बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

माओवादीसँग एकताका लागि केन्द्रीयस्तरमा वार्ता भएको छैन : प्रकाश ज्वाला

‘प्रचण्डले पार्टीभित्र आफूलाई झन् बढी शक्तिशाली बनाए’
शनिबार, ११ असोज २०८२

बदलिँदो राजनीतिक अवस्थापछि दलहरू कसरी अगाडि बढ्छन् भन्नेबारे प्रश्न उब्जिरहेका छन् । सबैजसो पार्टीमा औपचारिक/अनौपचारिक रूपमा आन्तरिक छलफल चलेको छ ।

यही परिवेशमा नेकपा एकीकृत समाजवादी कसरी अघि बढ्छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । नेतृत्व हस्तान्तरणबारे पार्टीमा छलफल भएको छ कि छैन ? माओवादीसँग गरिने भनिएको एकताबारेको छलफल कहाँ पुग्यो भन्नेजस्ता विषयमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालासँग रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् । प्रस्तुत छ, ज्वालासँग गरिएको कुरकानीको सम्पादित अंश–

जेनजी आन्दोलनलाई नेकपा एकीकृत समाजवादीले कसरी लिएको छ ?

जेनजी आन्दोलनप्रति पहिलो दृष्टिकोण हाम्रो पार्टीले सार्वजनिक गरेको हो । समग्रमा पुराना पार्टी, पुराना नेता, पुरानो परिस्थितिप्रति एक खालको असन्तुष्टि त छँदैथियो । पछिल्लो समयमा एमाले–कांग्रेसको सरकारले गरेका गलत क्रियाकलाप, गलत कानुन निर्माणका गतिविधि पनि थियो । तत्कालीन प्रधानमन्त्रीको दम्भ, अहंकार, घमण्ड र ज्यादती जे देखियो, सामाजिक सञ्जाल बन्द गर्ने जुन काम भयो, त्यसले युवाहरूमा आक्रोश बढायो । त्यो आन्दोलनको तात्कालिक कारण बन्यो । सामाजिक सञ्जाल बन्दले करेन्टजस्तो झट्का दियो र उनीहरूको असन्तुष्टि आक्रोशमा बदलियो । उनीहरू सडकमा निस्किए ।

एउटा व्यापारिक संस्था अथवा व्यक्तिले नेपालको कानुन मान्दिनँ भन्ने, दर्ता गरेर सञ्चालन गर, कर तिर भन्दा नटेर्ने, उल्टै राज्यलाई ‘तिमीहरू भ्रष्ट छौ भनेर धम्की दिँदा राज्यले सहेर बस्न मिल्छ त ?

कमाइ खाने भाँडोको रूपमा प्रयोग गरिरहेका छन् भन्नेजस्तो जिस्क्याउन मिल्छ त ? उट्पट्याङ कुरा गर्ने ? जसले त्यहीँबाट रोजगारी प्राप्त गरिरहेको छ, उनीहरूलाई व्यङ्ग्य गर्ने ? आक्रोशित बनाउने ? बन्द गरिसकेपछि पनि उनीहरूलाई बोलाउने, छलफल गर्ने, समाधान निकाल्ने प्रयास गर्नुपर्दैन ? सरकारले विभिन्न ढंगले उपाय निकाल्न सक्थ्यो ।

यसको मतलब जेनजी आन्दोलनप्रति तपाईंहरूको समर्थन हो ?

एकदम समर्थन । पहिलो दिनमै हामीले समर्थन गर्‍यौँ । भ्रष्टाचारका विरुद्धमा, कुशासनका विरुद्धमा भएको आन्दोलनमा हाम्रो समर्थन नहुने कुरै भएन नि ।  

जेनजीको आन्दोलनमा समर्थन हो भने सिंहदरबार जलाउनु, पार्टी कार्यालय जलाउनु, नेताहरूलाई आक्रमण गर्नु पनि ठिक हो भन्नुपर्‍यो नि, त्यही हो त कुरो ?

त्यसलाई अलिकति क्याटेगोराइज गर्नुपर्छ । जेनजीहरू तोडफोडका निम्ति, विध्वंशका निम्ति सडकमा आएका थिएनन् । उनीहरूले गाउँ–गाउँबाट उठ, बस्तीबस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ भन्ने गीत गाउँदै हिँडेका थिए । प्रहरीलाई फूल दिने भनेर आन्दोलनमा अगाडि बढेका थिए । तर घुसपैठियाहरूले उत्तेजित, आक्रोशित बनाउँदै लगे ।

अर्कोतिर सरकारले प्रदर्शनको म्यानेज गर्नुपर्छ नि । त्यसलाई कसरी व्यवस्थापन गर्ने ? त्यो कहाँसम्म जान दिने ? उनीहरूलाई आक्रोशित नहुने गरी त्यसको सेफ ल्यान्डिङ कसरी गर्ने भन्ने बुद्धि सरकारको दिमागमा आउनुपर्थ्यो, त्यो भएन ।

एकैचोटी गोली हानेर १९ जना मान्छेलाई एकै थलोमा हत्या गर्ने अवस्था सिर्जना गर्ने ! सरकारको निकम्मा, अकर्मण्यता, असक्षमता, निरंकुश दमनकारी शैली देखियो ।

आन्दोलनको समर्थन गर्ने अनि राम्रो कुराको मात्रै जस लिने भन्न मिल्छ ?

२४ गते आन्दोलनमा सहभागी भएका जेनजी नवयुवा हैनन् । विद्यार्थीहरू तोडफोडमा त छैनन् नि । छिप्पिएका व्यक्तिहरू छन् । लफङ्गाहरू छन् । अनि सामाजिक रूपमा एक किसिमले बहिष्कृत व्यक्तिहरू छन् । पछि त जेल तोड्नेसम्म काम भयो । जेलबाट आएका अपराधीहरू छन् । सर्वोच्च अदालतमा, जिल्ला अदालतमा या विशेष अदालतमा कसले आगो लगायो भन्दा जेलबाट भागेर आएकाहरूले लगाए । कसैलाई पार्टी कार्यालयमा आगो लगाएर रिस साँध्नुपर्ने थियो । कसैले व्यक्तिका घरहरूमा आगो लगाउनु थियो । कसैलाई लुट्नु थियो । त्यो जेनजीले गरेको हो र ? सिंहदरबार लगायतका राष्ट्रिय सम्पदाहरू नष्ट गर्ने, पार्टी कार्यालयहरू ध्वस्त बनाउने, व्यवसायमा क्षति पुर्‍याउने काम भएको छ । अर्थात् विध्वंश मच्चाउने काम गलत थियो । योप्रति हाम्रो समर्थन छैन ।

यो कसले गर्‍यो भन्नेमा तपाईंहरूको विश्लेषण के हो ?

कतिपयले सिंहदरबार नेपालीको हातबाट जल्न सक्दैन भनिरहेका छन् । एउटा नेपाली मन भएकाले जलाउन सक्दैन । आगो लगाउने कतिपय मान्छे प्रोफेसनल पनि छन् । म्याप हेर्दै आगो लगाइएको छ । यस हिसाबले हेर्दा एकदम योजनाबद्ध, प्रि–प्लानचाहिँ छ । डिजाइनमै छ । अब यो काम नेपालीले गरे कि बाहिरकाले गरे भन्ने छानबिनबाट थाहा होला ।

जेनजीले पुराना पुस्ताका नेता मान्दैनौँ, उनीहरूले पद छोड्नुपर्छ भन्ने माग गरेका छन् । यसबारेमा तपाईंको पार्टीले केही सोचेको छ ?

सबै आक्रोश मूलतः सत्ता, सरकार र सरकार बनाउने पार्टीहरूमा केन्द्रित थियो । सत्ता सञ्चालनका ठेकदारजस्ता प्रशासकहरूमा थियो । यो त दुनियाँले देखेको थियो नि । जनताको असन्तुष्टि, सरकार बाहिर रहेका पार्टीहरू र त्यसको नेतृत्वसँग पनि थियो । तर पनि आक्रोशको लेबल फरक थियो ।

हाम्रो पार्टीप्रति आक्रोश थिएन । आन्दोलनको समर्थन गरेका थियौँ भन्नुहुन्छ तर तपाईंको पार्टी कार्यालय पनि आन्दोलनकारीको निशानामा किन पर्‍यो होला त ?

यो योजनाबद्ध पनि हुन सक्छ । आक्रोशमा पनि हुन सक्छ । तर पनि आक्रोशको केन्द्रविन्दु हाम्रो पार्टी थिएन र होइन । तर पनि मान्छेले सबै पार्टी उस्तै हुन्, सबै नेता उस्तै हुन् भन्ने ठाने । एउटै डालोमा हाल्ने स्थिति पनि भयो ।

भनेपछि नेतृत्वको पुस्तान्तरण गर्नुपर्छ भन्नेचाहिँ अझै लागेको छैन ?

मानौँ नेतृत्व पुस्तान्तरण हुनुपर्छ, हस्तान्तरण हुनुपर्छ, नयाँमा जानुपर्छ भन्ने आन्दोलनको माग रहेछ रे ! एक छिनलाई मानौँ । अनि युवाका घरहरू पनि जलाइएका छन् । उनीहरूलाई पनि लखेटिएको छ ।

यसको मतलब तपाईंको पार्टीमा सब ठिकठाक छ भन्ने नै तपाईंको भनाइ हो ?

ठिक छ समीक्षा गरौँ । समग्र समीक्षा गरौँ । आत्मसमीक्षा गरौँ । सबै पार्टीले गरौँ । सबै पक्षले गरौँ । गम्भीर रूपमा आत्मसमीक्षा गरौँ भनेर त हाम्रो पार्टीले विशेष प्रस्ताव नै पारित गरेको छ । जो जसका जति कमजोरी भएका छन्, गम्भीर खालको आत्मालोचना पनि गरौँ र माफी पनि मागौँ । 

कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस तीव्र छ । शेरबहादुर देउवाजी हट्ने लगभग निश्चित नै देखिन्छ । माओवादीले त केन्द्रीय समिति नै विघटन गरिसक्यो र विशेष महाधिवेशनमा गइसक्यो । डा. बाबुराम भट्टराईले पद छोडिसक्नुभयो । तर तपाईंको पार्टीलाई चाहिँ यसले छोएको रहेनछ भन्दा आश्चर्य लाग्यो । खास के हो ?

बाबुरामजीले राजीनामा दिएर केही सन्देश गयो ? केही पनि गएन । बाबुरामजीले छाडेर के अर्थ छ र ? आफ्नै पार्टी थियो, छोडिदिनुभयो । अब प्रचण्डजीले छोड्नुभयो कि झन् एकलौटी गर्नुभयो ? त्यो पनि विश्लेषण गरौँ । आफू अध्यक्ष भइरहने, अरु जम्मै पदाधिकारीको पद विघटन गरिदिने । भनेपछि त झन् जम्मै उहाँमा केन्द्रित भयो । शेरबहादुरजी अहिले पनि अशक्त हुनुहुन्छ । त्यस्तो अवस्थामा पनि त्यहाँ दुई लाइन सुरु भइसक्यो । एकथरीले छोड्नुपर्छ, अर्कोथरीले अहिलेको अवस्थामा छोड्नुहुन्न भनिरहेका छन् ।

अब केपी ओलीको कुरा गरौँ । सबैभन्दा पहिले छोड्नुपर्ने त केपी ओलीले हो नि । सबैभन्दा बढी अहिले केपी ओलीमाथि मानिस लक्षित छन् नि ! केपी ओलीले मात्रै छोड्दाखेरि साँच्चिकै सन्देश जान्थ्यो ।

अरु पार्टीको कुरा म उनीहरूलाई नै सोध्छु । मैले तपाईंको पार्टीको कुरा सोधेको नि !

अहिले त एउटाको समस्यामात्रै होइन नि ! केपी ओलीले मात्रै छोड्दाखेरि र प्रचण्डले म बाहिरिन्छु भन्दाखेरि वामपन्थीहरू बिचको एकताको द्वार खुल्थ्यो ।

फेरि उही कुरा गर्नुभयो । अरु सबै नेताको नाम लिनुभयो । माधव नेपालको पनि नाम लिनु किन डराउनुहुन्छ ?

हाम्रो पार्टीको अध्यक्षबाट त्यति ठुलो समस्या छ जस्तो मलाई लाग्दैन । सबै पार्टीमा भन्नुको अर्थ हाम्रो पार्टी पनि हो । कोही मान्छेले राजीनामा दिएरमात्रै सबै एकदम राम्रो र दुरुस्त भइहाल्छ भन्ने त होइन । अब त्यो पनि एउटा एजेन्डा होला । सुरुवात हुन्छ नि त ।

तपाईंको पार्टी अध्यक्षले मलाई यो पदमा बस्न मन लागेको छैन, छोड्न मन छ भन्नुभएको छ तपाईंहरूसँग ?

त्यो त उहाँलाई नै सोध्न पर्‍यो नि ।

बैठकहरूमा सोध्नुहुन्न ?

हामीले हरेक पार्टीमा, हरेक क्षेत्रमा रिस्ट्रक्चरिङको जरुरी छ भनेका छौँ । पार्टीको संगठनात्मक संरचनाको सन्दर्भमा नयाँ ढंगले सोचेर जानुपर्छ । युनिटीका सन्दर्भमा पनि अब अलि फराकिलो, व्यापक भएर जानुपर्छ । लोकतन्त्र र संविधान रक्षाको निम्ति पनि अझ बृहत् रूपमा चाहिँ लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू, संविधान पक्षधर शक्तिहरूको बिचमा सहकार्य गरेर जानुपर्छ । हामी त हाम्रा दृष्टिकोणमा त प्रस्ट छौँ नि ।

तपाईंले युनिटीलाई बृहत् बनाउनुपर्छ भनिरहँदा तपाईंको आफ्नै पार्टीभित्रको युनिटी हेर्ने हो भने अध्यक्ष कुनै पार्टीसँग मिल्ने, सम्मानित नेता त्योसँग मिल्दै नमिल्ने । यस्तो अवस्थामा युनिटी त होइन, पार्टी नै जोगाउन गाह्रो होलाजस्तो छ, होइन र ?

सम्मानित नेताको भनाइ एकता गर्दा सिद्धान्तनिष्ठ, नीतिनिष्ठ, विचारमा आधारित टिकाउ हुनुपर्छ भन्ने हो । अध्यक्षको भनाइ पनि त्यही हो । अध्यक्षले चाहिँ माओवादीसँग अहिले नै मिलिहालौँ भन्नुभएको त छैन । त्यो त माओवादीले एक ढंगले हात अगाडि बढायो, प्रस्ताव ल्यायो । एकताको निम्ति तयार भयो । माओवादीको तर्फबाट एकताको निम्ति जुन लचकता देखाइएको छ, त्यसो हो भने एकताका लागि बाटो खुल्यो । छलफल गर्ने बाटो त खुल्यो नि ।

तपाईंको पार्टीको आन्तरिक जीवनको कुरा गर्ने हो भने युवा संघ, विद्यार्थी संगठनको हालत हेर्नुस् । तपाईंहरूले महाधिवेशन सकेको उहिल्यै हो, त्यसको दस्तावेज सार्वजनिक गरिदिनुस् न भनेर सम्मानित नेताले हारगुहार गर्नुपरेको छ । अरु धेरै ठुला कुरा यो पार्टीले किन गर्नु भन्छन् नि मान्छेहरू ?

एउटा दस्तावेज प्रकाशन हुन न बाँकी छ । प्रकाशनको निम्ति प्रेसमा गइसक्या छ ।

डेढ वर्ष हुन लाग्यो, प्रेस बिग्रिएछ कि के हो त ?

त्यो अलि ढिलो भयो । समाजवादी क्रान्तिको कार्यक्रम प्रकाशन गरिसकेर टिकाटिप्पणी हुनुभन्दा त्यसलाई परिपक्व बनाएर ल्याउँभन्दा समय लागेको हो । यसमा हाम्रो कमजोरी भयो, त्यो महसुस गर्छौं ।

माओवादीसँग एकता कहिले हुँदैछ ?

दुई पार्टीका बिचमा केही समस्या छन् भने सहजीकरण गरौँ । सम्बन्ध नराम्रो छ भने त्यसलाई सहज बनाउँ । सहकार्य गर्दै जाउँ भन्ने प्रदेश–प्रदेशका समस्याहरूका बारेमा प्रदेशस्तरीय बसाइमा छलफल हो । एकताका लागि केन्द्रीय लेभलमा वार्ता भएको छैन ।

एकताका लागि माधव नेपाल र माओवादीका अध्यक्षबिच छलफल नै भएको छैन त ?

छैन । समाजवादी मोर्चामै छौँ । एउटै मोर्चामा भएपछि त भेटघाटै नहुने, छलफल नहुने, कुराकानी नहुने भन्ने त भएन नि ।

वर्तमान सरकारले फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेको छ । निर्वाचनमा सहभागी हुनुहुन्छ ?

अब प्रतिनिधि सभा पुनर्स्थापना या अरु कुरातिर नलाग्ने । पछाडि फर्किएर नजाउँ भन्ने हो । चुनावमै जाउँ ।

यो सरकार संवैधानिक हो कि होइन ?

संविधान नै एक किसिमले अहिले कोमामा जस्तो छ । संविधान एक ढंगले नजरबन्दमा जस्तो छ । ठ्याक्कै संविधानको धारा टेकेर यो सरकार बनेको होइन । यद्यपि जुन आन्दोलन उठ्यो, जुन विद्रोह भयो, विद्रोहको रापतापमा विद्रोहीलाई समेत सम्बोधन गर्ने गरी संविधानलाई समेत छुने गरी सरकार गठन गरियो र राष्ट्रपतिबाट नियुक्ति भयो । संविधानको शब्द अनुसार होइन, संविधानको भावना अनुसार यो सरकार बनेको मान्नुपर्छ ।

पछिल्लो समय राष्ट्रपतिको भूमिकाका बारेमा तपाईंको भनाई के छ ?

ठिकै छ । अहिलेको नयाँ परिस्थितिमा सन्तोषजनक छ उहाँको भूमिका ।

भदौ २४ गते प्रधानमन्त्री केपी ओलीले राजीनामा दिइसकेपछि देशमा जे भयो, विध्वंश मच्चाइयो, त्यो बेलामा सुरक्षा निकायको भूमिकाचाहिँ कस्तो रह्यो ?

त्यसको पनि मुख्य कारकचाहिँ केपी ओली नै हुन् । केपी ओलीको पार्टी नै हो ।

मेरो प्रश्नको प्रस्ट जबाफ आएन ।

कमसे कम आफ्नै आँखा अगाडि सार्वजनिक सम्पत्ति जलिरहँदा पनि सेना चालचुल गर्दैन । सिंहदरबार दनदनी जलिसक्यो । सर्वोच्च अदालत जलिसक्यो । आफ्नै परमाधिपतिको भवन जल्दा पनि टुलुटुलु हेर्ने भनेको सेनाको राम्रो भूमिका होइन । सेनाले त्यो दिनचाहिँ राम्रो भूमिका खेलेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया