खरिदारले खोले सीडीओ र एसपीको घुसको पोल !
काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काभ्रेका खरिदारले खोले सीडीओ र एसपीलाई पैसा खुवाएको पोल खोलेका छन् । उनले एक व्यक्तिसँग गरेको फोनमा यस्तो पोल खोलेका हुन् ।
काभ्रे जिल्लाको सबैभन्दा महँगो माला भनेर चिनिने फोईको बुद्धचित्त माला सीडीओ र एसपीलाई नमिलाई कसैले पनि टिप्न नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा कार्यरत खरिदारले आर्थिक लेनदेनको पोल खोलेका हुन् ।
रातोपाटीलाई प्राप्त अडियो रेकर्डमा जिल्ला प्रशासन कार्यालयमा कार्यरत खरिदार विश्वराज मैनालीले सत्यमान लामा समूहका भीम तामाङले प्रजिअ र एसपीलाई पहिलो चरणमा १२ लाख बुझाएको बताएका छन् ।
अडियो रेकर्डमा मैनालीले अर्का एक व्यक्तिसँग (नाम गोप्य) कुरा गर्दै भनेका छन्, ‘भीमले सीडीओ सा’ब र एसपीलाई १२ लाख बुझाएको छ । त्यसरी बुझाएको पैसा माला टिप्न नपाए पनि फिर्ता माग्ने हिम्मत कसको हुन्छ ?’
जिल्ला प्रशासन कार्यालयका खरिदारले आफ्नो नाम बेचेर मोलतोल गरेको बारे छानविन गर्ने प्रजिअ कृष्णबहादुर राउतले बताएका छन् ।

रातोपाटीसँग कुरा गर्दै राउतले भने, ‘मैले र एसपी सापले बार्गेनिङ गरेको कुरा गलत हो, त्यसरी हाम्रो नाममा आर्थिक मोलतोल गर्ने खरिदारबारे छानबिन गरेर कारवाही गर्छौं ।’
(खरिदार मैनालीले गरेको अडियो कुराकानी अर्का व्यक्ति (जोसँग कुरा गरिएको थियो) को आग्रहमा गोप्य राखेका छौं– सम्पादक)
यसरी आयो १२ लाखको काण्ड
गुण्डा नाइके दावा लामा समूहका सत्यमान लामाले काभ्रेको रोशी गाउँपालिका–३ फोईमा रहेको किसानको माला जबर्जस्ती कब्जा गरेका छन् ।
स्थानीय ८६ वर्षीया माइली तामाङको स्वामित्वमा रहेको उक्त बुद्धचित्त माला दावा समूहका सत्यमान लामाले किसानसँगको अनुमतिविनै टिपेको स्थानीयहरूले बताएका छन् ।
छिमेकी मुलुक चीनतर्फ महँगो मूल्यमा निर्यात हुने उक्त बुद्धचित्त माला किसानको सहमतिविना टिप्ने कार्यमा काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र प्रहरी उपरीक्षक (एसपी) रविराज खड्काले सहयोग गरेको आरोप लागेको छ ।
अदालतले किसानको सहमती बेगर माला नटिप्न अन्तरिम आदेश दिएको थियो ।
सीडीओ र एसपीसँगको मिलेमतोमा प्रहरी परिचालन गरेर शनिबार सत्यमान लामाको समूह माला टिप्न पुगेको बताइएको छ । तर किशानले हारगुहार गरेपछि गाउँलेहरूले विरोध प्रदर्शन गरेसँगै करिब ७ किलो माला टिपेपछि प्रहरीले उक्त माला टिप्न रोक लगाएको थियो ।
आइतबार दिनभर धुलिखेलमा मालाको बैना गर्ने पक्षहरूबीच छलफल भए पनि मालाधनी माइली तामाङले आफूले तीर्थ लामासँग बैना रकम लिएको र उनैलाई माला दिने बताएकी थिइन् । तर प्रमुख जिल्ला अधिकारी राउतले सत्यमानलाई नै माला दिन दबाब दिएको आरोप छ ।
माला फल्नुअघि नै तिमाल गाउँपालिका–९ का भीम तामाङले माइली तामाङसँग कागज गरेका थिए । भीमले कागज मात्रै गरेको तर पैसा नदिएको भन्दै माइलीले अर्का माला कारोबारी तीर्थ लामाबाट १७ लाख बैना लिएपछि विवाद सुरु भएको थियो ।
तर सत्यमानले भीमसँग भएको कागजको आधारमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई प्रभावमा पारेर माला कब्जा गरेको आरोप छ ।
सत्यमान समूहका भीम तामाङसँग भएको कागजबारे उच्च अदालत पाटनमा मुद्दासमेत चलिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले अदालतमा रहेको मुद्दाको बारेमा बोल्न नमिल्ने उल्लेख गर्दै माला कारोबार गर्नेहरूको बीचमा सहमति भइसकेको दाबी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै प्रजिअ राउतले भने, ‘आइतबारको छलफल पछि माला टिप्ने समूहहरू बीच सहमति भएको छ, गाउँमै छलफल गरेर मिलाउनुस् भनेको छु ।’

सत्यमान लामाको समूहले शनिबार माला टिप्दा जिल्ला प्रहरी प्रमुख रविराज खड्काले प्रजिअकै आग्रहमा सुरक्षा व्यवस्था मिलाइदिएका थिए ।
पछि स्थानीयले अवरोध गरेपछि टिपिसकेको सात किलो माला इलाका प्रहरी कार्यालय मङ्गलटारमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख (एसपी) रविराज खड्काले माला टिप्ने दुई समूहबीच सहमति नभएसम्म माला टिप्न रोक लगाइएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण