शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँका होटल र रेस्टुरेन्टमा म्याद गुज्रेका खानेकुरा फेला

बुधबार, ०८ असोज २०८२, १३ : २६
बुधबार, ०८ असोज २०८२

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न होटल, रेस्टुरेन्ट र उद्योगहरूमा भएको अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गम्भीर लापरबाही भेट्टाएको छ। विभागका अनुसार अधिकांश प्रतिष्ठानहरूमा म्याद गुज्रेका खानेकुराको प्रयोग, अस्वच्छ भण्डारण, र सरसफाइको अभाव देखिएको छ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही गर्दै त्यस्ता व्यवसायलाई निर्देशन दिएको छ। अनुगमनका क्रममा भेटिएका केही प्रमुख कैफियतहरू यसप्रकार छन्:

  • ससुराली रेस्टुरेन्ट प्रालि (मध्यपुर ठिमी): यहाँ म्याद गुज्रेका खाद्य पदार्थ, कालो झोल तेल र फोहोर फेला परेको थियो। विभागले ती सामग्री नष्ट गरी सरसफाइमा सुधार गर्न र कृत्रिम रङको प्रयोग घटाउन निर्देशन दिएको छ। ५ लिटर तेल पनि नष्ट गरिएको छ।
  • सिलौटो सेकुवा एण्ड पाटी भ्यू प्रालि (मध्यपुर ठिमी): यस रेस्टुरेन्टमा अस्वच्छ भण्डारण, म्याद गुज्रेका खानेकुरा, उत्पादन मिति र ब्याच नम्बरको अभाव, तथा कृत्रिम रङको प्रयोग पाइएको छ। विभागले म्याद गुज्रेका सामान नष्ट गरी सरसफाइ र गुणस्तर सुधार गर्न निर्देशन दिएको छ।
  • चिलहाउस प्रालि (मध्यपुर ठिमी): यस रेस्टुरेन्टमा कुखुराको मासुमा अखाद्य रङ प्रयोग गरेको र म्याद गुज्रेको क्यारामेल सिरप भेटिएको थियो। विभागले कृत्रिम रङ प्रयोग नगर्न र गुणस्तरमा ध्यान दिन निर्देशन दिएको छ।
  • आहाना फुड एण्ड वेभरेज प्रालि (बुढानीलकण्ठ): यहाँ भण्डारणको अवस्था अव्यवस्थित पाइएको छ। भुइँमा दूध पाउडर र चिनी राखिएकोले उचित व्यवस्थापन गर्न निर्देशन दिइएको छ।
  • स्वच्ट शिवपुरी खानेपानी सेवा प्राली (बुढानीलकण्ठ): यस खानेपानी उद्योगको 'फिलिङ सेक्सन' (पानी भर्ने स्थान) अस्वच्छ भेटिएको र पानीको गुणस्तर मापदण्डअनुसार नभएको पाइएको छ। विभागले तत्काल सुधार गर्न निर्देशन दिएको छ।
  • नौलिन भद्रकाली डेरी फार्म प्रालि (बुढानीलकण्ठ): यस डेरीमा उत्पादन प्रक्रिया र भण्डारणमा सरसफाइ सन्तोषजनक नभएको, भित्तामा लेउ लागेको र दूधको प्याकेटमा ब्याच नम्बर नलेखिएको भेटिएको छ। विभागले तत्काल सरसफाइ र गुणस्तर सुधार गर्न निर्देशन दिएको छ।
  • विकास फुड्स प्रोडक्ट्स प्रालि (काठमाडौँ): यहाँ म्याद गुज्रेका तेलका कार्टुनहरू, अस्पष्ट लेबल, र 'फर्स्ट इन फर्स्ट आउट' प्रणालीको पालना नगरेको पाइएको छ। विभागले म्याद गुज्रेका तेल हटाउन र भण्डारण प्रणाली सुधार गर्न निर्देशन दिएको छ।

विभागले खाद्य सुरक्षाको मापदण्ड पूरा नगर्ने सबै प्रतिष्ठानहरूलाई कडा निगरानीमा राखिएको र थप कारबाही गरिने जनाएको छ।

image

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप