शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

भाइहरूका घर जलेपछि खड्का भन्छन्– मेरी आमा, जिमुवालकी छोरी र मेरा बाबु मुखिया हुनुहुन्थ्यो

बिहीबार, ०९ असोज २०८२, १७ : ५०
बिहीबार, ०९ असोज २०८२

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काका भाइहरू डम्बर खड्का र विष्णु खड्काका दुवै घर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलेका छन् । आन्दोलनकारीले खड्काको राजनीतिक संलग्नताका कारण वीरेन्द्रनगरमा रहेका उनकै भाइहरूका घरलाई निसाना बनाएका थिए ।

बिहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति खड्काले उक्त विषयमा कडा टिप्पणी गरेका छन् । खड्काले आफ्ना भाइहरूको जीवनभरि सिर्जना गरेको करोडौँको सम्पत्ति ध्वस्त पारिएको बताए ।

उनले आफ्नो पृष्ठभूमिबारे प्रचलित ‘चप्पल लगाएर काठमाडौँ आएका नेता’ भन्ने भाष्यको खण्डन गरे । भने, ‘म सुट लगाएर काठमाडौँ गएको थिएँ । म पाँच कक्षामा पढ्दा मेरा बाबुले मलाई सुट लगाएर पठाउनुहुन्थ्यो । मेरी आमा जिमुवालकी छोरी हुनुहुन्थ्यो र मेरा बाबु मुखिया हुनुहुन्थ्यो ।’

आफ्नो परिवार अब्बल परिवार रहेको र राजनीतिको नाममा आफूले कुनै गलत तरिकाले आर्थिकोपार्जन नगरेको उनको भनाइ थियो ।
उनले आफ्नो पार्टी कार्यालय पनि जलाएर खरानी पारिएकोमा दुःख व्यक्त गरे ।

उनले यो परिस्थितिबाट कुनै पनि पक्षलाई लाभ नहुने बताए । उपसभापति खड्काले समाजमा देखिएको ‘जनआतंक’ लाई थप बढवा दिनु नहुनेमा जोड दिए ।

उनले हालको अवस्थाले लगानीकर्ताहरू आतङ्कित भएको र विभिन्न देशहरूले नेपालका लागि भिसा तथा लगानी रोक्न थालेको भन्दै देशको आर्थिक प्रगतिमा गम्भीर असर परेको बताए।

उनले सबै नेपाली नागरिक र राजनीतिक दलहरूलाई एकताबद्ध भई देशलाई पुनः निर्माणको बाटोमा डोर्‍याउन खड्काले आह्वान गरे । थप भने, ‘यो ध्वंसले नेपाल २० वर्ष पछाडि धकेलिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?