शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्वास्थ्य र नीति

ग्रहणपछिको चन्द्रमाजस्तै चम्किलो नेतृत्व चाहिएको छ स्वास्थ्य मन्त्रालयलाई

शुक्रबार, १० असोज २०८२, १३ : ०८
शुक्रबार, १० असोज २०८२

सधैँजस्तो अध्ययन, सरुवा रोग सम्बन्धित अनुसन्धान लेखहरुको गम्भीर समकक्षी समीक्षा, अनि दिनमा बिरामीसँग भएको कुराकानीको विश्लेषण गर्दागर्दै कतिबेला निदाएछु थाहै भएन । त्यो भदौ २२ गतेको रात थियो । तर अचानक मध्यरातमा बिउँझिएछु । 

कोठामा उज्यालो किरण अनि त्यो किरण आकाशमा देखिएको चन्द्रमाको थियो । त्यो बेला चन्द्रमामा लागेको ग्रहण पनि सकिसकेको अवस्था थियो । त्यो बेला म अचानक बिउँझिएकाले तुरुन्तै निद्रालाई निरन्तरता दिइन्छ होला भन्ने लागेको थियो, तर त्यसपछि निद्रा पटक्कै लागेन । बरु किन हो कुन्नि त्यो उज्यालो चन्द्रमालाई भने एकटक धेरैबेर हेरिरहेँ ।

भोलिपल्ट भ्रष्टाचारविद्ध जेनजी पुस्ताले प्रदर्शन गर्ने कार्यक्रम थियो । त्यो प्रदर्शन शान्तिपूर्ण हुने अपेक्षा गरिएको थियो । तर अपेक्षाविपरीत त्यस दिन कम्तीमा १९ जना र त्यसमा पनि अधिकांश कलिला युवाहरुको मृत्यु भयो । अघिल्लो रात देखिएको त्यो ग्रहण अर्को दिन कसैको आमाबुवाका लागि सन्तान शोकको रुपमा परिणत हुँदैछ भन्ने सायदैले सोचेका थिए होलान् ।

यति छोटो समयमा त्यसमा पनि अधिकांश कलिला युवाहरुले मृत्युवरण गर्नुपरेको घटना आधुनिक इतिहासमा सम्भवत: पहिलो वा अति दुर्लभ हुनुपर्छ । केही दिनअघि प्रदर्शनमा सहादत प्राप्त गरेकाहरुको सम्झनामा शोकसभा पनि गरिएको थियो । अब भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्णता पाउँदैछ ।

रोगबारे जानकारीका साथै स्वास्थ्य क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि बढाउन नेतृत्वकर्ता व्यवस्थापनमा पनि कुशल हुन जरुरी हुन्छ । निर्णय कार्यान्वयन गर्न सक्ने क्षमता भएको व्यक्तिको आवश्यकता महत्त्वपूर्ण हुनेछ । 

अरु मन्त्रालय जस्तै स्वास्थ्यमा पनि को कस्तो मन्त्री आउँदैछ भन्ने चासो र जिज्ञासा विशेषगरी स्वास्थ्यकर्मीहरुमाझ देखिन्छ, जुन स्वाभाविक पनि हो । त्यसमा पनि अझ जेनजी पुस्ताको अपेक्षालाई पनि सम्बोधन गर्न सक्छ वा सक्दैन भन्ने महत्त्वपूर्ण देखिन्छ । 

नसर्ने, सर्ने रोग तथा मानसिक स्वास्थ समस्या समाजमा व्याप्त देखिन्छ । पछिल्लो समय जीवनशैलीमा देखिएको परिवर्तन अनि अस्वस्थकर खानपानले नसर्ने रोगबाट पीडितहरुको संख्या बढ्दो छ । 

खासगरी उच्च रक्तचाप (मुटुरोग), मिर्गौला रोग, मधुमेह, थाइराइड र क्यान्सर रोगीहरु बढिरहेका छन् । यस्ता स्वास्थ समस्या बढ्नुको पछाडि परीक्षणको सहज पहुँच वा दायरा बढ्नु एउटा कारण अवश्य हो । 

कारण जे होस्, यस्ता नसर्ने रोगहरु समाजमा बढ्दै जानु आफैँमा चिन्ताजनक स्थिति हो । आधुनिक विज्ञानले यी र यस्ताखाले रोगविरुद्ध औषधिहरुको विकास गरेको भएपनि यसबाट देशलाई बर्सेनि ठुलो आर्थिक भर पर्नेमा भने पक्कै कोही दुई मत नहोला । त्यस्तै सर्ने रोग अर्थात् सरुवा रोगहरु पनि नेपालमा दशकौँदेखि ठुलो जनस्वास्थ्य समस्याको रुपमा छ । 

नेपालमा तुलनात्मक रुपमा अरु सरुवा रोगभन्दा पछि देखिएका डेंगु, चिकुनगुनियाजस्ता भाइरस हाल रैथाने रोगको रुपमा स्थापित भइसकेका छन् । आयातीत सरुवा रोगहरुको जोखिम पनि उत्तिकै देखिन्छ । नेपालबाट विश्वका अरु मुलुकका सहरहरुमा हवाई यातायातको सहज पहुँच र नेपाल भारतबिचको खुला सिमानाले पनि नेपालमा आयातीत सरुवा रोगहरुको उच्च जोखिम छ । कोभिड-१९, एमपक्स, चन्दिपुरा भाइरसजस्ता आयातित संक्रमणलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

मानसिक रोग एक अर्को स्वास्थ समस्या भुसको आगो सरी समाजमा फैलिरहेको तथ्यांकले देखाउँछ । तीव्र प्रतिस्पर्धा, अधिक समय स्क्रिन टाइममा दिनु, एक्लोपन, पारिवारिक समस्या, अत्यधिक कामको भार लगायत कारणले मानसिक समस्याको अदृश्य बाढी नै आएको देखिन्छ । तर यसबारे चर्चा भने बिरलै भएको पाइन्छ । कुनै पनि व्यक्ति स्वस्थ छ भन्नका लागि शारीरिकका साथै मानसिक रुपमा पनि स्वस्थ हुनुपर्छ । 

अब नियुक्त हुनेवाला स्वास्थ्यमन्त्रीले माथि उल्लेखित  समस्याको जानकारी अनि त्यसको समाधानप्रति विशेष ध्यान दिनुपर्छ । यस्ता समस्याको कारण खोज्न र उपाय वा समाधानको लागि छुट्टाछुट्टै विज्ञ टोलीको आवश्यकता देखिन्छ ।

रोगबारे जानकारीका साथै स्वास्थ्य क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि बढाउन नेतृत्वकर्ता व्यवस्थापनमा पनि कुशल हुन जरुरी हुन्छ । निर्णय कार्यान्वयन गर्न सक्ने क्षमता भएको व्यक्तिको आवश्यकता महत्त्वपूर्ण हुनेछ । 

विगतका निर्णय कार्यान्वयनको प्रभावकारिता र फलोअप फितलो हुने गरेका प्रशस्त उदाहरण छन् । जस्तै, डेंगु प्रकोप केही वर्षयता ठुलो जनस्वास्थ्य चुनौतीको रुपमा देखिँदै आइरहेको छ । यसलाई सम्बोधन गर्न स्टेक होल्डरहरुसँग विभिन्न समयमा वार्ता भई निर्णयहरु हुने गरेका थिए । त्यसमा डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने भन्ने निर्णय पहिले धेरैपटक भएका छन् । तर कार्यान्वयन भने भएन । 

नसर्ने रोगहरुको नियन्त्रण गर्नुपर्छ भन्ने नारा पनि वर्षमा एकदिन अर्थात् सम्बन्धित रोगको दिवसका दिनमा मात्र सीमित भएको देखिन्छ । सर्ने, नसर्ने र मानसिक स्वास्थ्यसँग सम्बन्धित रोगहरुसँग लड्ने निर्णय कागजमा मात्र सीमित हुने गरेका छन् । यस्तो समस्या सम्बोधन गर्न ‘एक्सन ओरिएन्टेट’ नेतृत्वको खाँचो पर्छ । 

अर्को भनेको स्वास्थ्य क्षेत्रमा देखिने भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई व्यवहारमा लागु गर्न सक्नु पनि हो । यसका लागि पनि कुशल व्यवस्थापकको अपरिहार्यतालाई नजर अन्दाज गर्न सकिँदैन ।

सम्भवत: अबको केही दिनमा स्वास्थ्य मन्त्रालयले नेतृत्व पाउनेछ । स्वास्थ्यमा जनताको पहुँच अहिले पनि सहज देखिँदैन । काठमाडौँ नजिकैका गाउँमा सिटामोल समेत नभएको र सामान्य उपचारका लागि पनि सबैभन्दा नजिकको स्वास्थ्य केन्द्रसम्म पुग्न दिनभर यात्रा गर्नुपर्ने बाध्यता म आफैँले देखेको छु । काठमाडौँ नजिकैका गाउँहरुको यस्तो अवस्था छ भने दुर्गम गाउँहरुको अवस्था कस्तो होला भनेर सहजै अनुमान गर्न सकिन्छ । त्यसैले यस्ता समस्यालाई पनि यथेष्ट ध्यान दिनसक्ने नेतृत्वको खाँचो मन्त्रालयलाई हुनेछ ।

अन्तमा, हालको अन्तरिम सरकारलाई चुनाव गराउनुपर्ने म्यान्डेट भइकाले त्यसमै केन्द्रित हुनुपर्ने मुख्य अभिभारा छ । त्यसैले माथि उल्लेखित स्वास्थ्य समस्याहरु छोटो समयमा सम्बोधन गर्न नसकिएला । तर यो छोटो समयावधिमा पनि स्वास्थ्य मन्त्रालयलाई सही दिशानिर्देश गर्दै आगामी सरकारका लागि एउटा राम्रो प्रणाली स्थापित गरिदिन सके मात्र पनि त्यसलाई ठुलो उपलब्धिको रुपमा लिनुपर्छ । 

(संक्रामक रोग विशेषज्ञ डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप