमा उपहार पठाउने चलन छ ।
कोजाग्रत पूर्णिमाको भोलिदेखि आकाशदीप बाल्ने परम्परा छ । कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूणिर्मासम्म अर्थात् एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान् विष्णुको पूजा–अर्चना गर्ने प्रचलन अनुसार आकाशदीप बाल्ने र कात्तिक स्नान गर्ने गरिन्छ, जसको समापन देवोत्थान एकादशीको दिन हुन्छ ।
पहाडतिर बडादसैँको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसैँघर र कोतहरूमा राखिएका जमरा यसै दिन विसर्जन गरिन्छ ।
कोजाग्रत पूर्णिमाका दिन राष्ट्र प्रमुखबाट भक्तपुर गछेँस्थित नवदुर्गा पीठमा पूजा–अर्चना गरी यस वर्षको बडादसैँ समापन भएको जनाउदिने प्रचलन छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ ।
विजयादशमी भगवान् रामको विजयको रूपमा मनाइन्छ वा दुर्गा पूजाको रूपमा, यो शक्ति पूजाको पर्व हो, शस्त्र पूजाको दिन हो । यो आनन्द, खुसी र विजयको पर्व हो । मिथिला संस्कृतिले वीरता र वीरताको पूजा गर्छ । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने सुनिश्चित गर्न नवरात्र मनाइन्छ । दशहरा पर्वले यी दश प्रकारका पापहरू त्याग्न प्रेरित गर्छ : वासना, क्रोध, लोभ, मोह, अभिमान, ईष्र्या, अहंकार, आलस्य, हिंसा र चोरी ।
दशहरा वा विजयादशमी दक्षिण एसियामा मनाइने प्रमुख हिन्दु पर्वहरूमध्ये एक हो, जुन नराम्रोमाथि राम्रोको, असत्यमाथि सत्यको, अज्ञानमाथि ज्ञानको, अधर्ममाथि धर्मको, पापमाथि पुण्यको, दुष्टतामाथि सद्गुणको, क्रोधमाथि क्षमा र दयाको विजयको सम्झनामा मनाइन्छ । यो पर्व नेपाल, भारत र बंगलादेश लगायत अन्य देशमा पनि अनौठो रीतिरिवाज, परम्परा र ठुलो उत्साहका साथ मनाइन्छ । यस पर्वसँग सम्बन्धित धेरै कथा भएकाले, देशभर दशहरा फरक–फरक तरिकाले मनाइन्छ । दशहरालाई विभिन्न देशमा फरक–फरक नामले चिनिन्छ, यद्यपि यसको महत्त्व उस्तै छ । यो पर्व हामीभित्रको नकारात्मक ऊर्जा र चरित्रको अन्त्य र राम्रो कुराको आरम्भ गर्छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण