शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
केन्द्रीय समिति बैठक

जनार्दन शर्माको प्रस्टीकरणमा प्रश्न : विधान अधिवेशनमा अध्यक्षले के घोषणा गर्नुभएको थियो ?

शुक्रबार, १० असोज २०८२, १७ : ०९
शुक्रबार, १० असोज २०८२

सारांश

  • माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी महाधिवेशनबारे अध्यक्षको प्रस्ताव अस्पष्ट रहेको बताए।
  • शर्माले पार्टी निर्माण र आन्दोलनलाई अगाडि बढाउने उद्देश्यमा आधारित दाबी गरे।
  • उनले संविधान मुर्छित रहेको र एक हिसाबले छैन भन्दा पनि हुनेजस्तो रहेको बताए।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी महाधिवेशनबारे अध्यक्षको प्रस्ताव अस्पष्ट रहेको बताएका छन् । साथै उनले पार्टी पुनर्गठनबारे आफ्नो मत कायमै रहेको जनाएका छन् ।

केन्द्रीय समिति बैठकमा पूरक प्रस्तावको जवाफ दिने क्रममा शुक्रबार नेता शर्माले पार्टी निर्माणका बारेमा आफूले विगतदेखि नै राखेको मत कायमै रहेको र सोही अनुसार अघि बढे मात्र निकास निकाल्न सकिने दोहोर्‍याएका हुन् ।

‘पार्टी निर्माणको बारेमा मैले महाधिवेशन गर्नुपर्छ, गर्नुपर्छ भनेकै छु’, शुक्रबार प्रस्टीकरण दिँदै शर्माले भने– ‘महाधिवेशन गर्ने हो । मैले नेतृत्वबारे राखेको कुरामा पनि मेरो मत कायम छ ।’

शर्माले पार्टी निर्माण र आन्दोलनलाई अगाडि बढाउने उद्देश्यमा आधारित दाबी गरे । उनले यसअघि विधान अधिवेशनका क्रममा अध्यक्ष प्रचण्डले बोलेको कुरा स्मरण गर्दै भने– ‘विधान अधिवेशनमा अध्यक्षले के घोषणा गर्नुभएको थियो ? हामी साक्षी होइन ?’ शर्माले त्यसबेला बोल्न खोज्दा आफूलाई बोल्नै नदिएको शर्माको गुनासो थियो ।

‘त्यसबेला मैले बोल्न पनि पाइनँ, मलाई बोल्न पनि दिइएन मलाई बोल्न दिइयोस् भनेर मैले एजेन्डा राखेको थिएँ’, शर्माले भने– ‘मैले पूरक भनेको थिएँ । मैले भिन्न प्रस्ताव भनेको थिइनँ ।’

विधान अधिवेशनमा शर्माले पदाधिकारीका सबै समितिमा प्रत्यक्ष निर्वाचित हुनुपर्ने मत राख्न खोजेका थिए । त्यसबेला प्रचण्डले टिम बनाएर नेतृत्व हस्तान्तरण गर्ने बताए पनि कार्यान्वयन गरेका थिएनन् ।

शर्माले समाजवादी क्रान्तिप्रतिको आफ्नो प्रतिबद्धतामा कुनै कमी नआएको पनि प्रस्टीकरण दिने क्रममा बताए । शर्माले जेनजी आन्दोलन चर्किँदै गएका बेला गोरखामा रहेका अध्यक्ष प्रचण्डलाई त्यसबारे रिपोर्ट गर्दै देश जलिरहेकाले काठमाडौँ आउन भनेको बताए ।

‘देश जलिसक्यो अध्यक्ष कमरेड, तपाईं गोरखामा होइन काठमाडौँ आएर बैठक राख्नुस्’, शर्माले भने– ‘तर बैठकमा के कुरा भयो भने भोलि सरकार हाम्रो हातमा आउँछ भन्या जस्तो भयो ।’ आफूले त्यसवेला प्रतिवाद गरेको पनि शर्माले स्मरण गरे । ‘संविधान जाँदैछ, देश जल्दै छ । ठुलो समस्या आउँदैछ’, शर्माले जेनजी आन्दोलनपछिको बैठकमा राखेको भनाइ उदृत गर्दै सुनाए ।

‘किनभने हामीले परिस्थितिलाई सही ढङ्गले, अलि गम्भीरतापूर्वक नलिएकै कुरा हो । लिएको भए हामीले धेरै कुरा रक्षा गर्न सक्थ्यौँ’, उनले जेनजी आन्दोलनका क्रममा फोर्स तैनाथ गर्न सकिने समेत बताए । ‘त्यसमा मेरो पनि गल्ती छ । म क्षमा–याचना गर्न चाहन्छु, आत्मालोचना गर्न चाहन्छु मैले त्यो गर्न नसकेकोमा’, शर्माले प्रस्टीकरण दिँदै भने, ‘फेरि पनि त्यो आत्मालोचना गर्दै म के भन्न चाहन्छु भने २३ गते पनि विभिन्न पार्टीकाहरुसँग बसेर संविधान बचाउनुपर्छ भनेर मैले आफ्नो ठाउँबाट गरेको थिएँ ।’

शर्माले अहिलेको अवस्थामा संविधान मुर्छित रहेको र एक हिसाबले छैन भन्दा पनि हुनेजस्तो रहेको बताए । ‘संविधान मुर्छित छ । छैन भने पनि हुन्छ’ शर्माको भनाइ छ ।

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले गरेको संश्लेषण सबैले सुनेको भन्दै शर्माले आफूले महाधिवेशन भनेर प्रश्न गरेबापत के सजाय भोग्नुपर्ने हो भन्दै प्रश्न गरे । ‘मैले त्यो विषय उठाएबापत के भोग्नुपर्‍यो त ?’ उनले भने ।

आफूले यो विषय उठाउँदा आफूलाई अर्को पार्टी खोल्न र तँ गए पनि हुन्छ भनेर अध्यक्षले अपमान गरेको बताए । ‘दसौँ हजार जनताको बिचमा ‘तँ गए पनि हुन्छ’ भन्नुभयो अध्यक्ष कमरेडले’, शर्माको भनाइ छ ।

शर्माले महासचिव देव गुरुङप्रति पनि कटाक्ष गरे । ‘भएको ठुलो पार्टी, बहुमतको पार्टीलाई फुटाउन नेतृत्व गर्ने बेला हाम्रो महासचिव कमरेड कस्तो एजेन्डामा हुनुहुन्थ्यो ? त्यो कुरा आज भन्नुपर्छ यहाँ । कसको एजेन्डा भएर फुटाएको ? किन उत्साहित गरेको साथीहरूलाई फुटाउनमा ? प्रश्न नगर्ने ?’ शर्माको भनाइ थियो ।

समाजवादी क्रान्तितर्फ पार्टीलाई लैजान अहिले पनि आफू पद छोड्न तयार रहेको भन्दै शर्माले आन्दोलनमा वैचारिक–राजनीतिक अभाव रहेको बताए । ‘विचारको समस्यालाई हल गर्ने, अध्ययन–अनुसन्धान गर्ने, त्यो विचारले गाइड गर्ने समग्रमा नेतृत्व गर्ने, तपाईंहरुले भनेजस्तै त्यहीँ रूपमा नेतृत्व गर्ने भनेर भनेको हो’, शर्माको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप