१६ सूचीकृत कम्पनीको लाभांश घोषणा, ६ वटाले सम्पन्न गरे साधारणसभा
सारांश
- दोस्रो बजारमा सूचीकृत १६ कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेका छन्।
- माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र सानिमा बैंक लगायतका वाणिज्य बैंकहरूले लाभांश घोषणा गरेका छन्।
- कम्पनी ऐन २०६३ अनुसार ६ महिनाभित्र साधारणसभा गर्नुपर्ने र आर्थिक ऐन अनुसार ३ महिनाभित्र लेखापरीक्षण प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था छ।
काठमाडौं । दोस्रो बजारमा सूचीकृत १६ कम्पनीले लाभांश घोषणा गरेका छन् । दसैँ बिदा सुरु हुनुअघि आइतबारसम्म यी कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेका हुन् ।
यसरी लाभांश घोषणा गर्ने कम्पनीहरूमा चारवटा वाणिज्य बैंक छन् । त्यस्तै, दुईवटा विकास बैंक, एउटा फाइनान्स कम्पनी, चारवटा हाइड्रोपावर कम्पनी छन् भने अरू विभिन्न समूहका कम्पनीहरू छन् ।
वाणिज्य बैंकमध्ये माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र सानिमा बैंकले लाभांशको निर्णय गरेका छन् । त्यसमध्ये माछापुच्छ्रेले ४ प्रतिशत बोनस सेयरसहित ८ प्रतिशत दिएको छ ।
त्यस्तै, एभरेष्ट बैंकले ६ प्रतिशत बोनस सेयरसहित २० प्रतिशत, सानिमा बैंकले ७.३६८५ प्रतिशत नगद लाभांश, सिटिजन्स बैंकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि लाग्ने नगद लाभांश दिने घोषणा गरेको छ ।
विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंक १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । कामना सेवा विकास बैंकले भने १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
फाइनान्स कम्पनीतर्फ एकमात्र लाभांश घोषणा गरेको मञ्जुश्री फाइनान्सले १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
त्यस्तै, हाइड्रोपावरतर्फ लाभांश घोषणा गर्ने कम्पनीहरूमा अरुण भ्याली, युनिभर्सल पावर, मिड सोलु र सिक्लेस हाइड्रोपावर प्रमुख रहेका छन् । हाइड्रोपावरतर्फ अरुण भ्याली हाइड्रोपावरले ८ प्रतिशत बोनस सेयर र यसमा लाग्ने करबापत नगद लाभांशको प्रस्ताव गरेको छ । युनिभर्सल पावरले ९ प्रतिशत, मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस र सिक्लेस हाइड्रोपावरले १५ प्रतिशत बोनस र नगद लाभांश वितरण निर्णय गरेको छ ।
त्यसबाहेक नेपाल इन्फास्ट्रक्चर बैंकले ६.३१५८ प्रतिशत नगद, हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस सेयर र करबापतको नगद लाभांश, युनिलिभर नेपालले १८.४२ प्रतिशत नगद लाभांश, नेपाल ल्युब आयलले २० प्रतिशत बोनस सेयरसहित यसमा लाग्ने नगद लाभांश तथा गुराँस लघुवित्त वित्तीय संस्थाले १४।२५ प्रतिशत बोनस सेयरसहित कुल १५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ ।

६ कम्पनीको साधारणसभा सकियो
लाभांश घोषणा गरेका तथा नगरेका समेत गरी यो अवधिमा ६ वटा कम्पनीले यो अवधिमा साधारणसभा समेत गरिसकेका छन् । थप १० कम्पनीले साधारणसभा आह्वान गरे पनि सम्पन्न भइसकेको छैन ।
यसरी साधारणसभा सम्पन्न गर्ने कम्पनीहरूमा माछापुच्छ्रे बैंक, पियोर इनर्जी, हाथवे इन्भेष्टमेन्ट, अरुण काबेली पावर, विकास हाइड्रोपावर र मोलुङ हाइड्रोपावर कम्पनी रहेका छन् ।
त्यस्तै, भगवती हाइड्रोपावर, एभरेष्ट बैंक, ग्रीनलाइफ हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, कामना सेवा विकास बैंक, मञ्जुश्री फाइनान्स, मुक्तिनाथ विकास बैंक, नेपाल ल्युब आयल, ओरिएन्टल होटल लिमिटेड र युनिभर्सल पावर कम्पनीले हालसम्म साधारणसभा आह्वान गरिसकेको सम्बन्धित कम्पनीहरूले जनाएका छन् ।
साधारणसभा गरेका वा आह्वान भएकामध्ये सबै सूचीकृत कम्पनीको संस्थाको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने तथा नयाँ आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छन् । यसका अअतिरिक्त अधिकांश कम्पनीले लाभांश प्रस्ताव गरि साधारणसभाबाट पारित गर्ने एजेन्डा लिएका छन् भने केही संस्थाको सञ्चालकको निर्वाचन तथा हकप्रद सेयर वितरणको प्रस्ताव समेत गरेको देखिन्छ ।
कम्पनी ऐन २०६३ को व्यवस्था अनुसार सबै कम्पनीहरूले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, आर्थिक ऐनको प्रावधान अनुसार संगठित संस्थाले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र लेखापरीक्षण प्रतिवेदन तयार गरिसक्नुपर्ने व्यवस्था छ । त्योभन्दा बढी समयको लागि सम्बन्धित कर कार्यालयबाट म्याद थपको अनुमति लिनुपर्छ ।
यो वर्षको दसैँ अघिल्लो वर्षभन्दा केही अगाडि भएका कारण लाभांश घोषणा तथा साधारणसभाको सम्पन्न गर्ने संख्या केही कम भएको छ । अघिल्लो वर्ष असोजको अन्तिम साता मात्रै दसैँ बिदा परेका कारण यो अवधिमा साढे दर्जन कम्पनीले लाभांश घोषणा गरिसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण