विदेशको अनुभव, स्वदेशमा उपयोग
सारांश
- विदेशबाट फर्केका युवाहरूले गाउँमै व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनबाट राम्रो आम्दानी गरिरहेका छन्।
- टेम्केमैयुङ गाउँपालिकाका प्रेमबहादुर बस्नेतले विदेशको अनुभव प्रयोग गरी गाउँमा बाख्रापालन र जडीबुटी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन्।
- उद्यममा लाग्न चाहनेहरूले ज्ञान र सीप लिनुपर्ने र राज्यले किसानलाई तालिमको व्यवस्था गर्नुपर्ने कुरा बताइएको छ।
भोजपुर । वर्षौँदेखि विदेशमा श्रम गरेर पनि सोचेजस्तो कमाइ र सन्तुष्टि नपाएका युवाहरू अहिले आफ्नै गाउँ फर्केर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनबाट राम्रो आम्दानी गर्न थालेका छन्। विदेशको भोगाइ र अनुभवलाई प्रयोग गरेर उनीहरूले आफ्नो व्यवसायबाट मनग्य लाभ लिइरहेका छन्।
टेम्केमैयुङ गाउँपालिका-१, तिम्माका प्रेमबहादुर बस्नेत यसको एक उदाहरण हुन्। लामो समय विदेशका विभिन्न देशमा पसिना बगाए पनि राम्रो आम्दानी नभएपछि उनी गाउँ फर्केर व्यवसायमा लागेका हुन्। अहिले गाउँमै बाख्रापालन र जडीबुटी खेतीबाट राम्रो कमाइ भइरहेको उनी बताउँछन्। परिवारसँगै बसेर गरेको उद्यमबाट घर खर्च चलाउन कुनै समस्या नभएको उनको भनाइ छ।
"विदेशमा धेरै दुःख गरेँ, तर आम्दानी भनेजस्तो भएन," बस्नेत भन्छन्, "अहिले आफ्नै गाउँमा बसेर बाख्रापालन र जडीबुटी खेती गरिरहेको छु। गाउँमा थालेको व्यवसायबाट विदेशमा भन्दा राम्रो आम्दानी भइरहेको छ। मेहनत गरे यहीँ राम्रो आम्दानी हुने रहेछ भन्ने अनुभव भयो।"
विदेश जान चाहनेहरूका लागि गाउँमै उदाहरणीय बन्ने लक्ष्यका साथ कृषि कर्ममा जुटिरहेको उनी बताउँछन्। व्यवसायमा निरन्तरता दिन सके क्रमिक रूपमा लाभ लिन सकिने उनको अनुभव छ। "हामी छोटो समयमा धेरै लाभ लिने सोच्छौँ," उनी भन्छन्, "तर व्यवसायबाट आम्दानी लिन केही समय धैर्य गर्नुपर्छ। निरन्तर आफ्नो कर्ममा जुट्ने हो भने सफलता पाइने रहेछ।"
उद्यममा लाग्न चाहनेहरूले सम्बन्धित काममा ज्ञान र सीप अनिवार्य रूपमा लिनुपर्ने उनको अनुभव छ। कुनै पनि व्यवसाय गर्न न्यूनतम सीप आवश्यक हुने उनी बताउँछन्। राज्यले किसानलाई उद्यममा जोड्नुअघि आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।
हाल भोजपुरका विभिन्न ग्रामीण भेगमा विदेशबाट फर्किएका धेरै युवा व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षित भइरहेका छन्। तर, उनीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक प्राविधिक ज्ञान, तालिम तथा पशुचिकित्सकीय सेवाको अभाव झेलिरहेको गुनासो गर्ने गरेका छन्। राज्यबाट दिइने सेवाहरू सरल र सहज भए गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिने उनीहरूको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण