आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

साढे पाँचदेखि ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न समस्या छैन : कार्यकारी निर्देशक खरेल

मङ्गलबार, ०७ असोज २०८२, १५ : ०३
मङ्गलबार, ०७ असोज २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले जेनजी प्रदर्शनबाट समस्यामा परेका व्यवसायीको मनोबल उकास्न विभिन्न किसिमका सहुलियतहरू प्रदान गर्ने बताएका छन् ।

मङ्गलबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको अर्थतन्त्रको पुनरुत्थानको आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा खरेलले यस्तो बताएका हुन् ।

उनले जेनजी प्रदर्शनपछि खासगरी निजी क्षेत्रको मनोबल कमजोर बनेकाले त्यसलाई उकास्न कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण, सहुलियतपूर्ण दरमा कर्जा प्रवाह, कम ब्याजमा ऋण उपलब्ध गराउने काम गरिने बताए ।

‘जेनजी प्रदर्शनपछि अब अर्थतन्त्र मन्दीमा जाने हो कि ? मूल्यवृद्धि बढ्ने हो कि भन्ने आशङ्काहरू पैदा भइरहेका छन् । तर, क्षतिपछिको समग्र अवस्था हेर्दा लक्षित सीमा भन्दा माथि मूल्यवृद्धि जाने देखिँदैन,’ खरेलले भने, ‘विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त रहेको छ भने बाह्य क्षेत्रमा असर नगरेसम्म रेमिट्यान्समा पनि प्रभाव पर्ने देखिँदैन । यसले विदेशी मुद्रा सञ्चितिमा हामी सहज अवस्थामा रहने देखिन्छ ।’

उनले  विगतका क्षतिपछि कसरी पुनर्निर्माणमा काम गर्ने भन्ने प्रश्न उठ्ने गरेको भएपनि अहिले आजकै दिनमा खर्च गर्न सकिने ८ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको बताए ।

अर्कोतर्फ लगानीका लागि ब्याजदर पनि सहज अवस्थामा रहेको उनको भनाइ छ । यसले भौतिक संरचनाको पुननिर्माण सहज हुने खरेलको दाबी छ ।

‘अबको मुख्य विषय भनेको निजी क्षेत्रको मनोबल कसरी माथि उकास्न सकिन्छ भन्ने हो । तरलता पर्याप्त भएको र ब्याज पनि न्यून छ भने लगानी गर्दा प्रतिफल प्राप्त गर्न सकिने वातावरण पनि छ । यसरी हेर्दा हामी धेरै समस्यामा छैनौँ,’ खरेलले भने, ‘कोरोना महामारीपछि आइटी क्षेत्रमा सुधार भए जस्तै अब कुन क्षेत्रमा कसरी अगाडि जान सकिन्छ भन्ने विषयलाई हेरेर जानुपर्ने आवश्यकता छ ।’

उनले वित्तीय स्थिति सहज भएकाले यही आर्थिक वर्षमा साढे पाँच वा ६ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्न समस्या नरहेको बताए । सरकारी क्षेत्रबाट पुनर्निर्माण राम्रो योगदान हुने देखिँदै गर्दा निजी क्षेत्रबाट पनि सोही किसिमको अवस्था सिर्जना गर्न जरुरी रहेको उनको भनाइ छ ।

‘हाम्रो मुलुकमा पछिल्लो समय दशक दशकमा परिवर्तन भइहरेको छ । क्षति पनि हुने र नयाँ नयाँ कुराहरू आउने पनि भइरहेका छन् । कोरोना महामारीको समयमा पनि हाम्रोमा डिजिटलाइजेसन व्यापक रूपमा भयो भने आइटी क्षेत्र पनि सकारात्मक गतिमा अगाडि बढ्यो, उनले भने । यस समयमा पर्यटन क्षेत्रमा समेत सुधार भएर गएको खरेलले बताए ।  

अहिले सबै क्षेत्रमा नयाँ ढङ्गले काम गर्नुपर्छ भन्ने सोच पैदा भएको, पारदर्शी हुँदै सार्वजनिक संस्थालाई सुधार गर्नुपर्ने र सरकारले नागरिकको आवाज सुन्ने मात्रै नभई समयमा समस्या समाधानका लागि गाँठो फुकाउनुपर्छ भन्ने सकारात्मक सन्देश पैदा भएको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप